ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढी टू गड्सेरा

शनिबार ०४, असोज २०८२ ११:०८

कस्तो अचम्म ! विज्ञान प्रविधिले सञ्चारको दुनियाँमा अपत्यारिलो चमत्कार गरिदिए जस्तो लाग्छ । फेसबुक खोलेको मात्र के थिए, इन्बक्समा भएका मेसेजहरु मेरा नजरसम्म पुग्न तछाडमछाड गरिरहेका थिए । डोकोबाट बाहिर निस्कन लागेका बाख्राका पाठाहरुजस्तै । ‘गडसेरा जाने हो’ तिर्थको मेसेज मेरो नजरमा परेर मानसपटलमा घुमिरह्यो । 

‘गडसेरा’ शब्दले नै मेरो मगजमा सुन्दर आकृति खिचिसकेको थियो । १० वर्षभन्दा पहिलेको गडसेराको चित्र मेरो मानसपटलको आँगनमा खेलिरहेको थियो । यो मन आँतुर थियो, गड्सेराको सुन्दरतामा रम्न । बनैया पक्षीहरुसँग मितेरी गाँस्न । धेरै सोच्नै भ्याइएन । मेरा औँलाहरु कम्प्युटरको किबोर्डमा लम्किसकेका थिए । र टाइप गरिदिए ‘यस’ । त्यसपछि सुरु भयो गड्सेराको यात्राको श्रीगणेश । लक्ष्मीले ग्रुप च्याट सुरु गर्‍यो । ‘धनगढी टु गड्सेरा’ । १० जना साथीहरुको ग्रुप बन्यो । मुकुन्दे, लक्ष्मी, तीर्थे, रमेश, टेकराज, चन्द्र, प्रेम, दिनेश, विकास र म । ग्रुप च्याटमा दैनिक कम्युनिकेशन हुन्थ्यो । कहिले जाने ? कसरी जाने ? के के लैजाने ? 

हाम्रो कुलदेवताको पूजा हुने अवसर । बसन्त ऋतुको याम । काफल र ऐँसेलुको स्वाद चाख्न पाइने मौसम । एक काम दुई पन्थ हुने । आफ्नो कुलदेवता केदार भागेश्वरको पनि पूजा हुने, जन्मस्थान गड्सेराको पनि भ्रमण गर्न पाइने । सबैको मन चञ्चल र आँतुर थियो । डेट फिक्स भो २०७२ साल वैशाख १८ गते । 

जति गड्सेरा जाने दिनहरु नजिकिदै थिए, त्यति नै यो मन चञ्चल र उत्साहित बन्दै गइरहेको थियो । धनगढी बसपार्कबाट १० ओटा टिकेट बुक ग¥यौँ । कुलदेवताको पूजाको लागी पूजा सामग्री खरिद ग¥यौँ । बाटोको लागी केही ड्राई फूड खरिद ग¥याँै । गाउँले भाइबहिनीहरुको लागि केही चकलेट बिस्कुट प्याक ग¥यौँ । 

ठ्याक्कै १२ वर्ष भइसकेको थियो गड्सेरा नफर्किएको पनि । कक्षा १० को टेष्ट परीक्षा दिएर आइसकेपछि गड्सेरा जाने लगन नै जुरेको थिएन भनौँ । धेरै पटकको प्रयासपछि यसपाली म लगभग जान ठिक्क भइसकेको थिए । पटकपटक टिकट समेत क्यान्सिल गर्नुपरेको थियो । तर, यसपाली त्यस्तो लक्षण केही थिएन । सबै कुराको व्यवस्थापन गरिसकेको थिए । जीवन यस्तै रहेछ, अनायासै के के हुन्छ । जान्छु भनेर पनि कति पटक जान सकिएन । कुनै पूर्व योजना बिना नै यसपटक गड्सेराको यात्रा तय गरिसकेको थिएँ । मन चङ्गा भईसकेको थियो । हुन त भौतिक रुपमा यो शरीर धनगढीमा भए पनि मन त प्रत्येक पल गड्सेरामै घुमिरहेको हुन्थ्यो । त्यहीँको हावामा उडिरहेको हुन्थ्यो । गड्सेरी गाडमा पौडी खेलिरहेको हुन्थ्यो बनैया पिङ्हरुमा झूमिरहेको हुन्थ्यो । 

