ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, उपरथी ढकाल घाइते

शनिबार ०३, फागुन २०८१ ०२:२१

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा लेबनानमा शान्ति स्थापना कार्यमा खटिएका नेपाली शान्ति सैनिकमाथि प्रदर्शनकारीहरूको भीडले आक्रमण गर्दा उपरथी चोकबहादुर ढकाल घाइते भएका छन् । 

गएराति १२ बजेतिर राजधानी बेरुत नजिक युनिफिल मिसनका डेपुटी फोर्स कमाण्डर ढकाल सवार गाडीलाई प्रदर्शकारीले तोडफोड गरेका थिए । त्यसक्रममा उनी घाइते भएको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार घाइते उपरथी ढकाललाई ‘यूएन लेभल–३’ अस्पतालमा पुर्‍याइएको थियो । अस्पतालले उनको स्वास्थ्य जोखिममुक्त रहेको जनाएको छ । 

उपरथी ढकाल आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्कने क्रममा थिए । घटनाका सम्बन्धमा युनिफिल मिसन मुख्यालयले प्रेस विज्ञप्ति जारी गर्दै दक्षिणी लेबनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिकमाथि भएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ ।

शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्रसङ्घले लेबनान सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारबाहीको माग गरेको छ । लेबनानका प्रधानमन्त्री र लेबनिज आर्मड फोर्सले तत्काल अनुसन्धान गरी संलग्न व्यक्ति तथा समूहलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।

प्रतिक्रिया