ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
बन्धक रिहाइ रोक्ने हमासको घोषणा

कहिले होला विपिन जोशीको रिहाइ ?

मङ्गलबार २९, माघ २०८१ १०:२४

धनगढी । पटकपटक भएका युद्धविरामका क्रममा हमासले अहिलेसम्म एक सय ३८ जना बन्धक रिहाइ गरेको छ । यसपटकको युद्धविराममा ३३ जना बन्धक रिहाइ गर्ने सहमति थियो । सोही सहमतिअनुसार हमासले थुप्रै बन्धकलाई रिहा पनि गरिसकेको छ । हमासको कब्जामा अब विपिनसहित दुई जना मात्रै विदेशी नागरिक छन् । अरू सबै इजरायली छन् । जोशी भने कहिले छुट्ने हुन् त्यसको टुङ्गो अझै लाग्न सकेको छैन । 

यसैबीच हमासले बन्धकहरुको रिहाइ स्थगित गर्ने घोषणा गरेको छ । इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै हमासले बन्धक रिहाइ बन्द गर्ने घोषणा गरेको हो । पूर्वसम्झौताअनुसार बन्धकहरुको रिहाइ आगामी शनिबारसम्म हुनुपर्ने हो । 

शनिबार सयौं प्यालेस्टिनी कैदी र तीन इजरायली बन्धक रिहा गर्ने तयारी थियो । हमासले मुक्त गर्ने व्यक्तिहरुको सूचीमा कञ्चनपुरका जोशी पनि पर्ने आशा गरिएको थियो । तर हमासले बन्धकको रिहाइ बन्द गर्ने घोषणा गरेपछि युद्धविराम सम्झौता कार्यान्वयनमा नयाँ समस्या खडा भएको छ । 

हमासले विज्ञप्ति जारी गर्दै इजरायलले गाजा क्षेत्रका केही स्थानहरुमा गोलाबारी जारी राखेको, विस्थापित प्यालेस्टिनीहरु आफ्नो घर फर्किन ढिलो भइरहेको र मानवीय सहायता पु¥याउन बाधा पु¥याइरहेको आरोप लगाएको छ । इजरायल र हमासबीच १९ जनवरी २०२५ देखि युद्धविराम कार्यान्वयनमा आएको थियो । लगत्तै दुवै पक्षबाट बन्धकहरु रिहा गर्ने क्रम चलिरहेको थियो ।

हमासले बन्धकहरुको रिहाइ स्थगित गर्ने घोषणा गरेपछि विपिनको तत्काल रिहाइ हुने सम्भावना पनि कम भएको छ । विपिनका बुवा महानन्द बन्धकको रिहाइ स्थगित गर्ने खबर आएको बताउँदै फेरि निराशा छाएको बताए । ‘नेपालको उच्च तहबाट केही प्रयास भएको नै भएन,’ उनी भन्छन्, ‘परराष्ट्रमन्त्रीज्यूले सक्दो पहल गर्नु नै भएको थियो । तर, प्रधानमन्त्रीबाट प्रयास नै भएन । उच्च तहले प्रयास गरेको भए विपिनको पनि रिहाइ भइसक्थ्यो ।’

उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेल विपिनको रिहाइ गर्ने विषयमा मौन जस्तै छन् । यसअघि पनि इजरायलका अधिकारीहरूले राजदूत धनप्रसाद पण्डितसँग विपिनको रिहाइबारे पटकपटक कुरा गरेको खबर आएका थिए । ती अधिकारीहरुले नेपालका प्रधानमन्त्री तथा राष्ट्रपतिबाट उच्च तहको पहल गराउन अनुरोध गर्दै आएको बताइन्छ । 

‘नेपालको परराष्ट्रमन्त्रीको तहबाट गरिएको पहलले पुगेन,’ ती अधिकारीले राजदूत पण्डितर्लाइ भनेका थिए, ‘प्रधानमन्त्री र राष्ट्रपतिबाट पहल गर्न लगाउनुप¥यो ।’ सोही आधारमा राजदूत पण्डितले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालसँग धेरै पटक सम्पर्क गरेका थिए । तर, केही पहल हुन सकेन ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायअन्तर्गत स्नातक तह आठौँ सेमेस्टरमा अध्ययनरत विपिन सिक्दै कमाउने कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए । उनी इजरायल पुगेको २५ दिनमै हमास समूहले त्यहाँ आक्रमण गरेपछि विपिनलाई पनि सोही समूले बन्दी बनाएको भनिएको छ । सोही आक्रमणमा विपिनजस्तै इजरायल पुगेका सुदूरपश्चिम विश्वविद्यालयका १० जना विद्यार्थीको ज्यान गएको थियो ।
 

प्रतिक्रिया