धनगढीमा क्रमशः गर्मी बढिरहेको थियो । सडकको किनारमा ठेलामा आइसक्रिम राखेर ग्राहक पर्खिरहेको दृश्य बाक्लिदै थिए । मान्छेले सफा गर्न नसकेका फोहोर प्रकृति आफैले आँधीहुरी बनेर सघाईरहेकी थिई । फाट्टफुट्ट रुपमा छाता ओढेर निस्कने पैदल यात्रुहरुको संख्यामा पनि उकालो लागिरहेको थियो । एक दुई गर्दै दशै जना धनगढी बसपार्क पुग्यौँ । सबैको ओठमा मुस्कान छाइरहेको थियो । अनुहारमा नयाँ चमक पनि । एक जोडी आँखामा बेग्लै उत्साह र उमंग दौडिरहेको थियो । सबैको काँधमा एउटा एउटा झोला । तिर्थे र लक्ष्मीको कानमा एयरफोन । रमेशको घाँटीमा ठूलो क्यामरा । 

गाडीले लामो हर्न बजायो । सायद बसपार्कबाट गन्तव्य तिरको संकेत थियो । आ–आफ्नो सिटमा बस्यौँ । बिस्तारै गाडीले गति लियो । यात्रुहरुको खचाखच भिड थियो । चुईगम चपाएर प्याट्ट–प्याट्ट गरिरहेका केही युवकहरुले दिक्क लगाउँथे । 

तराईको समथर मैदानलाई छोडेर गाडीले पहाडको बाटो सुरु ग¥यो । गोदावरीमा भगवान्लाई ढोग्यौँ र मनमनै सुरक्षित यात्राको लागि पनि कामना र प्रार्थना ग¥यौँ । गोदावरीका घुम्तीहरुमा यात्रा गरिरहँदा सुदूरपश्चिम महोत्सवमा चर्खा खेलेको भान हुन्थ्यो । जति जति बसले पहाडतिरको उकालो नाप्थ्यो उति उति चिसो हावाले बसको झ्यालबाट चिमोठ्ने सुरु गथ्र्यो । त्यसबेलाको आनन्द नै बेग्लै । हाम्रा नजरहरु झ्यालको सिसाबाट प्राकृतिक सुन्दरताको रस्वादन गर्नमा अभ्यस्त थिए । सडकको किनारमा देखिने हरिया रुखहरु हिडिरहेको जस्तो लाग्ने । तराईको तातो हावा विस्थापित भएर बनैया बोटवृक्षबाट निस्कने मिठो सुगन्ध सहितको ठण्डा ठण्डा हावाले हाम्रो यात्रालाई आनन्दायी बनाइरहेको थियो । सबै मौन थियौँ । सायद गोदावरीको घुम्तीहरुमा मन्त्रमुघ्न थियौँ । ड्राइभरले म्युजिक सुरु गरे । ऐंसेलु किन्भडी झुल.... फुलिरयै प्याउली फुल...... र अकस्मात कतैबाट नमिठो गन्ध आयो । नजरहरु डुलाएँ । विकासले त सुरु गरिसकेछ क्या । तराईमा खाएको कुनै पनि खानेकुरा पहाड नलग्ने रे । लगातार बान्ता गरिरहेको थियो । बसको यात्रा खासै फाप्दैन उसलाई । हैरान देखिन्थ्यो । शरीर शिथिल । उसलाई समर्थन गरेर पछाडीको सिटमा पनि एक दुई जना म्युजिकको तालमा झ्याल बाहिर छाँदिरहेका थिए । मोसन सिक भएर होला । विकासलाई ल्वाङ सुकमेल मुखभित्र राख्न सल्लाह दियौँ । केहि शान्त भयो । गोदावरीको उकालो काटेर बुढितोलाको सडकमा छाप्राहरुमा धुँवा फुस्फुसाइरहेको देखिन्थ्यो । ‘समुन्नत बाख्रा पालन समूहमा आएर केही अध्ययन अनुसन्धान गरेका थियौँ । खानीडाँडामा बस रोकियो । ‘सापकोटा चिया नास्ता पसलमा’ चिया नास्ता ग¥यौँ । बसले गति लियो । भासुको भिरमा बस गुडिरहँदा यो मनभित्र कताकता डरले सवार गरिरहेको रहेछ । सडक किनारमा दुर्घटनामा ज्यान गुमाएका ड्राइभरको नाममा कहीँ कतै स्तम्भ बनाइएका देखिन्थे । धेरै पटक यहि सडकमा थुप्रै सडक दुर्घटना भएको सुनेको थिएँ । तर आजकल सडकको स्तरोन्नती भएको रहेछ । यस्तो डरलाग्दो भिरमा समेत सडक पु¥याउने अज्ञात इन्जिनियर र कामदारलाई सम्झेँ । 

