धनगढी । कैलालीको अत्तरियामा डडेल्धुराका ३५ वर्षीय जगदीश कैनीको हत्या गरेको आरोपमा पक्राउ परेका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीले पत्रकार सम्मेलन गर्दै कैनीको हत्या आरोपमा पक्राउ परेका बैतडीको डिलासैनी गाउँपालिकाका हेमन्तबहादुर बोहरालाई सार्वजनिक गरिएको हो ।
इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाका अनुसार आरोपित बोहराले चार सय रुपैयाँ चोरी गरेको आरोप लगाउँदै कैनीको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।
‘२६ चैतको राति घटनास्थल दुर्गा मन्दिमा मृतक कैनी र आरोपित बोहरा सुतेका थिए,’ डीएसपी थापाले भने, ‘सुतेको समयममा बोहराको खल्तीमा रहेको चार सय रुपैयाँ हराएपछि कैनीले नै चोरेको आशंका बोहराले गरेका रहेछन् । सोही आशंकामा कैनीको टाउको ढुंगा प्रहार गरेर हत्या गरेको बयान बोहराले दिएका छन् ।’ मृतक बोहराको साथबाट भने त्यो चार सय रुपैयाँ भेटिएको छैन ।
घटनास्थल दुर्गा मन्दिर
डीएसपी थापाका अनुसार मन्दिरमै कैनीको हत्या गरेका बोहराले शव घिसारेर मन्दिर पछाडिको खाली जमिनमा फालेका थिए । पूर्वसशस्त्र प्रहरीसमेत रहेका बोहरा अत्तरिया र धनगढी क्षेत्रका विभिन्न होटलमा काम गर्दै आएका थिए । घटना अगाडिसम्म अत्तरियाको १२ गाउँ होटलमा काम गर्दै आएका बोहरा घटनापछि धनगढी पुगेका थिए ।
घटनापछि पनि उनले धनगढीमा एक सातासम्म चौलानी होटलमा काम गरेका थिए । बुधबार चौलानी होटलमा काम छोडेर अत्तरिया पुगेका बोहरालाई मदिरा सेवन गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । बोहरामाथि जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
हत्यापछि कैनीको शव फालिएको स्थान
यस्तो छ घटनाको टाइमलाइन
आरोपित बोहरा २६ चैतमा बेलुका ७ः१३ बजे दुर्गा मन्दिरमा प्रवेश गर्छन् । कैनी मन्दिरमा प्रवेश गरेको डेढ घण्टाभन्दा बढी समयपछि ८ः५५ मा जगदीश कैनी मन्दिर प्रवेश गरेको सिसीटिभीको फुटेल प्रहरीलाई प्राप्त भएको छ । ‘९ः०८ मा बोहरा मन्दिरबाट बाहिर निस्केर एक होटलबाट मदिरा खरिद गरेका रहेछन्,’ डीएसपी थापाले भने, ‘९ः१३ मा उनी फेरि मन्दिरमा प्रवेश गरेको भिडियोमा देखिएको छ । मन्दिरमै मदिरा पिएका बोहरा मन्दिरमै सुतेका रहेछन् ।’ बोहराको छेउमै कैनी पनि सुतेका थिए ।
‘मध्यराति १२ बजे निन्द्रा खुलेपछि बोहराले खल्तीमा भएको रुपैयाँ नभएको थाहा पाएको बयानमा बताएका छन्,’ डीएसपी थापाले भने, ‘३ चैतमा बोहराको सोही मन्दिरको बरण्डाबाट झोला पनि चोरी भएको रहेछ । दुबै चोरीमा कैनी संलग्न भएको ठानेर बोहराले ढुंगा प्रहार गर्दै हत्या गरेको अनुसन्धानबाट खुलेको छ । हत्यापछि बोहरा मन्दिर परिसरभन्दा बाहिर रहेको एउटा बाँझो घरमा सुतेका रहेछन् ।२७ चैतको विहान साढे ५ बजे उनी धनगढीतर्फ गएको पनि सोधपुछबाट खुलेको छ ।’
आरोपित बोहरा सुतेको घर
घटनाको अनुसन्धानका लागि प्रहरीले अन्य तीन जनालाई पनि पक्राउ गरेर सोधपुछ गरेको थियो । तीमध्ये अपाङगता भएका एक व्यक्तिले कैनीको हत्यामा आफू संलग्न रेको संकेत पनि गरेका थिए । तर, प्रहरीले सबुत प्रमाण नमिलेपछि अनुसन्धान बोहरा केन्द्रित गरेको थियो ।
हत्याको एक सातापछि घटनास्थल नजिकै पुगेर आरोपित बोहराले मदिरा पिएको होटल, होटलबाटै बोहरा पक्राउ परेका थिए ।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयका प्रमुख डीएपी थापाको कमाण्डमा सात जनाको टोलीसंगै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको टोली खटिएको थियो । अपराध अनुसन्धानमा अब्बल मानिएका प्रहरी नायब निरीक्षक द्वय सुशील चन्द र पदम थापा पनि २७ गतेदेखि नै अनुसन्धानमा खटिएका थिए ।
प्रतिक्रिया