अछाम । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.२ अछामबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार भुपदेव शाहले वैदेशिक रोजगारीमा रहेका अछामीलाई आगामी २१ फागुनमा हुने निर्वाचनमा सहभागिता जनाउन स्वदेश फर्किन अपिल गरेका छन् ।
सामाजिक सञ्जालमार्फत शाहले परदेशमा पसिना बगाइरहेका नेपालीहरूको पीडा, परिवारबाट टाढा बस्नुपर्दाको मानसिक वेदना र राज्य व्यवस्थाले सिर्जना गरेको बाध्यतालाई मार्मिक रूपमा प्रस्तुत गरेका छन् ।
शाहले अछामीहरू रहरले होइन, बाध्यताले परदेशिनु परेको भन्दै पुराना दलहरू र भ्रष्ट व्यवस्थाले जनतालाई रोजगारी, भविष्य र भरोसा दिन नसकेको बताएका छन् ।
‘टाढैबाट सामाजिक सञ्जालमा आवाज उठाउनु पर्याप्त छैन, परिवर्तनका लागि भोट र भौतिक उपस्थिति अनिवार्य छ,’ शाहले भनेका छन् । उनले परदेशमा रहेका मतदातालाई एक दिनका लागि भए पनि अछाम फर्किएर मतदान गर्न आग्रह गरेका छन् ।
सन्देशको अन्त्यमा उनले आफू उम्मेदवार भए पनि यो लडाइँ व्यक्तिगत नभई परदेशिन बाध्य पुस्ताको सम्मान र देशमै भविष्य खोज्ने संघर्ष भएको बताएका छन् ।
प्रतिक्रिया