सहजपुरको सल्लाघारीमा बस ओरालो लाग्यो । सल्लाको पातहरु खसेर सडक किनार कार्पेट विछ्याए जस्तो देखिन्थ्यो । लाग्थ्यो, प्रकृतिले रातो कार्पेट विछ्याएर पाहुनालाई आफ्नो आँगनमा स्वागत गरिरहेछ । सल्लाको रुखबाट खोटो चुहिरहेको देख्दा बाल्यकालमा आफ्नै नाकबाट चुहिरहने सिगानलाई सम्झेर मनमनै हाँसे पनि । 

केहिछिनको ओरालो सिध्याएर गुरुजीले स्टेरिङ दाँया घुमाए र सुरु भयो सहजपुर विपीनगर सडकखण्ड । पिच रोड सिद्धिसकेको थियो । ग्राभिल सडकमा गाडी गुडिरहँदा बसभित्र शरीरले विभिन्न शास्त्रीय नृत्य देखाइरहेको हुन्थ्यो । खलासीले पेनड्राइभ निकाले र घन्कियो ड्राइभरको बाटोमा धुलो उडाउँदै ...। तिर्थे र रमेश उफ्रिउफ्रि नाचिरहेका थिए । तर कसैकसैलाई बसको यात्रा पट्यार लागिरहेको पनि स्पष्ट लख काट्न सकिन्थ्यो । कोहीकोही हाई काट्दै अल्छी मानिरहेका थिए । सबै यात्रुतिर नजर डुलाइरहँदा अकस्मात् एउटा दृश्यले मेरोे ध्यानाकर्षण गरायो । पछाडीको सिटतिर एउटा नव विवाहित जोडी मायाका सौगात साँटासाँट गर्नेतिर व्यस्त थिए । मेरो मनभित्र पनि नजाँनिदो पारामा बिहे गर्ने चाह पलाएर आयो । र सम्झिएँ दुलहा भएर मण्डपमा घुमिरहेको । दिवास्वप्नको धरातलमा पौडिरहेको भेट्टाएँ । कल्पना गर्न थाले विवाह पश्चातको हनिमुन पिरियडको । कुन ठाउँ रोज्ने होला मेरी उनीको लागी । नैनीताल, पोखरा, ईलाम नगरकोट, गोदावरी, सौराहा, खप्तड थुप्रै ठाउँहरुले एकै पटक डेरा जमाए । एक्ल एक्लै रमाएँ आफ्नै कल्पनाको संसारमा । 

