ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुप विश्वविद्यालयका क्याम्पसमा स्ववियु चुनाव: नेविसंघ पहिलो, क्रान्तिकारी निल

बिहिबार २८, चैत २०८१ ११:०९

धनगढी । सुदूरपश्चिम विश्वविद्यालयका १४ आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन भएकोमा १२ क्याम्पसको नतिजा सार्वजनिक भएको छ । १२ मध्ये सात क्याम्पसमा जित हासिल गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) पहिलो भएको छ भने अनेरास्ववियुले पाँच क्याम्पसमा जित निकालेको छ । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले भने अहिलेसम्म खाता खोल्न सकेको छैन । 

कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) सभापतिमा नेविसंघका भुवन महरा विजयी भएका छन् । महरा ४४१ मतसहित दोस्रो कार्यकालका लागि सभापतीमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी सयुक्त अखिल प्यानलका बमबहादुर बिश्वकर्माले ३७८ मत प्राप्त गरेका छन् । सचिवमा नेविसंघकी ज्योति साहु ४७४ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी अखिल सयुक्तका गणेशनाथ योगीले ३२६ मत प्राप्त गरे । कोषाध्यक्षमा पनि नेविसंघकी उम्मेदवार सोनिया शाहले ४४५ मत ल्याउँदै निर्वाचित हुँदा उनकी प्रतिस्पर्धी अखिल सयुक्तकी दिपिका जोशीले ३५१ मत प्राप्त गरिन् । सदस्य पदमा पनि नेविसंघका उम्मेदवार विजयी भएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा रहेको दुर्गालक्ष्मीमा नेविसंघविरुद्ध सबै गठबन्धन एक भएर चुनाव लडेका थिए ।

यस्तै बैतडीको जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानीको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका रोशन भट्ट प्यानलसहित विजयी भएका छन् । १०१ मत ल्याएर भट्ट सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी अनेरास्ववियुका उमेश बडूले ५० मत ल्याए । यस्तै सचिवमा नेविसंघकी राधा बोहरा ८५ मत ल्याएर विजयी भइन् भने उनकी प्रतिस्पर्धी अनेरास्ववियुकी रेखा चुनाराले ५१ मत ल्याइन् । कोषाध्यक्ष पदमा विजयी भएकी नेविसंघकी मीना चन्दले ९१ मत ल्याउँदा अनेरास्ववियुका नवीन भट्टले ५५ मत ल्याए । 

बैतडीकै मणिलेक क्याम्पसमा नेविसंघ प्यानलसहित विजयी भएको छ । स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका मनोजदत्त ओझा विजयी भएका छन् । ओझा ४८ मत ल्याएर सभापतिमा विजयी हुँदा उनका प्रतिस्पर्धी अनेरास्ववियुका सरोज भट्टले ३७ मत ल्याए । त्यस्तै अखिल क्रान्तिकारीकी उम्मेदवार कल्पना भट्टले २१ मत ल्याइन् । यस्तै सचिवमा नेविसंघका दर्शन नेगी ५३ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी अनेरास्ववियुकी उर्मिला नायकले ३७ र अखिल क्रान्तिकारीका धनवीर दयालले १८ मत ल्याए । कोषाध्यक्षमा नेविसंघकी पूजा चन्द ५२ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धी अनेरास्ववियुकी लक्ष्मी ओझाले ४० मत र अखिल क्रान्तिकारिकि दिया दयालले १४ मत प्राप्त गरेकी छिन् ।

डडेल्धुराको त्रिवेणी बहुमुखी क्याम्पस जोगबुडाको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल नै विजयी भएको छ । सभापतिमा प्रकाश अवस्थी १६७ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका भोज लोहारले १३२ मत पाए । यस्तै सचिवमा नेविसंघका भुवन बोहरा, कोषाध्यक्षमा बिन्द्रा धामी, सदस्यहरुमा केशब बोहरा, निर्मला धामी, सरस्वती सुनार, अस्मिता खड्का, उषा पाण्डेय (उर्मिला) र निराजन बोहरा निर्वाचित भएका छन् । विजयी भएका सबै नेविसंघकै उम्मेदवार हुन् ।

दार्चुला बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका प्रकाश बडू विजयी भएका छन् । बडूले दुई सय २२ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका खडक ठगुन्नाले एक सय ९१ मत प्राप्त गरेका छन् । सभापतिका स्वतन्त्र उम्मेदवार अनिलचन्द्र जोशीले २० मत पाए । स्ववियु सचिवमा अखिल क्रान्तिकारीका लालसिंह महर दुई सय १८ मत ल्याई विजयी भए । उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका दिपुसिंह महताले दुई सय १५ मत पाए । कोषाध्यक्षमा नेविसंघका जगतसिंह धामीले दुई सय ४० मत ल्याई विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका कुसुम धामीले दुई सय ३ मत प्राप्त गरेका छन् ।

