ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका विमानस्थलमा अन्धाधुन्ध लगानी, हुँदैनन् सञ्चालन

शनिबार ३०, चैत २०८१ ०५:५१

धनगढी । सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा विमानस्थल छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार डडेल्धुराबाहेक अन्य आठ जिल्लामा विमानस्थल रहेका छन् । कैलाली र अछाम जिल्लामा दुई–दुई वटा विमानस्थल रहेका छन् भने अन्य छ जिल्लामा एउटा गरी प्रदेशभर १० विमानस्थल छन् । 

सरकारी रेकर्डमा तीन विमानस्थलबाहेक सबै सञ्चालनमा रहेको उल्लेख छ । दार्चुला, अछामको कमलबजार र कञ्चनपुरको मझगाउँ विमानस्थल बन्द रहेको प्राधिकरणले जनाएको छ । कैलालीको धनगढी र टीकापुर, बझाङस्थित विमानस्थल, अछामको साँफेबगर विमानस्थल, बाजुराको कोल्टी विमानस्थल, डोटीको दीपायल विमानस्थल र बैतडीको पाटन विमानस्थल सञ्चालनमा रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । धनगढी विमानस्थललाई प्राधिकरणले हब विमानस्थलका रूपमा राखृेको छ । 

सरकारी रेकर्डमा सञ्चालनमा रहेको भनिएका अधिकांश विमानस्थल भने बन्द जस्तै छन् । ती विमानस्थलको आम्दानी हेर्दा पनि वर्षको दुई–चार दिन मात्रै सञ्चालनमा रहेको पुष्टि हुन्छ । आर्थिक वर्ष २०८०÷८१ मा धनगढी विमानस्थलको आम्दानी छ करोड ५६ लाख १३ हजार रहेको छ ।

यस्तै बाजुरको कोल्टी विमानस्थलको २३ लाख ४९ हजार, बझाङस्थित विमानस्थलको दुई लाख २२ हजार, साँफेबगर विमानस्थलको दुई लाख ४२ हजार र डोटीको दीपायल विमानस्थलको नौं हजार चार सय ७५ रुपैयाँ आम्दानी छ । पाटन विमानस्थलको आम्दानी भने नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो रिपोर्टमा उल्लेख गरेको छैन । 

यस्तै प्राधिकरणका अनुसार सुदूरपश्चिमका धनगढीबाहेक अन्य विमानस्थलमा यात्रुको पनि अभाव छ । सन् २०२४ को नौं महिनामा धनगढी विमानस्थल भएर दुई लाख ६२ हजार २७६ यात्रुले आवागमन गरेका छन् । सो अवधिमा बाजुराको विमानस्थलमा आठ हजार २१८, साँफेबगर विमानस्थलमा ६९५ र बझाङको विमानस्थलमा ४५१ यात्रुले आवागमन गरेका छन् ।

अन्धाधुन्ध लगानी

अछामको कमलबजार विमानस्थलमा चैत २२ देखि नियमित उडान सुरु हुने बताइएको थियो । तर, अहिलेसम्म उडान थालिएको छैन । उक्त विमानस्थल निर्माण्का लागि ०४८ सालमा चार करोड ६३ लाख लागत अनुमान गरिएको थियो । सुरुवाती चरणमै साढे दुई करोड खर्च भएको थियो । ०४९ सालमा निर्माण सुरु भएको उक्त विमानस्थल बन्नुअघि नै माओवादी आक्रमणमा परेर ध्वस्त भएपछि बन्द थियो । त्यसपछि स्तरोन्नतिका लागि डेढ करोड खर्च भएको छ । 

अछामकै साँफेबगरमा अर्को विमानस्थल छ । त्यहाँ धावनमार्ग कालोपत्र छ । तर, विमानस्थलमा उडान ठप्प छ । उक्त विमानस्थलमा ११ करोड ५० लाख रुपैयाँमा धावनमार्ग कालोपत्र गरिएको थियो । कैलालीको टीकापुर विमानस्थल भने अहिले सञ्चालनमा छ । सातामा तीन दिन सञ्चालन गर्ने भनिएकोमा अहिले सातामा एक उडान भइरहेको छ ।

कञ्चनपुरमा रहेको मझगाउँ विमानस्थल पनि धमाधम निर्माण भइरहेको छ । तीन वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यकासाथ काम सुरु भए पनि हालसम्म जमिन प्राप्तिमै अन्योल छ । विमानस्थलको धावनमार्ग निर्माण लागि १३ सय मिटरमा बेस निर्माणको काम सकिएको छ । विमानस्थल निर्माण तथा सञ्चालनका लागि भीमदत्त नगरपालिकाको १५ प्रतिशत, दोधारा चाँदनीको १०, सुदूरपश्चिम प्रदेश सरकारको २५ र संघीय सरकारको ५० प्रतिशत लगानीमा रहने बताइएको छ । तीन वर्षमा काम सक्ने समयावधि तोकेर कान्छाराम÷केएस÷उमा एन्ड कम्पनीसँग ४५ करोड ६६ लाखमा ठेक्का सम्झौता भएको थियो । सम्झौता अवधि गत माघ १० समय सकिएपछि एक वर्ष थप गरिएको छ ।

बझाङ विमानस्थल पनि आठ महिनादेखि बन्द छ । उक्त विमानस्थल द्वन्द्वकालमा माओवादीको आक्रमणमा परेर ध्वस्त भएपछि पुनः सञ्चालनमा ल्याउन सरकारको १६ करोडभन्दा बढी खर्च गरिएको थियो । डोटीस्थित दीपायल विमानस्थलको धावनमार्ग ०७३ सालमा नागरिक उड्यन प्राधिकरणले कालोपत्र गरेको थियो । छ करोड ८० लाख रुपैयाँमा कालोपत्र गरेकोमा उक्त विमानस्थल पनि बन्द छ । 
बैतडीको पाटन विमानस्थल पनि बन्द छ । बन्द भएको २६ वर्षपछि पुनः सञ्चालनमा ल्याइएकोमा ०७८ चैतदेखि फेरि बन्द छ ।

दार्चुलाको गोकुलेश्वर विमानस्थल भने अहिले पनि निर्माणाधीन अवस्थामै छन् । 
विमानस्थलविहीन रहेको सुदूरपश्चिमको एकमात्रा डडेल्धुरा जिल्लामा पनि विमानस्थलको माग विगतदेखि नै हुँदै आएको छ । जिल्लाको अजयमेरु गाउँपालिका–१ पुइलेकमा विमानस्थल निर्माणका नाममा पटकपटक अध्ययन पनि भएको छ । तर, निर्माण भने सुरु भएको छैन । सुदूर पहाडका बासिन्दाका लागि सहज हुने भन्दै डडेल्धुरा–काठमाडौं उडान भर्न सक्ने विमानस्थलको माग त्यहाँ हुँदै आएको छ । 

 

प्रतिक्रिया