ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

किन पढाउँदैनन् सरकारी ‘मास्टर’ ?

शनिबार १३, बैशाख २०८२ १०:३१

सरकारी नियुक्ति पत्र बोकेर विद्यालय प्रवेश गरेको अढाई वर्ष पूरा भयो । उसो त स्थायी सेवामा प्रवेश गर्नुपूर्व पनि करिब ११ वर्ष कैलालीका विभिन्न विद्यालय र कलेजमा करार शिक्षकको रुपमा कार्य गरेको अनुभव थियो । तत्तत् संस्थानहरुमा आफूले जाने बुझेको र सिकेको जति सीप, मेहनत र सृजनशीलताको प्रयोग गरिएकै हो ।

तर, त्यसको मूल्यांकन ठोस रुपमा कहीं कतैबाट भएको महसुस भएन । आत्मसम्मान पाउन स्थायी शिक्षक भएरै काम गर्नुपर्ने रहेछ भन्ने मानसिकताले आफैलाई चिमोट्न थाल्यो । सेवा आयोगको प्रतिस्पर्धामा उत्तिर्ण भएर स्थायी हुने प्रक्रिया पनि पूरा गरियो । तर अस्थायी भएर काम गर्दाको असन्तुष्टि स्थायी भएर मेटिएला भन्ने जुन हुटहुटी थियो, त्यो भने पूरा भएन । बरु झनै असन्तुष्टि चुलिदो छ । लेखन, पत्रकारिता र सामाजिक कर्मबाट सानोतिनो पहिचान बनाएको यो पंक्तिकारलाई असल शिक्षकको रुपमा पहिचान बनाउनु फलामको चिउरा चपाउनु जस्तै लाग्न थालेको छ ।

आजको दिनसम्म एक लेखकको रुपमा सरकारी तथा गैरसरकारी निकायबाट दुई दर्जन बढी पुरस्कार तथा सम्मान पाइसकेको व्यक्तिलाई १३ वर्षको अवधिमा शिक्षकको रुपमा कहिं कतैबाट कुनै पुरस्कार सम्मान पाइएको छैन । बरु तालुकदार निकायका पदाधिकारीहरु तथा सरोकारवाला व्यक्तिहरुबाट पटकपटक प्रत्यक्ष अप्रत्यक्ष रुपमा अपमानित हुनुपरेका घटना भने छन् । यो तथ्य उल्लेख गरिहालौ की १३ वर्षे पेसागत अवधिमा दुई निजी विद्यालयमा आंशिक र पाँच सरकारी विद्यालयमा पूर्णकालिन गरी सात विद्यालयमा काम गरियो । काम गरेका प्रत्येक विद्यालयमा विद्यार्थीहरुका परीक्षामा आफ्नो विषयमा विगतको भन्दा राम्रो नतिजा हासिल गराइयो । विगतमा वर्षौसम्म १० प्रतिशत नतिजा भन्दामाथि उक्लिन नसकेका विद्यालयमा ३० देखि ६० प्रतिशतसम्म सुधार गराइयो ।

पठनपाठनका सवालमा मात्र नभएर अतिरिक्त क्रियाकलाप र बालबालिकाहरुको व्यक्तित्व विकासको लागि पनि सुधारको यथेष्ट प्रयास गरियो । हरेक विद्यालमा आफूले पढाएका बहुसंख्यक बालबालिकाहरुले र तिनीहरुका अभिभावकहरुले ‘असल शिक्षक’को रुपमा सम्मान दर्शाए । तर तालुकदार निकाय तथा सरोकारवाला अधिकारीहरुको नजरमा भने कहिल्यै पर्न सकिएन । किनकि हाम्रा सरकारी शैक्षिक संस्थानहरुमा असल काम गरेर सम्मानित भइदैन । त्यहाँ सम्मानित हुने विधि प्रक्रियाहरु अर्कै छन् । सामाजिक तथा सृजनात्मक क्षेत्रका कामका अनुभवहरु निकै सुखद् छन् ।

