ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

विभाजन र रास्वपाको ‘आँधीबेहरी’ले सुदूरपश्चिममा पहिचानवादी दलको पत्तासाफ

सोमबार २५, फागुन २०८२ ११:२१

धनगढी । २०७८ पुसमा निर्वाचन आयोगमा दर्ता भएको थियो, नागरिक उन्मुक्ति पार्टी (नाउपा) । त्यसको चार महिनापछि २०७९ वैशाखमा स्थानीय तह निर्वाचन भयो । कैलालीका १३ स्थानीय तहमध्ये दुई नगरपालिका र दुई गाउँपालिकामा जित निकाल्दै नाउपा जिल्लाकै पहिलो दल बन्यो । त्यसको छ महिनापछि भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि जिल्लाकै ठूलो दल बन्यो नाउपा । प्रदेशतर्फमा पाँच र प्रतिनिधिसभामा तीन सिट जितेको थियो ।

तर, २१ फागुनको निर्वाचन सम्मुखमा अध्यक्ष रञ्जिता श्रेष्ठले नाउपालाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा विलय गराइन् । उनका श्रीमान् रेशम चौधरीले ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ नामको छुट्टै दल दर्ता गरे । यो निर्वाचनमा भने थारु समुदायको पहिचानका लागि खोलिएको दल शून्यमा झरेको छ । न नाउपा नेपालले आफ्ना उम्मेदवार जिताउन सक्यो न त नाउपा विलय भएको नेकपाले नै खाता खोल्न सक्यो ।

टीकापुर घटनाको जगमा थारु समुदायलाई अधिकार दिने भन्दै नाउपालाई क्षेत्रीय शक्ति बनाएका रेशम चौधरीको प्रभाव पनि यो निर्वाचनमा देखिएन । नाउपाको आधार क्षेत्र रहेको कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टी नेपालबाट उम्मेदवारी दिएका थिए, चौधरीले । तर, उनको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले खारेज गरिदियो । व्यक्ति हत्या अभियोगमा सर्वोच्च अदालतबाट जन्मकैदको सजाय पाएका उनले राष्ट्रपतिबाट आममाफी पाएका थिए । राष्ट्रपतिबाट सजाय माफी भएको कारणले मात्रै अदालतको फैसला बदर नहुने भएकाले उम्मेदवारी खारेजीको निर्णय गरिएको थियो ।

आफ्नो उम्मेदवारी कायम नहुने आशंकामै रेशमले फागुराम थारुलाई स्वतन्त्र उम्मेदवारी दिन लगाएका थिए । रेशमले उनैलाई समर्थन पनि गरे । तर, ३ हजार ३ सय ८८ मत पाएका फागुरामले जमानत पनि जोगाउन सकेनन् । नाउपाको विलयपछि नेकपाले नाउपाबाटै टीकापुरको मेयर जितेका रामलाल डगौरा थारुलाई उम्मेदवार बनायो । तर, उनले पनि चुनाव जित्न सकेनन् । थारु तेस्रो भए ।

कैलाली १ बाट विजयी कोमल ज्ञवाली पनि कुनै समय नाउपामै थिइन् । चुनावअघि रास्वपा प्रवेश गरेकी उनी विजयी भएकी छिन् । तत्कालीन नाउपाकै नेता प्रदीप चौधरी उज्यालो नेपालबाट उम्मेदवार बनेका थिए । उनले पनि जमानत जोगाउन सकेनन् ।

कैलाली- २ मा भने नाउपा नेपालबाट पतिराम चौधरी उम्मेदवार थिए । तर, रास्वपाको लहरमा रेशमले उनलाई पनि जिताउन सकेनन् । रास्वपाका केपी खनालसँग चौधरी सात हजार बढी मतको अन्तरले पराजित भए । २०७९ सालको निर्वाचनमा कैलाली ३ मा पनि नाउपा विजयी भएको थियो । यसपटक त्यहाँ नाउपा नेपालबाट बिक्रम चौधरी उम्मेदवार थिए । उनी जमानत त जोगाउन सफल भए । तर, रास्वपाले जितेको उक्त क्षेत्रमा चौधरी चौथो भए । नाउपा नेपालले कैलाली ४ र ५ मा पनि उम्मेदवार उठाएको थियो । दुवै क्षेत्रमा नाउपा नेपालका उम्मेदवारको धरौटी जफत भएको छ ।

नाउपाका नेता विभाजित हुँदा यसपटकको निर्वाचनमा थारु आन्दोलनका एजेन्डामाथि नै बहस हुन सकेको थिएन । थारु उम्मेदवारहरूले पहिचानका एजेन्डा मतदातामाझ लैजान समेत सकेका थिएनन् । नेताहरू नै तितरबितर भएपछि मतदाता नयाँतर्फ मोडिएका छन् । जसका कारण थारु समुदायबाट उम्मेदवार रहेका सबै उम्मेदवार पराजित भएका छन् ।

'एकतर्फ परिवर्तन चाहियो भन्दै रास्वपाप्रति मतदाता ढल्किएका थिए,' नाउपा नेपालका एक नेताले भने, 'त्यसैमा हामीहरू पनि कोही नाउपा नेपाल, कोही रास्वपा, कोही नेकपा त कोही हर्क साम्पाङको दलमा विभाजित भयौँ । जसले गर्दा थारु समुदायको भोट एकलौटी जान नसक्दा हाम्रा उम्मेदवारले जित्न सकेनन् ।'

आममाफी पाएपछि रेशम नाउपाको अध्यक्ष बन्न चाहन्थे । त्यसैका लागि उनले महाधिवेशन पनि गराए । तर, त्यो महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएन । त्यहीँबाट श्रीमान–श्रीमतीबीच भएको विवाद पार्टी फुटसम्म पुगेको थियो । जसका कारण थारु पहिचानवादको नाममा खोलिएको पार्टी चार वर्षमै शून्यमा झरेको छ । कुनै समय रेशमले भूमिगत भएकै अवस्थामा कैलाली १ बाट भारी मतान्तरले चुनाव जितेका थिए । तर उनको शक्ति अहिलेको चुनावमार्फत क्षीण मात्रै भएन, शून्यमै झरेको छ ।

प्रतिक्रिया