ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

प्रचण्डले भने– टीकापुर विद्रोह थारुको अधिकारका लागि भएको हो, म सम्मान गर्छु

मङ्गलबार २०, फागुन २०८१ ०५:४७

धनगढी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीकापुर विद्रोह थारु समुदायको अधिकारका लागि भएको बताएका छन् । कैलालीको टीकापुरमा आजदेखि सुरु भएको थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ‘टीकापुर थारु विद्रोह थारुहरुको अधिकारका लागि भएको हो,’ उनले भने, ‘म त्यसको सम्मान गर्न चाहन्छुु ।’

प्रचण्डले रेशम चौधरीलाई जोखिम उठाएर जेलबाट छुटाएको दाबी गरे । ‘टीकापुर घटनामा थुप्रै जालझेल भएको मलाई थाह छ,’ उनले भने, ‘थारुको बच्चा हो छुटाउनुपर्छ भनेर रेशम चौधरीलाई जोखिम उठाएर छुटाएको हुँ । तर, अहिले रेशम कताकता छन् । रेशमले पनि माओवादीमै आउनु उचित हुन्छ ।’

अर्को प्रसंगमा बोल्दै अध्यक्ष प्रचण्डले काँग्रेस र एमालेसंग मिलेर सरकार चलाउँदा दुबै पार्टीको रोग सरेको बताए । ‘कहिले काँग्रेस त कहिले एमालेसंग मिलेर जाँदा अलिअलि काँग्रेस र अलिअलि एमालेको रोग स¥यो,’ उनले भने, ‘अहिले त्यो रोगको उपचार गरिरहेका छौं । रोगको उपचार जनताको घरदैलोमा गएर हुन्छ भनेर हामी सोहीअनुसार अगाडि बढेका छौं ।’

प्रचण्डले अब काँग्रेस र एमालेसंग रोग सर्ने गरी एकता गर्ने पक्षमा नरहेको बताए । अध्यक्ष प्रचण्डले भ्रष्टाचारको विरुद्ध अभियान सुरु गर्दा माओवादीलाई सरकारबाट बाहिर राखिएको बताउँदै भने, ‘त्यो अभियानले जनतामा आशा जगाउँदै गएको थियो । तर, हामीलाई सरकारबाट बाहिर पारियो । बाहिर आए पनि सुशासन, सामाजिक न्याय र विकासको मुद्धा जनतामा ल्याएर आएका छौं ।’

प्रतिक्रिया