त्यहाँ सानो काम गरे पनि समाचार बन्छ, सामाजिक सञ्जालमा प्रचार हुन्छ, व्यक्तित्वको उचाई बढ्छ, तारिफ गर्नेहरु यथेष्ठ भेटिन्छन् । बेला मौकामा पुरस्कारहरु, सम्मानहरु, मनखाने पारिश्रमिक आदि पाइन्छ । तर पेसागत कामलाई सामाजिक सञ्जालमा प्रचार गर्ने कुरा हुँदैन । तिनका समाचार बन्दैनन् । अनुगमन मूल्यांकन गर्ने कुनै निकाय छैनन् या भएका पनि मृतप्रायः छन् । शिक्षकहरुको आत्मसम्मान र हौसलाको लागि काम गर्ने यो देशमा कुनै निकाय छैन । चुपचाप ‘पाएको जागिर खाने’ मात्र सोच राख्नेलाई त यो पेसा ठिकै भन्न लायक पनि होला ।

तर चरम बेतिथिले भरिएको यो क्षेत्रमा केही सुधारका काम गरौं भन्ने व्यक्तिलाई भने यो पेसा सहज छैन । अझ त्यसमा सृजनशील, इमानदार र प्रष्ट कार्ययोजना भएका व्यक्तिहरुलाई भने पाइलैपिच्छे अवरोधहरु छन् । अनेक थरी व्यक्ति र परिस्थितिसँग जुध्नुपर्छ । अनेक जोखिम मोल्नुपर्छ । यति गर्दा पनि सफलता पाउन मुश्किल छ ।

०००

विद्यालयमा दुई थरी शिक्षकहरु छन् । एक थरि खुला प्रतिस्पर्धाबाट आएका (स्थायी वा अस्थायी) क्षमतावान व्यक्ति छन् । उनीहरु विद्यालयभित्र आएर पनि आफ्नो पेशागत जिम्मेवारीमा सीप, क्षमता र विद्वताको भरपुर उपयोग गर्न चाहन्छन् । अर्कोथरी स्थानीय समुदाय, राजनीतिक दल, नातागोता या अमुक शक्ति केन्द्रको सहारामा भर्ती भएका शिक्षक छन् ।

विद्यालयमा उनीहरुको पहिलो प्राथमिकता शक्तिकेन्द्र रिझाउनु र दोस्रो प्राथमिकता मात्र पठनपाठन गर्नुहुन्छ । सेवा आयोगबाट आएका स्थायी भए पनि उनीहरुले राजनीतिक दल या शक्तिकेन्द्रलाई रिझाएर पेशागत उत्तरदायित्व कम र छलछाम बढी गर्ने प्रबृत्ति बिकास भइसकेको हुन्छ । विद्यालयभित्र जहिल्यै दोस्रो थरी शिक्षकहरु बलियो हुन्छन् । उनीहरुले विद्यालय प्रशासन, व्यवस्थापन, राजनीतिक दल लगायत शक्ति केन्द्रहरुलाई रिझाएका हुन्छन् । कुनै पनि प्रकारका समस्या आइपर्दा उनीहरुलाई सुरक्षा दिने निकाय तयार भएर बसेका हुन्छन् । विद्यालयभित्रका सेवासुविधा र विविध अवसरहरुमा पनि उनीहरुको पहिलो पहुँच हुन्छ ।

०००

सरकारी विद्यालयमा राज्यको अथाह लगानी भएर पनि उपलव्धी न्यून रहेको तर निजी विद्यालयमा सरकारी लगानीविना पनि राम्रो गुणस्तर देखिइरहेको भनेर वर्सेनि सरकारी विद्यालयको आलोचना हुने गरेको छ । सतही रुपमा हेर्दा यो तथ्य सही जस्तो लागे पनि अन्तर्यमा यस्तो छैन । विद्यालय सञ्चालनका लागि लगानी पहिलो सर्त हो । लगानी सरकारबाट आयो की अन्य कुनै माध्यमबाट आयो, त्यो महत्वपूर्ण कुरा होइन । आज पनि अधिकांश सरकारी विद्यालयहरुमा यथेष्ट लगानी छैन । अधिकांश सरकारी विद्यालयहरु आर्थिक अभावमा धरासायी छन् ।

