ट्रेन्डिङ

२४ घण्टाका ट्रेन्डिङ अपडेट

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

`रिस्क´ मोलेरै विमानस्थल चलाउने तयारीमा टीकापुर नगरपालिका

सोमबार १०, मङि्सर २०८१ ०३:३४

टीकापुर । टीकापुर नगरपालिकाले सिटको ग्यारेन्टी, धरौटी र कर्मचारी राखेर विमानस्थल सञ्चालन गर्ने सहमति गरेको छ । तारा एयर प्रालिसँग १४ बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरेका नगर प्रमुख रामलाल डगौरा थारुले काठमाण्डौं–टीकापुर–काठमाण्डौं प्रति उडानमा १५ सिटको ग्यारेन्टी लगेको जानकारी दिए ।

मंसिर २ गते भएको सम्झौता पत्रमा विमान कम्पनीका तर्फबाट ग्राउण्ड ह्याण्डिलिङ तथा कमर्सियल चिफ राप्के छिरिङ शेर्पाले हस्ताक्षर गरेका छन् । साक्षीमा मानव संशाधन तथा प्रशासन विभाग प्रबन्धक विनोद शिवभक्ति र अपरेसन विभाग प्रबन्धक सुमन बराल रहेका छन् ।

सो सम्झौता पत्रमा अछामको साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र कुँवरको नामसमेत उल्लेख छ । तर उनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छैनन् । उनले यस बारेमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन । ‘म गाउँतिर बिहेमा छुँ । यो बारेमा मलाई जानकारी छैन,’ उनले भने, ‘हाम्रो प्राथमिकता धनगढी–साँफेबगर हो । त्यसपछि टीकापुरबारे पहल गरौंला ।’

साँफेबगर नगरपालिकाका तर्फबाट रहेका दुई जना साक्षीको नामसमेत खाली छोडिएको छ । त्रिपक्षीय भनिएको अधुरो सम्झौता पत्रमा उल्लेख भएअनुसार दुईवटै पालिकाले उडानका क्रममा सिटको ग्यारेन्टी लिनुका साथै धरौटी समेत राख्नुपर्नेछ ।

टीकापुर नगरपालिकाले काठमाण्डौं–टीकापुर–काठमाण्डौ र साँफेबगर नगरपालिकाले टीकापुर–साँफेबगर–टीकापुर उडानमा १५/१५ सिटको ग्यारेन्टी लिनुपर्नेछ । टीकापुर–काठमाडौंको भाडादर १३ हजार पाँच सय र टीकापुर–साँफेबगरको भाडादर चार हजार सात सय निर्धारण गरिएको छ । जहाजमा सिट खाली भएमा सोही अनुसारको रकम विमान कम्पनीलाई तिर्नुपर्नेछ । यात्रु सेवा शुल्क र विमानस्थल सेवा शुल्क यसैमा जोडिएको सम्झौतामा उल्लेख छ ।

सम्झौताको बुँदा ४(घ) मा इन्धनको मुल्य घटबढ हुँदा भाडादर पनि सोहीअनुसार फेरबदल हुनेमा दुबै पालिका मञ्जुर रहेको उल्लेख छ । सोही बुँदाको (ख) मा अन्य विदेशी नागरिकहरुको हकमा भने तारा एयरले तोके बमोजिम हुने बताइएको छ । शर्तअनुसार पालिकाहरुले पाँच फ्लाइट बराबर भाडाको रकम अग्रिम धरौटी बुझाउनुपर्नेछ । जसअनुसार टीकापुरले १० लाख १२ हजार पाँच सय र साँफेबगरले तीन लाख ५२ हजार पाँच सय रुपैयाँ धरौटी राख्नुपर्नेछ । महिना समाप्तीको पहिलो हप्ता भित्र हरहिसाब फरफारक गरिने उल्लेख छ ।

