ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कांग्रेसले २६ र एमालेले ३१ वर्षदेखि जित्न नसकेको कैलाली– १, नेकपाको सम्भावना कति ?

सोमबार १९, माघ २०८२ ०४:३१

धनगढी । प्रतिनिधिसभाका लागि २०७९ सालमा भएको निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ एक्लैको मत अरु सबै उम्मेदवारले प्राप्त गरेको मत जोड्दा लगभग बराबर हुन्थ्यो । उनले ३० हजार ४०४ मत पाएकी थिइन् । अरु सबै उम्मेदवारले पाएको मत जोड्दा ३० हजार ४७४ हुन्छ । उनका निकटतम प्रतिद्वन्दी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका रामजनम चौधरी थिए । उनले १८ हजार ८१ मत पाएका थिए ।

यस्तै नेकपा एमालेका उम्मेदवार तपेन्द्रबहादुर रावलले ५ हजार ९१०, राप्रपाका लोकेन्द्र कुँवरले ३ हजार ६४८, रास्वपाका टंक ढुंगानाले १ हजार ८६९ मत पाएका थिए । अन्य उम्मेदवारहरुले ५०० मत पनि कटाउन सकेका थिएनन् ।

समानुपातिक मततर्फ नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधिसभामा २७ हजार ४०६ र प्रदेशसभामा २७ हजार २०० थियो । काँग्रेसको प्रतिनिधिसभामा ११ हजार ३९५ र प्रदेशसभामा ११ हजार ४९९, माओवादीको प्रतिनिधिसभामा ७ हजार ९९२ र प्रदेश सभामा ७ हजार २४८, एमालेको प्रतिनिधिसभामा ५ हजार २१५ र प्रदेश सभामा ५ हजार ७०६, राप्रपाको प्रतिनिधि सभामा ४ हजार १०३ र प्रदेश सभामा ४ हजार ४३० र रास्वपाको २ हजार ५१७ मत रहेको थियो ।

त्यस्तै एकीकृत समाजवादीको प्रतिनिधिसभामा ७३३ र प्रदेशसभामा १ हजार ४३४ र जनता समाजवादीको प्रतिनिधिसभामा ७४५ र प्रदेश सभामा १ हजार ३३ मत थियो । नागरिक उन्मुक्ति पार्टीले प्राप्त गरेको प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक मत लगभग बराबर छ । तर, उम्मेदवार श्रेष्ठले प्राप्त गरेको मत समानुपातिक मतभन्दा ३ हजारले बढी छ । उनले अन्य पार्टीका मत समेत आफ्नो पक्षमा तान्न सफल भएको देखिन्छ । सो पार्टीकी अध्यक्ष समेत रहेकी श्रेष्ठ लोकप्रिय मतका साथ विजयी भएकी थिइन ।

उनी पुष्पकमल दाहाल नेतृत्वको सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री समेत बनिन् । प्रजातन्त्र पुर्नस्थापना पश्चात कैलालीको क्षेत्र नम्बर १ बाट क्याबिनेट मन्त्री बन्ने उनी एक मात्र जनप्रतिनिधि हुन । पञ्चायतकालमा खड्गबहादुर सिँह क्याबिनेट मन्त्री बनेका थिए । यस क्षेत्रबाट राज्यमन्त्री भने तीन जना बनेका थिए । काँग्रेसबाट सुशीला स्वाँर, जनकराज चौधरी र चन्द्रसिँह भट्टराई राज्यमन्त्री भइसकेका छन् ।

२०७९ मा लोकप्रिय मतका साथ विजयी भएकी श्रेष्ठले २०८२ मा भने दल विलय गरिन् । उनले नेपाली कम्युनिस्ट पार्टीमा दल विलय गरेकी हुन । पार्टीका संरक्षक अर्थात श्रीमान् रेशमलाल चौधरीसँगको मनमुटावपछि उनले दल विलय गरेकी हुन् ।


चौधरीले भने नागरिक उन्मुक्ति पार्टी नेपाल नामक दल दर्ता गरेका छन् । उनले फागुन २१ गते हुने आम निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका थिए । तर, निर्वाचन आयोगले चौधरीको उम्मेदवारी खारेज गरिदिएको छ ।

उनले आफ्नो उम्मेदवारी खारेज भएपछि स्वतन्त्र उम्मेदवारी दिएका फागुराम थारुलाई सहयोग गर्ने चर्चा छ । उनले थारुलाई आफ्नो उम्मेदवारी खारेज भए विकल्पका रुपमा अघि सारेको बताइन्छ ।

यतिबेला श्रीमान चौधरी र श्रीमती श्रेष्ठ आमनेसामने उभिएका छन् । श्रेष्ठले टीकापुर नगरपालिकाको मेयरबाट राजीनामा दिएका रामलाल डगौरा थारुलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएकी छन् । थारु नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवार छन् ।

तत्कालिन नागरिक उन्मुक्ति पार्टीबाट थप दुईजना समेत प्रतिनिधिसभाको उम्मेदवार छन् । उज्यालो नेपाल पार्टीबाट जानकी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदिपकुमार चौधरी र रास्वपाबाट कोमल ज्ञवाली उम्मेदवार हुन् ।

नागरिक उन्मुक्ति पार्टी थारु समुदायका मुद्दा बोकेर स्थापना भएको हो । २०७२ सालमा भएको टीकापुर घटनामा दोषी देखिएका रेशमलाल चौधरीको रिहाइको माग पनि पार्टीको एक मुद्दा थियो । यही मुद्दालाई अघि सारेर रञ्जिता श्रेष्ठ चुनावी मैदानमा होमिएकी थिइन् । उनले चुनाव मात्रै जितिनन् श्रीमान रेशमलाल चौधरीलाई रिहा गराउन सफल भइन् । चौधरी राष्ट्रपतिबाट आम माफी पाएर रिहा भएका छन् ।

