ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम एमालेका दल नेताबाटै पीडित बनिरहेका इञ्चार्ज लेखराज !

बुधबार ०३, बैशाख २०८२ १०:५६

धनगढी  । चैत दोस्रो साता सुदूरपश्चिम प्रदेशका तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीको अडियो संवाद सार्वजनिक भयो । आर्थिक लाभ पुग्ने गरी दीगो वन व्यवस्थापनको कार्यविधि बनाउँदै मन्त्रिपरिषद्बाट पास गर्ने कुराकानीसहितको अडियो सार्वजनिक भएपछि मन्त्री चौधरीले १६ चैतमा राजीनामा दिए । 

उक्त संवादमा मन्त्री चौधरीसंग कुराकानी गरिरहेका थिए, एमाले नेता नारदमुनि राना । राना संघीय सरकारका पूर्ववनमन्त्री पनि हुन् । ‘तपाईं र म फेरि चुनाव लड्नुपर्छ, जित्नका लागि पैसा कमाउनुपर्छ,’ सार्वजनिक अडियोमा रानाले मन्त्री चौधरीलाई भनेका छन् । अडियो सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दीगो वन व्यवस्थापन सम्बन्धीका सम्पूर्ण कागजात जफत ग¥यो । प्रदेशसभाको सार्वजनिक लेखा समितिले पनि चासो देखायो ।

अडियोको छानबिनका लागि प्रतिपक्षले राखेको उच्चस्तरीय समिति गठनको मागमा सहमत नभएका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल अख्तियार र सार्वजनिक लेखा समितिले भने नारदमुनिमाथि पनि छानबिन गर्नुपर्ने पक्षमा उभिए । एमाले सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्ट समक्ष पूर्वमुख्यमन्त्रीसमेत रहेका दल नेता रावलले नारदमुनिलाई कारबाही गर्न पनि आग्रह गरे । ‘राजेन्द्र रावलले नारदमुलाई कारबाही गर्न आग्रह गरेपछि लेखराजले दुबै जनालाई बोलाएर छलफल गरेका थिए,’ एमाले सुदूरपश्चिमका एक नेताले भने, ‘छलफलमा लेखराजले अडियो काण्डको सेफ ल्याण्डिङ हुनुपर्ने बताएपछि रावल आक्रोसित भएका थिए । सोही क्रममा लेखराजमाथि रावलले हातपातकै प्रयास गरेका थिए ।’

३० चैतमा एमाले सुदूरपश्चिमको प्रदेश कमिटी बैठक थियो । बैठकमा रावलले आफूमाति आक्रमणको प्रयास गरेको विषय बाहिरिएको भन्दै लेखराजले दुख व्यक्त गरेका थिए । ‘जनयुद्ध लडेर आएको मान्छे हुँ,’ लेखराजले बैठकमा भनेका थिए, ‘रावलले हातपात गर्न खोजेको विषय मेरो परिवारका सदस्यलाई पनि भनेको थिएन । यो कसरी बाहिरियो ?’ 

बैठकमा भट्टले जनयुद्वमा माओवादी सेनाका दुईवटा डिभिजन चलाएको बताउँदै चाहेको भए जे पनि गर्नसक्ने बताएका थिए । ‘म माओवादीमा पारिवारिककरण देखेर दिक्क भएर एमाले बसेको हुँ,’ उनले अगाडि भनेका थिए, ‘अहिले पनि त्यहाँ मेरो लागि ढोका खुला छ । तर म एमाले बनाउन लागेको छु ।’ भट्टले आफूमाथि दल नेताले आक्रमण प्रयास गरेको कुरा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पनि भनिसकेको बताएका थिए।  

एमाले सुदूरपश्चिका एक नेताका अनुसार लेखराजलाई संसदीय दलका नेता रावलले हातपात गर्न खोजेको यो पहिलोपटक होइन । ‘उहाँले यसअघि पनि लेखराज माओवादीबाट आएको र आफू खास एमाले भएको भदै दुई पटक हातपातको प्रयास गरिसक्नुभएको थियो,’ ती नेताले भने, ‘एकपटक पार्टीको केन्द्रीय कार्यालय र दुई पटक लेखराजकै घरमा रावलले हातपात प्रयास गरेका छन् ।’

यता दल नेता रावलले आक्रमण गरेको विषयमा इञ्चार्ज भट्टले भने, ‘घटना बाहिर आए जस्तै हो । तर, त्यो विषयमा मिडियामा भन्दा पार्टीको बैठकमा कुरा गर्दा ठिक हुन्छ ।’ संसदीय दलका नेता रावलले पनि लेखराज र आफ्ना विषयमा विकसित घटनाक्रमबारे पार्टी अध्यक्षसंग कुरा हुने बताए । 

सुदूरपश्चिम प्रदेशमा भइरहेको राजनीतिक नियुक्तिले प्रदेश इञ्चार्ज भट्ट र प्रदेश दलका नेता रावलबीच विवाद बढेको एमालेभित्र चर्चा हुन्छ । सुदूरपश्चिमको नीति तथा योजना आयोगमा एमाले र काँग्रेसबीच भागबन्डा हुँदा उपाध्यक्ष र दुई सदस्य काँग्रेस तथा दुई सदस्य एमालेको भागमा परेको थियो । 

प्रदेश इञ्चार्ज भट्ट कञ्चनपुरका एमाले नेता नेत्रप्रकाश पन्तलाई आयोगको सदस्य बनाउन चाहन्थे । तर, संसदीय दलका नेता रावलले डा. हिरा चन्दलाई सदस्य बनाए । त्यसपछि भट्ट र रावलबीच विवाद झन बढेको एमाले नेताहरु बताउँछन् । त्यसअघि पनि रावलले पटकपटक अपमान गर्न खोजेको भन्दै भट्ट, रावलप्रति सकारात्मक नभएको एमालेभित्र चर्चा हुन्छ । 

कञ्चनपुरबाट समानुपातिक प्रणालीमार्फत प्रदेशसभा सदस्यमा निर्वाचित भएका रावल एमाले सुदूरपश्चिमका संसदीय दलका नेता हुन् । रावल सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री पनि हुन् । ०७९ को निर्वाचनपछि केन्द्रमा एमाले र माओवादीबीच सत्ता समीकरण बनेपछि सुदूरपश्चिम एमालेको भागमा परेको थियो । 

०७९ सालको २७ पुसमा रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । रावलले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । २६ माघमा मुख्यमन्त्री रावलले विश्वासको मत लिन प्रदेशसभामा गरेको प्रस्तावमाथि छलफलको प्रस्ताव नै बहुमतले अस्वीकृत भएपछि उनी पदमुक्त भएका थिए । 
 

प्रतिक्रिया