एजेन्सी । हमासले गाजाबाट इजरायली बन्धकहरूको रिहाइ रोक्ने घोषणा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा चेतावनी दिएका छन् । ट्रम्पले हमासले शनिबार दिउँसो १२ बजेसम्ममा सबै बन्धकहरूलाई रिहा गर्नुपर्ने बताएका हुन् ।
ट्रम्पले गाजा युद्धविराम सम्झौताको भविष्यको लागि आफ्नो तर्फबाट हमासलाई समयसीमा दिएका छन् । ‘जहाँसम्म मेरो कुरा छ, यदि शनिबार दिउँसो १२ बजेसम्ममा सबै बन्धकहरूलाई रिहा गरिएन भने, म भन्छु, यसलाई (सम्झौता) रद्द गर्नुहोस्,’ उनले ओभल अफिसमा भने, ‘अब सबै बाटोहरू बन्द गरिनुपर्छ, र विनाश सिर्जना गरिनुपर्छ । मलाई लाग्छ यो पर्याप्त समय हो ।’
ट्रम्पले शनिबार दिउँसो १२ बजेको बारेमा कुरा गरिरहेका थिए कि मध्यरात १२ बजेको बारेमा भन्ने चाहिँ अझै स्पष्ट छैन । यो समयसीमा दिँदा उनले कुन समय क्षेत्रलाई ध्यानमा राखेका थिए भन्ने पनि स्पष्ट छैन ।
ट्रम्पले सबै बन्धकहरूलाई एकैचोटि रिहा गरिने आशा व्यक्त गरेका छन् । यदि यस्तो भएन भने भन्ने उनको भनाइको अर्थ के हो भनेर बीबीसीले राष्ट्रपति ट्रम्पलाई सोध्दा उनले जवाफ दिए, ‘तपाईंले थाहा पाउनुहुनेछ, र तिनीहरूले पनि थाहा पाउनेछन् । हमासले मेरो भनाईको मतलब के हो भनेर बुझ्नेछ ।’ उनले ‘यो मेरो समयसीमा हो’ भनेर स्पष्ट पार्दै आफ्नो निर्णयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई उल्लेख गरेनन् ।
यसअघि इजरायलले युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै हमासले बन्धक रिहा नगर्ने बताएको थियो । हमासले बन्धकको रिहाइ बन्द गर्ने भनेपछि युद्धविराम सम्झौता कार्यान्वयनमा समस्या आएको खबरमा उल्लेख छ ।
प्रतिक्रिया