ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुरा बहुमुखी क्याम्पसमा नेविसंघविरुद्ध सबै संगठन एक

बुधबार २८, फागुन २०८१ १०:५९

धनगढी । डडेल्धुरा बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)विरुद्ध अन्य सबै विद्यार्थी संगठन एक भएका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाली कांग्रेसनिकट नेविसंघविरुद्ध सबै संगठन एक भएका हुन् । नेविसंघले गौरव ऐरलाई सभापतिको उम्मेदवार बनाएको छ । नेविसंघ डडेल्धुराका अध्यक्ष पवन ऐरले कुनै पनि संगठनसंग गठबन्धन नगरी एकल रुपमा चुनावी मैदानमा उत्रिएको बताए । 

यता नेविसंघविरुद्ध नेपाल विद्यार्थी संघ (वीपी)को नेतृत्वमा सयुक्त प्यानल चुनावी मैदानमा उत्रिएको छ । उक्त प्यानलबाट सभापतिमा नेविसंघ (वीपी)का मदन बोहरा उम्मेदवार छन् । सचीवमा अनेरास्ववियुका रजन कैनी, कोषाध्यक्षमा अखिल (क्रान्तिकारी)का जयकला बिक उम्मेदवार रहेका छन् । सभापतिका उम्मेदवार बोहराले बुधबार पत्रकार सम्मेलन गर्दै शिक्षाको गुणस्तर सुधार गर्ने आफ्नो प्रमुख एजेण्डा भएको बताए । 

यस्तै, कर्ण धामीको नेतृत्वमा स्वतन्त्र प्यानल पनि चुनावी मैदानमा उत्रिएको छ । धामीले आफ्नो टिममा अधिकांश बैतडी घर भएका विद्यार्थीलाई उम्मेदवार बनाएका छन् । डडेल्धुरा बहुमुखी क्याम्पसमा बैतडीका विद्यार्थीको संख्या उल्लेख्य भएकोले निर्वाचनको नतिजमा धामीले प्रभाव पार्ने आकलन गरिएको छ । 

चैत्र ५ गते हुने निर्वाचनमा पाँच सय ५२ विद्यार्थीहरु मतदाता रहेको निर्वाचन समितिले जनाएको छ । सयुक्त प्यानलका तर्फबाट सभापतिका उम्मेदवार रहेका बोहरा ०७९ चैतमा भएको स्ववियु निर्वाचनमा पराजित भएका थिए ।

उक्त निर्वाचनमा नेविसंघको प्यानल नै विजयी भएको थियो । सभापतिमा नेविसंघका दुर्गा भट्ट तीन सय १० मतसहित विजयी हुँदा उनका प्रतिद्वन्दी बोहराले एक सय सात मत पाएका थिए । डडेल्धुरा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो । 

प्रतिक्रिया