धनगढी । कैलालीका विभिन्न स्थानबाट प्रहरीले छ लाख रुपैयाँ मूल्यका भन्साल छलिका सामान बरामद गरेको छ । भारतबाट अवैधरुपमा ल्याइएका चिनी, प्याज, माछा, इन्भटर, ब्याट्री, कपडालगायत सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
धनगढीको आदर्शचोक र त्रिवेणीघाटबाट ३२ हजार ७५० मूल्य बराबरका माछा, चिनी, प्याज र किराना सामान बेवारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए । प्रहरीका अनुसार ती सामान खुला नाका भएर भारतबाट अवैधरुपमा ल्याइएका हुन् ।
त्यस्तै प्रहरीले गोदावरी नगरपालिका–३, चौकीडाँडाबाट दुई लाख ३१ हजार आठ सय मूल्यका कपडा बरामद गरेको छ । कैलारी गाउँपालिका–५, मनिकापुरबाट एक लाख ९५ हजार पाँच सय रुपैयाँ मूल्यका ब्याट्री, इन्टभर र कपडा तथा टीकापुर नगरपालिका–८, बेलुवाबाट एक लाख आठ हजार चार सय रुपैयाँ मूल्यका सामान बरामद गरिएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिएका छन् ।
प्रहरीले पहलमानपुरबाट ३० हजार मूल्यका माछा, हरियो खुर्सानी तथा जोशीपुर गाउँपालिकाको फाडियाबाट चार हजार मूल्यको चिनी बरामद गरेको छ । यी सामान भन्सार नतिरेर भारतबाट ल्याएको खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया