ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री लेखक

शुक्रबार ०५, बैशाख २०८२ ०३:१८

गण्डकी । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि कुनै हालतमा स्वीकार्य नहुने बताएका छन्। गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आज पोखरामा उद्घाटन गर्दै गृहमन्त्री लेखकले पूर्वराजावादी वा अन्य कुनै नाममा संविधानविरोधी गतिविधि तथा अस्थिरता निम्त्याउने कार्य क्षम्य नहुने स्पष्ट पारे।

उनले बलिदानीपूर्ण संघर्षबाट प्राप्त वर्तमान संविधानको रक्षा गर्न सबै तयारी अवस्थामा रहनुपर्ने धारणा व्यक्त गरे। नेपालमा विगत सात दशकमा सातवटा संविधान बनेको स्मरण गराउँदै वर्तमान संविधान संसारकै उन्नत लोकतान्त्रिक संविधान भएको उल्लेख गरे। उनले भने, 'संविधानमै रही आलोचना, समालोचना तथा विभिन्न गतिविधि गर्न पाइन्छ। तर, संविधानविरोधी गतिविधि र हत्याहिंसालाई प्रश्रय दिने, संविधान फाल्छु भन्ने अराजक क्रियाकलाप कानुनअनुसार दण्डनीय छन्।'

मन्त्री लेखकले संविधानको रक्षा अहिलेको आवश्यकता भएको उल्लेख गर्दै वर्तमान संविधान निर्माणको १० वर्ष पूरा हुँदै गरेको सन्दर्भमा आवश्यक समीक्षा गरी सबै सरोकारवालासँग सहमति कायम गर्दै आवश्यकतानुसार संशोधन र सुधारको प्रयास गरिने बताए।

उनले पछिल्लो समय लागुऔषधको बढ्दो प्रयोग, आत्महत्या, सवारी दुर्घटना, साइबर अपराध, प्राकृतिक विपद् आदि चुनौतीका रूपमा देखापरेकाले तिनको समाधानतर्फ सरकार निरन्तर क्रियाशील रहेको बताए। साथै, सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै जनताप्रति उत्तरदायी बन्न कुनै कसर बाँकी नराख्न पनि आग्रह गरे।

मन्त्री लेखकले जिल्लामा प्रमुख जिल्ला अधिकारी संघीय सरकारका प्रतिनिधिका रूपमा रहेकाले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय कायम गर्दै सेवा प्रवाहलाई नागरिकमैत्री र प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिए।

प्राकृतिक विपद्मा सरकारको तयारी
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश प्राकृतिक विपत्तिका दृष्टिले जोखिमयुक्त रहेको उल्लेख गर्दै विपद् न्यूनीकरण तथा व्यवस्थापनमा सरकार निरन्तर लागिपरेको जानकारी दिए। बाढी, पहिरो, भूकम्पलगायत प्राकृतिक विपत्तिका प्रतिकार्यका लागि १० करोड रुपैयाँभन्दा कम नहुने गरी विशेष कोष विनियोजन गरिएको र आवश्यक उपकरण सहयोग गरिएको बताए। उनले कोरला नाका सञ्चालनसमेत उल्लेख गर्दै त्यसलाई थप व्यवस्थित गर्नुपर्ने धारणा राखे।

सुरक्षा गोष्ठीमा गण्डकी प्रदेशअन्तर्गत सबै जिल्लाका सुरक्षा समितिका पदाधिकारीहरूको उपस्थिति थियो।

आपत्कालीन गोदामघर हस्तान्तरण

मन्त्री लेखकले संघ मातहतको आपत्कालीन गोदामघर गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरे। एक समारोहबीच गृहमन्त्री लेखकले प्रदेशका मुख्यमन्त्री पाण्डेलाई उक्त गोदामघरको औपचारिक हस्तान्तरण गरे।

उनका अनुसार, गण्डकी प्रदेशमा आपत्कालीन बन्दोबस्ती क्षमता अभिवृद्धि गर्न निर्माण गरिएको उक्त गोदामघरले संकटको बेला प्रभावकारी राहत व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

गृहमन्त्री लेखकले विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि केन्द्र, प्रदेश र स्थानीय तहबीचको सहकार्य अपरिहार्य भएको बताए।

मुख्यमन्त्री पाण्डेले गोदामघर हस्तान्तरणसँगै उद्धार कार्यलाई ‘एकद्वार प्रणाली’ मार्फत गर्न सहज हुने बताए। गृहसचिव गोकर्णमणि दुवाडीले आपत्कालीन अवस्थामा खोज तथा उद्धारका लागि गोदामघरले सहयोग पुग्ने भन्दै सबै स्थानीय तहमा यस्ता संरचना आवश्यक रहेको धारणा राखे।

प्रतिक्रिया