सोही शर्तमा उडान हुँदै जाँदा धरौटी रकम अद्यावधिक गर्नुपर्ने र धरौटी रकम कम भएमा विमान कम्पनीले उडानलाई निरन्तरता नदिने कुरामा तीनै पक्षले मञ्जुरी जनाएका छन् । विमानका लागि इन्धनको व्यवस्था टीकापुर नगरपालिकाले गर्ने र भुक्तानी विमान कम्पनी आफैले गर्नेछ ।
दुबै पालिकाले विमान कम्पनीका लागि एक/एक कोठा निशुल्क दिनुपर्ने र ४/४ जना कर्मचारी आफ्नै खर्चमा उपलब्ध गराउने कुरामा सहमति जनाएका छन् । कर्मचारीलाई आवश्यक तालिमको व्यवस्था विमान कम्पनीले निशुल्क उपलब्ध गराउने बताइएको छ ।

सम्झौतामा यात्रुहरुको ब्यागेज तौल्ने उपकरणबाहेक विमानस्थलमा चाहिने आवश्यक पूर्वाधार सम्बन्धित पालिकाले व्यहोर्ने उल्लेख छ । सम्झौताअनुसार यहीँ मंसिर १७ गतेबाट उडान सुरु हुनेछ । प्रत्येक हप्ताको सोमबार उडान हुने बताइएको छ । उडानको रुट काठमाडौं–टीकापुर–साँफेबगर र साँफेबगर–टीकापुर–काठमाडौं हुनेछ ।

आवश्यकताअनुसार उडान संख्या थप गर्न सकिने सम्झौतामा उल्लेख छ । सोही सम्झौतामा दुबै पालिकाले मार्च १ देखी मे १५ र सेप्टेम्बर १५ देखी डिसेम्बर १५ सम्म विमानको उपलब्धता हेरेर हप्तामा कुनै पनि बार उडान सञ्चालन गर्ने कुरा शर्त अनुसार सहमत रहेको जनाएका छन् । टिकट बिक्रीको जिम्मा पालिकाहरुले तोकेको ट्राभल्स एजेन्सी वा तारा एयरको अनलाईन सिस्टममार्फत गरिने बताइएको छ ।

टीकापुर नगरपालिकाका तर्फबाट वडा नम्बर ६ का वडाध्यक्ष बलिराम चौधरी र वडा नम्बर ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले हस्ताक्षर गरेका छन् । अन्य साक्षीमा सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपाने, टीकापुर उद्योग वाणिज्य संघका कृष्णप्रसाद बजगाई र टीकापुर ट्युसन सेन्टरका लिखराम चौधरीले हस्ताक्षर गरेका छन् ।

२०४२ सालमा सञ्चालनमा आएको विमानस्थल २०५४ मा बन्द भएको हो । स्थानीय स्तरमा गठित सञ्चालन समितिको पहलमा २०७१ सालमा ‘टेस्ट फ्लाईट’ पनि गरिएको थियो । समितिले यति एयरलाइन्ससँग टीकापुरबाट १६ सिट टिकट बेच्ने सम्झौता गरी साताको एक दिन फ्लाइट गर्ने सम्झौता पनि गरेको थियो । तर त्यो सम्झौता कार्यान्वयनमा आउन सकेन ।

विमानस्थल पुनः निर्माण गर्नका लागि टीकापुर नगरपालिका बोर्डको निर्णयका आधारमा मालपोत कार्यालय टीकापुरले २०७० सालमा ४ महिना घरजग्गा खरिद बिक्री गर्दा विमानस्थलका लागि भनेर १ प्रतिशत अतिरिक्त कर लगाएर रकम संकलन गरेको थियो । मालपोत कार्यालयबाट विमानस्थल सञ्चालनको लागि करिब ३५ लाख रुपैयाँ  रकम संकलन भएको थियो ।

टीकापुर नगरपालिकाको पहलमा नेपाल वायुसेवाम निगमले विमानस्थलमा २०८१ कात्तिक १२ गते दोस्रोपटक टेस्ट फ्लाईट गरेको छ । सोही दिन तारा एयरको विमानले उडान भरेको थियो ।

प्रतिक्रिया