धनगढी । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले बाजुरामा रहेको सुदूरपश्चिमको प्रमुख धार्मिक पर्यटकीय क्षेत्र बडिमालिकालाई संरक्षित क्षेत्र बनाइने बताएका छन् । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले आगामी वर्षको कार्यक्रममा बडिमालिकालाई संरक्षित क्षेत्र बनाउने योजना रहेको बताए ।
‘बडिमालिका क्षेत्रलाई संरक्षित क्षेत्र बनाउनु पर्छ र त्यहाँको सम्पदालाई जोगाउनु पर्छ भन्ने सोँच गरिरहेका छौँ’ मन्त्री शाहीले भने, ‘आगामी वर्षको कार्यक्रममा बडिमालिकालाई संरक्षित क्षेत्र बनाउने योजना बनिराखेको छ ।’
कतिपय धार्मिक पर्यटकीय स्थल संरक्षणको अभावले मानव अतिक्रमणको चपेटामा परिरहेको उल्लेख गर्दै उनले त्यस्ता क्षेत्रको पहिचान गरेर संरक्षित क्षेत्रको रुपमा संरक्षण गर्ने सरकारको तयारी रहेको जानकारी दिए । संरक्षित क्षेत्र बनाउन बडिमालिकालगायत केही अरु ठाउँको बारेमा पनि प्रारम्भीक अध्ययन भइरहेको उनले बताए ।
अर्को प्रसङ्गमा उनले वर्तमान सरकार २०८४ सम्मै जाने दावी गरे । उनले नेपाली काँग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार सरकारको नेतृत्व सुरुका दुई वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली र बाँकी समय काँग्रेस सभापति शेरबहादुर देउवाले गर्ने बताए । मन्त्री शाहीले नागरिकमा देखिएको निराशा चिर्ने गरी सरकारकाले काम गरिरहेको दावी गरे ।
प्रतिक्रिया