ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बाजुरामा निर्वाचन शान्तिपूर्ण बनाउन सर्वदलीय आह्वान

शनिबार १६, मङि्सर २०८१ ०५:५६

बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष चयनका लागि भोलि हुन लागेको निर्वाचन शान्तिपूर्ण बनाउन जिल्लाका सबै राजनीतिक दलहरुले आह्वान गरेका छन् ।

विभिन्न राजनीतिक दल र दलका नेताहरुले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै चुनाव शान्तिपूर्णरुपमा सम्पन्न गर्न सरोकारवाला सबै पक्षलाई आह्वान गरेका छन् । त्यस्तै उपनिर्वाचनमा भाग लिएर मतदानको अधिकार प्रयोग गर्न पनि राजनीतिक दलहरुले आग्रह गरेका छन् ।

निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र लोकतान्त्रिक तरिकाले सम्पन्न गर्न आह्वान गर्नुका साथै त्यसमा गाउँपालिकामा रहेका सबै राजनीतिक दलहरुले सहयोग गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । 

बाजुरामा निर्वाचनका क्रममा झडपका घटनाहरु हुने गरेका छन् । गत निर्वाचनमा भएका झडपमा दुई जनाले ज्यान गुमाएका थिए । 

नेकपा एमालेका स्थायी समिति सदस्य कर्ण थापा, केन्द्रीय सदस्य लालबहादुर थापा, जिल्ला अध्यक्ष लालबहादुर ओली, एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य हिक्मतबहादुर शाही र नरेशबहादुर शाही, जिल्ला अध्यक्ष पुरबहादुर रावत, नेपाली काँग्रेसका जिल्ला सभापति रामसिंह रावल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मनलाल खत्री, प्रदेश कोषाध्यक्ष कमलकुमारी शाहलगायत नेताहरुले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षका लागि आइतबार उपनिर्वाचन हुँदैछ । काँग्रेसबाट निर्वाचित उपाध्यक्ष मैना जोशीको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
 

प्रतिक्रिया