एक सानो तथ्य यहाँ उल्लेख गर्नु सान्दर्भिक छ । धनगढीमा रहेको एक औसत दर्जाको निजी विद्यालयमा करिब १५ सय विद्यार्थीहरु छन् । विद्यालयका सञ्चालकका अनुसार विद्यालयको वार्षिक आम्दानी तीन करोडभन्दा बढी हुन्छ । पहिलो श्रेणीका मानिएका विद्यालयहरुमा त आम्दानी अझै बढी छ । तर धनगढीमा रहेका सरकारको नमुना विद्यालय निर्माण विशेष योजनाअन्तर्गत परेका एकाध विद्यालय बाहेक कुनै पनि विद्यालयमा राज्यको लगानी डेढ करोडभन्दा बढी छैन । निजी विद्यालयहरुमा सुविधसम्पन्न प्रयोगशालाहरु निर्माण गरिएका छन् ।

यथेष्ठ शैक्षिक सामग्रीहरुको व्यवस्थापन गरिएको छ । सूचना सञ्चार प्रविधिको राम्रो व्यवस्थापन गरिएको छ । तर, सरकारी विद्यालयहरुमा वर्षौ पहिले बनेका जिर्ण घरहरु छन् । तिनमा न प्रयोगशालाको उचित व्यवस्था छ न त शैक्षिक सामग्रीहरुको व्यवस्थापन नै छ । निशुल्क शिक्षाका नाममा विद्यार्थीबाट शूल्क उठाउन नपाइने व्यवस्था छ ।

०००

रकारी शिक्षकहरुलाई लाग्ने गरेको अर्को आरोप हो – निजि विद्यालयभन्दा बढी तलबभत्ता खान्छन् तर नतिजा राम्रो दिदैनन् । यो सरासर गलत भनाई हो । चाहे सरकारी होस् या निजी विद्यालय, दुवैतिरका अधिकांश बालकालिकाहरुले अंग्रेजी, गणित र विज्ञान विषयलाई अप्ठेरो विषयको रुपमा लिइरहेका हुन्छन् । सरकारी विद्यालयमा पनि अन्य विषयमा अधिकांश विद्यार्थीहरुको सिकाई उपलव्धी राम्रो देखिन्छ । यी तीनै विषयमा अधिकांश विद्यार्थी अनुत्तिर्ण हुने गरेका छन् ।

यिनै विषयका शिक्षकले बढी मेहनत गर्नुपर्ने हुन्छ । यी विषयका शिक्षकहरु बढी योग्य, दक्ष र सक्रिय चाहिन्छन् । तर निजी विद्यालयमा ती विषयका शिक्षकहरुले पाउने पारिश्रमिकको तुलनामा सरकारी विद्यालयका शिक्षकले पाउने पारिश्रिमिक ज्यादै न्यून छ । त्यसको भुक्तभोगी यो पंक्तिकार आफै पनि हो ।. स्थायी सेवामा प्रवेश गर्नुपूर्व यो पंक्तिकार अत्तरिया कैलालीस्थीत प्रदेशकै ठूलो मानिएको एक सरकारी विद्यालयमा कार्यरत थियो ।

त्यहाँ रहँदा दैनिक नौ दश पिरियडसम्म पढाउँदा जुन पारिश्रमिक पाइन्थ्यो त्यसको दोब्बर पारिश्रमिक निजी विद्यालयका शिक्षकहरुले पाउँथे । देशभरका सामुदायिक र निजी विद्यालयका शिक्षकहरुको अवस्था पनि करीब यस्तैयस्तै छ ।

०००

अन्य सरकारी सेवाको तुलनामा शिक्षण पेसालाई राज्यले नै उपेक्षा गरेको छ । अन्य सबैजसो सेवामा सेवाकर्मीहरुको पेशागत विकासको यथेष्ट अवसर हुन्छन् । स्वचालित सरुवा प्रणाली हुन्छ । कुनै निश्चित स्थानमा निश्चित समय सेवा गरेपछि बिस्तारै सुगम र चाहेको स्थानमा सरुवा गर्न सकिने व्यवस्था छ । तर नियुक्ति पाएर कुनै ठाउँमा पुगेको शिक्षक कति वर्ष उक्त स्थानमा अल्झिनुपर्ने हो, कुनै ठेगान हुँदैन ।

