धनगढी । कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रारका लागि सिफारिस समितिले १५ कात्तिकमा १५ दिनको म्याद राख्दै आवेदन माग ग¥यो । निर्धारित अवधिमा उपकुलपतिका लागि आवेदन एउटा पनि परेन । सिफारिस समितिले अर्को सूचना निकाल्दै उपकुलपतिमा आवेदन दिने समय थपेर ५ मंसिरसम्म पुगायो । तर, थप गरिएको म्यादमा पनि आवेदन परेन । सिफारिस समितिका अनुसार शिक्षामन्त्री महावीर पुनले एक व्यक्तिलाई आग्रह गरेर आवेदन दिन लगाएका थिए । तर, ती व्यक्तिको पनि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्वन्धमा व्यवस्था गर्न बनेको ऐन र सोही ऐनअनुसार बनाइएको उपकुलपति र रजिस्ट्रार छनोट तथा सिफारिससम्बन्धी कार्यविधि बमोजिम उपकुलपतिका लागि तोकिएको योग्यता पुगेन । र, उनको आवेदन सिफारिस समितिले स्वीकृत नै गर्न सकेन । शुक्रबार त शिक्षामन्त्री महावीर पुनले नै योग्यता पुगेका व्यक्तिलाई सम्पर्क गर्न आग्रह गरेका छन् ।
सिफारिस समितिका अनुसार स्वास्थ्य विज्ञान विश्वविद्यालयको ऐनमा नै उपकुलपतिको योग्यता अन्य कुनै पनि विश्वविद्यालयको भन्दा कडा छ । ऐनमा उपकुलपतिका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट चिकित्सा शिक्षासँग सम्बन्धित कुनै विधा (हेल्थ प्रोफेसनल एजुकेशन)मा विद्यावारिधि, डीएम, एमसीएच वा सो सरहको उपाधि गरेको हुनुपर्ने उल्लेख छ । यस्तै, विश्वविद्यालयको प्राध्यापक पदमा रही कम्तीमा १० वर्ष काम गरेको, शैक्षिक वा प्राज्ञिक उन्ननयनको क्षेत्रमा उत्कृष्ट व्यवस्थापकीय कुशलता, नेतृत्व क्षमता, सीप र कौशल प्रदर्शन गरेको, प्राज्ञिक तथा अनुसन्धानमूलक परियोजना सफलतापूर्वक सम्पन्न गरेको, राष्ट्रिय वा अन्तर्राष्ट्रियस्तरको जर्नलमा अनुसन्धानमूलक लेख तथा सन्दर्भ सामग्री प्रकाशन गरेको हुनुपर्ने पनि ऐनमा उल्लेख छ । उपकुलपतिका लागि उमेर हद पनि तोकिदिएको छ । दरखास्त पेस गर्ने अन्तिम दिनसम्म ३५ वर्ष उमेर पूरा भई ६१ वर्ष उमेर ननाघेको हुनुपर्ने सिफारिस समितिले आवेदन आह्वान गर्दा उल्लेख गरेको थियो । यो योग्यता त्रिभुवन विश्वविद्यालयसहित नेपालमा रहेका कुनै पनि विश्वविद्यालयको उपकुलपतिका लागि आवश्यक नरहेको बताउँछन्, उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सिफारिस समितिका संयोजक तथा विश्वविद्यालय सभाका सदस्य प्रा.डा. जयराज अवस्थी ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्नका लागि विद्यावारिधि आवश्यक छैन । टीयूमा उपकुलपति सिफारिस समितिको कार्यविधिमा मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि गरेको हुनुपर्ने उल्लेख छ । स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि उपकुलपति बन्न विश्वविद्यालयको प्राध्यापक पदमा रही कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने योग्यता मागिएको छ । टीयूमा उपकुलपति बन्न पनि विश्वविद्यालयको प्राध्यापक त आवश्यक पर्छ । तर, स्वास्थ्य विज्ञान विश्वविद्यालय जस्तै १० वर्ष काम गरेको अनुभव मागिएको छैन । ‘प्रचलित कानुन बमोजिम स्थापित विश्वविद्यालयको प्राध्यापक पदमा नियुक्त भई अनुभव हासिल गरेको हुनुपर्नेछ,’ टीयूको ऐनमा भनिएको छ । यस्तै त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्नका लागि उमेद हद तोक्ने गरिएको छैन । तर, स्वस्थ्य विज्ञान विश्वविद्यालयमा भने उमेद हद नै तोकिएको छ ।
सिफारिस समितिका संयोजक अवस्थीका अनुसार स्वस्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति पाउनका लागि उमेर हद वा योग्यता र अनुभवको मापदण्ड संशोधन आवश्यक छ । ‘विद्यावारिधि र डीएम गरेका अधिकांश व्यक्ति ६१ वर्षमाथिका छन्,’ सिफारिस समितिका संयोजक अवस्थी भन्छन्, ‘तर, हामीले ६१ वर्षभन्दा कम उमेर भएकालाई मात्र उपकुलपतिका लागि आवेदन मागेका थियौँ । ६१ वर्षभन्दा कम उमेरका केही व्यक्तिको अन्य योग्यता पुगेको देखिए पनि १० वर्ष विश्वविद्यालयको प्राध्यापक गरेका भेटिएनन् ।’
कतैबाट पनि आवेदन नपरेपछि सिफारिस समितिका संयोजक र सदस्यहरुले तोकिएको योग्यताअनुसारका व्यक्ति खोजेको थियो । ‘विद्यावारिधि र डिएम (डाक्टर अफ मेडिसिन) गरेका व्यक्ति मात्रै त पायौं,’ सिफारिस समितिका संयोजक अवस्थी भन्छन्, ‘तर, उनीहरुसंग १० वर्ष प्राध्यापक पदमा काम गरेको अनुभव थिएन । त्यो भएका व्यक्ति ६१ वर्षभन्दा माथिका थिए ।’
सिफारिस समितिले शिक्षामन्त्री महावीर पुनलाई अव अध्यादेशबाट भए पनि ऐन संशोधन गर्न अनुरोध गरेको छ । ‘अन्य विश्वविद्यालयमा असोसेट र असिसटेन्ट प्रोफेसर भए पनि उपकुलपति बनाइन्छ,’ संयोजक अवस्थीले भने, ‘हाम्रो ऐनले प्राध्यापक नै मागेको छ । हामीले विद्यावारिधि र डिएम मागेका छौं । धेरै विश्वविद्यालयमा मास्टर इन डिग्री गरेकै व्यक्ति उपकुलपति छन् । उपकुलपनि नियुक्तिका लागि तोकिएको योग्यताको केही बुँदा हटाएर मात्रै सम्भव छ । उमेर हद पनि हटाउनुपर्छ ।’
अवस्थीका अनुसार रजिष्ट्रार सिफारिसका लागि भने काम भइरहेको छ । ‘तत्काललाई रजिष्ट्रार नै निमित्त उपकुलपतिको जिम्मेवारी दिएर पनि काम गर्न सकिन्छ,’ अवस्थीले भने ।
प्रतिक्रिया