चन्द्रले चुट्किला भट्याइरहेको थियो । मुकुन्दे उट्पट्याङ गरिरहन्थ्यो । प्रेम र दिपकको मुखबाट हाँसोको फोहोरा निस्किरहन्थ्यो । समूहमा यात्रा गर्दाको मजै बेग्लै हुने । विकास पनि सामान्य देखिन्थ्यो । भरतपुरमा कसैले गाडी रोक्ने ईशारा ग¥यो । गुरुले गियर घटाए, ब्रेक लगाए । एउटा मानव आकृतिमै मेरो एक जोर नजर टक्क गएर अडिए । मबाट केहि इन्चको दुरीमा मात्र थिई । ऊ कफी कलरको टिर्सट र सेतो हाफ पाईन्ट लगाएर उभिएकी थिई । बिछट्ट राम्री लाग्न थाली । ओठमा अनारको रसजस्तै कलरको लिपिस्टिक थियो । गर्धनसम्म मात्र झुलेको छोटो कपाल फुक्का छाडिएको थियो । म नर्भस भएँ । मेरै सिट नजिक उभिई ऊ । दाँत टलक्क टल्कने गरी हाँसिरहेकी थिई । हाँस्दा दायाँ गालामा डिम्पल पथ्र्यो । शरीरबाट सुन्तलाको सुगन्ध आइरहेको थियो । हेरिरहेँ एकनाशले उनैलाई । ‘एक्सक्युज मी, अलिकति सिट सेयर गर्न मिल्छ की ?’ 

मेरो मनकै कुरा बोली ऊ । मैले भन्नुभन्दा अगाडि नै भनिसकि । रमेश र म कोच्चिएर बस्यौँ । पुरै शरीर कम्पायमान भयो । सहज हुन प्रयास गरेँ । दाँयातिरबाट रमेश चिमोठिरहेको थियो । पछिल्लो सिटबाट मुकुन्देले आफ्नो आदत जनाइहाल्यो । कतिबेला टुप्पी तानिदिन्थ्यो त कतिबेला स्याउको दानामा पानको पात बनाएर देखाउँथ्यो । जे होस् केटाहरुले मसला पाएका थिए । गुरुले गीत चेन्ज गरेँ । लाग्छ मन हेरिरहुँ एकनास तिमीलाई ....। 

बसभित्रको माहोल भिन्न भयो । मेरै मनभित्रको गीत जस्तो । मेरै लागि कसैले प्रिफर गरेको । बस आफ्नो गतिमा गुडिरहेको थियो । ठाउँठाउँमा स–साना खहरे खोलाहरुले यात्रामा केही तिक्तता त केही आनन्द ल्याउँथ्यो । खाल्डाखुल्डीमा बस जम्पिङ हुन्थ्यो । ‘ऐया र आच्छु’ गर्दै यात्रुहरु कराउँथे । मलाई त यस्तै खाल्डाखुल्डी रमाईलो लागिरहेको थियो । 

परिचय गर्ने मौका खोज्दै थिएँ । सोचेँ यहि मौका हो सुरुवात गर्ने । मन बलियो बनाएँ । भएभरको साहस जुटाएँ । र ओठ खोलेँ, ‘अप्ठेरो त भएन ?’ मोबाइलबाट नजर सार्दै मेरा आँखामा आँखा जुधाइन् । सायद आँखाबाटै जवाफ दिन चाहन्थिन उनि । मैले बुझ्न सकिन । 

‘नाइँ, बरु तपाईलाई पो दुःख दिएँ है ।’ मन्द मुस्कान सहित मेरो प्रश्नको जवाफ फर्काइन् । दुःख त कति पाएको थिएँ । मलाई मात्र थाहा थियो । तर कृत्रिम हाँसो हाँसे, ‘छैन छैन, ठिकै छ, अब त अलिकति त हो विपीनगर पुग्न ।’ मुकुन्देले झोलाबाट पूजाको लागि ल्याइएको फूल मेरो हातमा थमायो । उनी आफ्नै मोबाईलमा अभ्यस्त थिइन् । 