विकट क्षेत्रमा पुगेका शिक्षकहरु वर्षौंसम्म सोही ठाउँमा बस्दाबस्दा मानसिक रुपमा विक्षिप्त भइसकेका हुन्छन् । अन्य सरकारी क्षेत्रमा निश्चित समय अवधि सेवा गरे पश्चात व्यक्तिको बढुवा हुन्छ, व्यक्तिले माथिल्लो तहको सेवासुविधाका साथै कार्यअधिकार पाउँछ । तर एक पदमा नियुक्ति पाएको शिक्षक जतिसुकै सेवा गरे पनि र जतिसुकै योग्य भए पनि माथिल्लो ओहोदामा जान पाउँदैन । तलबी बढुवाको अवसर पनि नगन्य मात्रामा छ ।

नियुक्ति पाएका शिक्षकले सोझै कक्षकोठामा प्रवेश गर्नुपर्छ र शिक्षण कार्य सुचारु गर्नुपर्छ, न सेव ाप्रवेश तालिमको व्यवस्था छ, न सेवाकालीन तालिमको व्यवस्था छ न त व्यक्तित्व विकासका कुनै अन्य तालिमको व्यवस्था छ । बढुवा प्रक्रियामा काम लाग्ने नाम मात्रको पेशागत विकास तालिमको कर्मकाण्डबाहेक क्षमता विकास गर्ने कुनै तालिमको व्यवस्था शिक्षकलाई छैन ।

कहिलेकाँही कुनै निकायले दिने सानातिना तालिममा पनि शिक्षकहरुलाई राजनीतिक आस्था र सक्रियताका आधारमा अवसर उपलव्ध गराउने गरिएको तीतो यथार्थ छ ।

०००

समय नीकै परिवर्तन भइसकेको छ । हिजोको ज्ञान सीप तथा विधि प्रक्रियामा व्यापक परिवर्तन आएको छ । एकातिर ज्ञानको दायरा फराकिलो भएको छ भने अर्कोतिर सिक्ने तथा सिकाउने शैलीमा पनि व्यापक परिवर्तन आएको छ । नयाँ पुस्ताको व्यक्ति भएको आधारमा धेरथोर विधि प्रक्रिया सिक्ने प्रयास पनि गरिएको छ र अझ धेरै थोक सिक्ने लालशा पनि छ ।

तर विद्यालयमा सिकेकै ज्ञान सीपको प्रयोग गर्ने वातावरण छैन । नयाँ ज्ञानसीप आर्जनको अवसर त परै जावस सिकेकै ज्ञानसीप पनि बिस्तारै बिर्सिदै गइरहेको महसुस हुन्छ । यस्तै अवस्था रहिरहे निकट वर्षहरुमै ज्ञानसीप बिनाको बुच्चो मूर्ति भइएला भन्ने डर छ । यो पीडा पंक्तिकारको मात्र होइन, यो पुस्ताका अधिकांश नवप्रवेशी युवा शिक्षकहरुको साझा पीडा हो । हाम्रा अधिकांश सरकारी विद्यालयमा ज्ञान, सीप, क्षमता र इच्छाशक्ति भएका नवप्रवेशी जनशक्तिलाई सदुपयोग गर्ने न परिस्थिति छ न त नीति नै । अथाह उर्जा र उत्साह बोकेर विद्यालय प्रवेश गरेका अधिकांश युवाहरु दुईचार वर्षमै शिथिल र निराश भइसक्छन् ।

०००

आजको विद्यालय शिक्षण सिकाई प्रक्रिया नितान्त ‘मोटिभेसनल’ हुनुपर्ने मान्यता संसारभर छ । तर, हाम्रो देशका अधिकांश शिक्षकहरु आफै मोटिभेटेड छैनन् । शिक्षक मोटिभेट हुने कुनै अवसर र व्यवस्था विद्यालयहरुमा छैनन् । निरन्तर डिप्रेस्ड मनस्थिति लिएर कक्षामा प्रवेश गर्ने शिक्षकहरु कसरी बालबालिकाहरुलाई मोटिभेट गर्न सक्छन् । राज्यसँग शिक्षकहरुलाई मोटिभेटेड र उत्साहित बनाउने न कुनै संयन्त्र छ न त कुनै नीति नै छ ।