डोटीको सीताराम बहुमुखी क्याम्पसमा पनि नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्यानलै निर्विरोध निर्वाचित भएको थियो । स्ववियु सभापतिमा नेविसंघका उमेश बलायर, उपसभापतिमा मनिषा कुमारी भट्ट(रोस्यारा), सचिवमा ललितबहादुर साउद, सहसचिवमा लक्ष्मीकुमारी विक, कोषाध्यक्षमा कविताकुमारी बलायर निर्विरोध निर्वाचित भएका थिए । 

बाजुरामा बडीमालिका क्याम्पसको स्ववियु सभापतिमा भने नेविसंघका सविन रावत यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । 

बझाङको जयपृथ्वी क्याम्पसमा भने सभापतिमा अनेरास्ववियुका तिलकचन्द्र बोहरा विजयी भएका छन् । उनले नेविसंघका विवेकबहादुर बोहरालाई तीन मतले पराजित गरे । अन्य सबै पदमा नेविसंघका उम्मेदवार विजयी भएका छन् । सचिवमा लोकराज जोशी र कोषाध्यक्षमा स्मृतिकुमारी शाह विजयी भएका छन् । 

बैतडीको पाटन बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका सञ्जय भण्डारी विजयी भएका छन् । अनेरास्ववियु र अखिल (क्रान्तिकारी)को संयुक्त प्यानलका उम्मेदवार रहेका भण्डारी १०५ मत प्राप्त गर्दै विजयी भए । उनका निकटम प्रतिस्पर्धी जनजागरण स्वतन्त्र विद्यार्थी युनियनका गौतमप्रसाद अवस्थीले ५६ मत ल्याए । नेविसंघकी उम्मेदवार माधवी भट्टले १६ मत ल्याइन् । सचिवमा संयुक्त प्यानलबाट अखिल क्रान्तिकारीका प्रकाश भट्टले ९६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्रका कमला भट्टराईले ५५ मत ल्याइन् । कोषाध्यक्षमा संयुक्त प्यानलबाट अनेरास्ववियुका गजेन्द्र चुनारा १०७ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दिनेशप्रसाद भट्टले ४९ मत ल्याए ।

डोटीको जोरायलस्थित घण्टेश्वर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । अनेरास्ववियुकासुरत बोहरा ६९ मत प्राप्त गरी सभापतिमा विजयी भए । उनका प्रतिस्पर्धी नेबिसंघका मोहनसिंह पालीले ३४ प्राप्त गरे । सचिवमा अनेरास्ववियुकै दीपक साउदले ६५ मत पाए भने उनका प्रतिस्पर्धी नेविसंघका कर्णदेव बोहराले ३८ मत पाए । कोषाध्यक्षमा पनि अनेरास्ववियुकै कलावती बोहराले ६६ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी नेविसंघका लक्ष्मी मडैले ३३ मत पाइन् । 

दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका सुनिल डागा विजयी भएका छन् । डागा १०५ मत ल्याई सभापतिमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी संयुक्त प्यानलका नरेश बिष्टले १०२ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार दिनेशराज पन्तले ११ मत प्राप्त गरे । त्यस्तै, सचिवमा संयुक्त प्यानलका नवराज भट्ट १२५ मत ल्याई विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका विमला जोशी ९४ मत प्राप्त गरेकी छन् । कोषाध्यक्षमा संयुक्त उम्मेदवार र अनेरास्ववियुका उम्मेदवारले बराबरी मत प्राप्त गरेपछि गोला प्रथाबाट संयुक्त प्यानलका अम्मरा धामी छनोट भएकी छिन् । 

बाजुरा क्याम्पसमा अनेरास्ववियुका लक्ष्मण रोकाया यसअघि नै सर्वसम्मत सभापतिमा चयन भइसकेका थिए । त्यहाँ उपसभापति र सचिव नेविसंघका छन् ।

सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पससहितका १६ क्याम्पसमा निर्वाचन तोकिएको थियो । तर, केन्द्रीय क्याम्पसमा विवादका कारण चुनाव स्थगित भएको छ भने अछामको जनता क्याम्पसमा पनि चुनाव हुन सकेको छैन । बुधबार नै मतदान भइसकेका कैलाली बहुमुखी क्याम्पस र टीकापुर बहुमुखी क्याम्पसमा भने मतगणना सुरु हुन सकेको छैन । 

यसअघि त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सुदूरपश्चिमका कलेजमा स्ववियु निर्वाचन भइसकेको छ । उक्त निर्वाचनमा पनि नेविसंघ पहिलो भएको थियो । 
 

प्रतिक्रिया