कैलालीको पूर्वी क्षेत्र थारु बाहुल्य क्षेत्र हो । यहाँ झण्डै आधा थारु मतदाता छन् । विगतका केही चुनावमा थारु समुदायको अधिकांश मत एकलौटी गएको देखिन्छ । २०७९ को आम चुनावमा कैलालीको क्षेत्र नम्बर १ मात्रै नभई नागरिक उन्मुक्ति पार्टीले क्षेत्र नम्बर २ र ३ मा समेत जितेको थियो । त्यति मात्रै होइन सो पार्टीले स्थानीय तहको निर्वाचनमा टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका र जोशीपुर गाउँपालिकामा समेत जितेको छ ।

आगामी फागुन २१ गते हुने आम चुनावमा थारु समुदायका मतदाता मात्रै होइन उम्मेदवार समेत धेरै छन् । जम्मा १८ जनामध्ये थारु समुदायका मात्रै सात जना उम्मेदवार छन् । ठूलो दल नेपाली काँग्रेसले पूर्वराज्यमन्त्री जनकराज चौधरीलाई अघि सारेको छ । उनी २०७० को निर्वाचनबाट संविधानसभा सदस्य भएका थिए । उनी फोरम लोकतान्त्रिकबाट विजयी भएका थिए ।

थारु उम्मेदवारको संख्या धेरै भएपछि मत विभाजन हुने आँकलन गरिएको छ । थारु समुदायको मत विभाजन भए नेकपा एमालेले आफ्नो उम्मेदवार जित्ने आश बोकेको छ । एमालेले द्वारिका न्यौपानेलाई अघि सारेको छ । उनी २०७९ मा प्रदेश सभाको उम्मेदवार हुँदै पराजित भएका थिए ।

एमालेले काँग्रेसको पहाडीया मत आफ्नो पक्षमा आउने बताइरहेको छ । पहाडीया मतमा काँग्रेसको राम्रो पकड छ । काँग्रेस उम्मेदवार जनकराज चौधरी पहाडीया मतलाई विभाजन हुन नदिने रणनीतिमा छन् । उनले काँग्रेस समर्थक पहाडीया मतले साथ दिए सहजै चुनाव जित्ने अपेक्षा राखेका छन् ।

टीकापुर नगरपालिकाको मेयरबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका रामलाल डगौरा थारु पनि आफू जित्नेमा ढुक्क छन् । उनी पूर्वमाओवादी समेत हुन् । यतिबेला माओवादी नेपाली कम्युनिस्ट पार्टी बनेको छ । थारु सोही पार्टीबाट चुनावी मैदानमा छन् ।

थारुले साविकका नागरिक उन्मुक्ति, माओवादी र एकीकृत समाजवादीको मत एकत्रित भए आफ्नो जित्ने आधार देखेका छन् । नागरिक उन्मुक्तिका संरक्षक र अध्यक्षबीचको विवादले मतदातामा समेत विभाजन हुने धेरैको दावी छ । उम्मेदवारहरु थारु मतलाई आफ्नो पक्षमा पार्न प्रयास गरिरहेका छन् ।
उज्यालो पार्टीबाट उम्मेदवार रहेका जानकी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदिप चौधरीले थारु समुदायको राम्रो मत आफ्नो पक्षमा पार्न सक्ने अनुमानमा छन् । उनी काँग्रेसको राजनीति गरेका व्यक्ति हुन । उनलाई जानकी गाउँपालिकाका वर्तमान अध्यक्ष गणेश चौधरीको समेत साथ रहेको बताईन्छ ।
आफ्नो उम्मेदवारी खारेज पश्चात आक्रोशित बनेका रेशमलाल चौधरी पनि चुप लागेर बस्ने अवस्था देखिन्न । उनी आफूले समर्थन गरेको उम्मेदवारलाई जिताउन सक्दो प्रयास गर्नेछन । यो क्षेत्र उनका लागि प्रतिष्ठाको विषय बन्नेछ । किनकि नागरिक उन्मुक्तिको जन्म उनकै संरक्षकत्वमा भएको हो । उनी आफै पनि २०७४ को निर्वाचनमा भूमिगत अवस्थामै ३४ हजार ३४१ मतले विजयी भएका थिए । उनको यो मत अरु सबै उम्मेदवारले पाएको मत भन्दा बढी थियो ।

यसअघिका केही निर्वाचनमा जितहारको अनुमान मतदान अघि नै गर्न सकिन्थ्यो । तर, यसपटकको निर्वाचनमा भने त्यस्तो अनुमान गर्न सक्ने अवस्था छैन । काँग्रेस, एमाले र नेकपाकै उम्मेदवारहरुबीच प्रतिस्पर्धा हुने अनुमान भने गर्न सकिन्छ ।

अहिले नयाँ दलका रुपमा चर्चामा रहेको रास्वपा भने कैलाली क्षेत्र नम्बर १ मा निकै कमजोर देखिन्छ । नागरिक उन्मुक्ति पार्टीबाट आएकी कोमल ज्ञवालीलाई उम्मेदवार बनाए पछि रास्वपाका स्थानीय नेता कार्यकर्ता रुष्ट देखिएका छन् । उनीहरु अहिलेसम्म पनि खुलेर आफ्नो उम्मेदवारको पक्षमा उभिएको देखिदैन । रास्वपाले समानुपातिकतर्फ भने राम्रो मत प्राप्त गर्न सक्ने देखिन्छ ।

यस क्षेत्रमा काङ्ग्रेसले ०५६, एमालेले ०५१ र माओवादीले २०६४ सालदेखि चुनाव जित्न सकेका छैनन् ।

प्रतिक्रिया