शिक्षा क्षेत्रमा देखिएको हरेक समस्याहरुको दोष जति निराश शिक्षकहरुको टाउकोमा थुपारेर काममा खटिएका शिक्षकहरुलाई झनै हतोत्साहित बनाउने र शिक्षा क्षेत्रलाई झनै दयनीय बनाउने काम सरोकारवालाहरु गरिरहेका छन् । वर्तमानमा हप्तैपिच्छे ग्रामीण क्षेत्रका सरकारी विद्यालयमा शिक्षक आवश्यकताको विज्ञापन देखिन्छन् । अझ एकै विद्यालयका एकै विज्ञापन दसौं पटक खोल्नुपरेको र पनि शिक्षक नपाइएको तीतो तथा डरलाग्दो यथार्थ हाम्रा सामु छ ।

आज सरकारी विद्यालयमा मात्र काम गरेर पाइने पारिश्रमिकले कुनै शिक्षकको पारिवारिक जीवन व्यवस्थित रुपमा चलाउन सम्भव छैन । आज युवाहरु खाडीमा गएर उच्च तापक्रममा पसिना बगाउन उत्साहित छन् तर शिक्षक बनेर देशकै विद्यालयमा काम गर्न तयार छैनन् । तर, यति डरलाग्दो तथ्यहरुलाई पनि सरोकारवालाहरुले अझै गम्भिरतापूर्वक लिएका छैनन् । यसको कारणको खोजी कस्ले र कहिले गर्ने ? विकसित देशको शिक्षा नीति र त्यहाँ शिक्षकलाई दिइने सेवासुविधा तथा व्यक्तित्व विकासको अवसरहरु के–कस्ता छन् ? विकासको दु्रततर गतिमा रहेका र निकट भविष्यमै विश्वको महाशक्ति बन्ने लक्ष्य लिएका दुई छिमेकी चीन र भारतको शिक्षा प्रणाली कसरी व्यवस्थापन गरिएको छ ? र शिक्षण पेसालाई कसरी मर्यादित बनाइएको छ ? भन्ने उदाहरण मात्रै मनन् गर्ने हो भने यो क्षेत्रका धेरै समस्या समाधान हुन सक्छन् ।

विद्यालय शिक्षा असल र सबल भए त्यहीबाट भविष्यको लागि दक्ष जनशक्ति उत्पादन हुने हो । राज्यको उपल्लो तहदेखि विद्यालयको कक्षाकोठासम्म विद्यालय शिक्षामा भूमिका भएको एक दर्जन बढी निकायहरु छन् । तिनै मध्येको एक र सोपान क्रममा सबभन्दा तलको एक निकाय हो शिक्षक । विद्यालय हाताभित्र मात्रै विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालय प्रशासन, अभिभावक र शिक्षकको प्रत्यक्ष सक्रियता र उत्तरदायित्व रहेको हुन्छ । विद्यालय शिक्षा र सिकाई उपलव्धी सुधारमा यी सबै निकायको बराबर भूमिका हुनुपर्ने हो । तर, चौतर्फी दवाव र प्रश्नको घेराभित्र शिक्षक मात्र हुन्छ ।

शिक्षक केवल एक साधन हो । अन्य निकायहरुले आ–आफ्ना जिम्मेवारी अनुरुप तयार गरिदिएको विद्यालय हाता र कक्षाकोठाको तयारी वातावरणमा उसले आफ्नो प्रस्तुति राखिदिने हो । तर उपयुक्त वातावरण निर्माणमा शिक्षकको भूमिका न्युन हुन्छ । माथिल्ला जिम्मेवार निकायले सिकाइको उचित वातावरण तयार नगरिदिदा शिक्षकहरुको प्रयास मात्रले नतिजा राम्रो देखिएको छैन । त्यसैले आजको दिनमा विद्यालय शिक्षासँग सरोकार राख्ने सबै निकायले आफ्नो जिम्मेवारी उचित तरिकाले पूरा गर्नु आवश्यक छ । त्यसो भएमा मात्र शिक्षकले पढाएको र नतिजा राम्रो आएको देखिनेछ । नत्र भने विद्यालयको समस्या जहाँको तही हुनेछ । खाली एउटै प्रश्न दोहरिरहनेछ – सरकारी मास्टरहरु किन पढाउँदैनन् ?

प्रतिक्रिया