समय समयमा कहीबाट मेसेज आइरहेको संकेत मेसेज टोेनले दिन्थ्यो । र, सँगै ओठहरु अलिकति खुल्थे मुस्कान छर्न । ढोकाबाट भित्रिने चिसो बतासले उनको फुक्का कपाल मेरो अनुहारसम्म ल्याएर छोडिदिन्थ्यो । सुन्तला कलरको नेलपोलिस लगाएका औँलाहरु मेरो अनुहारसम्म आउन प्रयास गरिरहँदा उनका कपाल फेरि यथास्थानमा फर्किसकेका हुन्थे । र यस्तै लुकामारी चलिरहेको थियो । केटाहरुले के-के भनेर जिस्काए मैले सुन्नै भ्याइन । मुकुन्देले आफ्नो सिमै नाघिसकेको रहेछ । मेरो मन त अहिले अर्कैतिर थियो । अब त नाम सोध्छु भनेर मनमनै सोच्थे तर उनको मोबाइल व्यस्ततालाई भङ्ग गर्न सक्ने आँट जुटाउन सकिन । झिलिक्क लाइट बल्यो । मुकुन्देले क्यामेरामा हाम्रो तस्विर कैद गर्न भ्याइसकेछ । उनी पनि झस्याङ भइन् । एउटा अनौठो मुस्कानमा मलाई लठ्ठयाउँदै पुनः मोबाइलमै व्यस्त रहिन् । 

सडक किनारामा बाख्रा चराउन गईरहेका केटाकेटी देख्दा मलाई आफ्नै बाल्यावस्थाको याद आउँथ्यो । हामी आजको गन्तव्यको नजिक पुगिसकेको संकेत ठूलीगाडले गरिसकेकी थिई । नभन्दै गाडी रोकियो । सबैजना आ–आफ्ना पोका पुन्टुरा बोकेर शरीर तन्काउँदै बाहिर ओर्लिए । ‘थ्याङ्क्यु फर शेयरिङ अ सिट’, अंग्रेजी लवजमा धन्यवाद दिदैँ उनी त्यही यात्रुहरुको भिडमा अलप भइन्, मेरो प्रतिक्रियाको आशै नगरी । जिउ भारी थियो तर मन चरा भईसकेको थियो । र पखेटा खोलेर उड्न थाल्यो उनैको खोजीमा । सकेन भेट्टाउन उनलाई । छट्पटाइ रह्यो धेरैबेरसम्म यो मन । पोखरीबाट बाहिर निकालेको माछा झैँ तिर्थे जिस्क्याउँथ्यो, के हो रे, गड्सेरा जाने हो कि यतै कतै ...? 

‘छोडिदे यो कुरा ।’ यत्ति भन्न सकेँ । सुर्यले दिन ढल्किसकेको संकेत गरिरहेको थियो । हाम्रो यात्रा आधा मात्रै पूरा भएको थियो । सल्लाह ग¥यौँ । त्यो रात विपीनगरमै बिताउने पक्का भयो । विष्ट होटेल बुक ग¥यौँ । झोलाहरु राखेर एकछिन फ्रेस भयौँ । चाउचाउ अर्डर ग¥यौँ । गड्सेराको पानी मिसिएको चाउचाउको स्वाद नै मिठो । बेग्लै आत्मानुभूति भयो ।

टेकराजको नुहाउन जाने प्रस्ताव राख्यो । ‘वाओ’ विकास पनि उफ्रियो । लाग्यौँ सबैजना ठूली गाडतिर । चिसो पानी, सेता चिप्ला ढुङ्गा, निलो सफा ताल, कुनै सहरको रङ्गीचङ्गी स्विमिङ पुल, भन्दा कम सुन्दर थिएन त्यो । खुब रमायौँ । वर्षौ देखि तराईको गर्मीमा गलेको शरीरमा नयाँ उर्जा प्रवेश भयो । शरीरका प्रत्येक अंगप्रत्यङ्ग चलायमान भए । गल्कुडी तालमा पौडी खेल्दाको पल ताजा भएर आयो । जिस्कियौँ खुब । स्वतन्त्र थियौँ । मनभित्रको बालापन उम्रिएर आयो र एकपलको लागि बिर्सिदियौँ आफूहरु बयस्क नागरिक हो भनेर । मात्तियौँ एकपल प्रकृतिको काखमा । गड्सेराबाट बगेर आएको पानीमा खुब खेल्यौँ नाच्यौँ । अहिलेसम्मका सम्पूर्ण दुःख, तनाव, बिर्सिसकेका थियौँ । 

प्रतिक्रिया