ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

शान्ता चौधरीको प्रश्न – शैक्षिक संस्थाका नाममा धेरै जमिन किन चाहियो ?

सोमबार २२, बैशाख २०८२ १२:५२

टीकापुर । कैलालीको टीकापुरमा आयोजना हुने भूमि अधिकार तथा श्रमिक संगठन नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । संगठनले आज टीकापुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा तयारी पूरा भएको जानकारी दिइएको छ । 

नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा संगठन अध्यक्ष शान्ता चौधरीले महाधिवेशनको एक समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने जानकारी दिइन् । उनले प्रधानमन्त्री ओलीकै चाहनाअनुसार महाधिवेशन टीकापुरमा आयोजना गरेको बताइन् । 

उनले टीकापुरमा भूमिको समस्या धेरै रहेकाले प्रधानमन्त्री ओलीले नै यस्तो चाहना राखेको बताउँदै समस्या समाधानका लागि महाधिवेशन सहयोगी बन्ने विश्वास व्यक्त गरिन् । 

उनले सरकारले १० वर्षदेखि लगातार एउटै ठाउँमा बस्दै आएको व्यक्तिलाई सोही जग्गा उपलब्ध गराउने गरी सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि ऐन ल्याउन लागेको जानकारी दिइन् । 

उनले टीकापुर बहुमुखी क्याम्पसको जग्गा कब्जा गरेर बसेकाहरुलाई सोही जग्गा दिनुपर्ने बताइन् । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतको टीकापुर क्याम्पसको तीन सय विगाह जमिन विगत दुई दशकदेखि कब्जामा रहेको छ । 

उनले मान्छेको बसोबासको ठेगान नभएको बेला संस्थाका नाममा यतिधेरै जमिन राख्न नहुने तर्क गरिन् । ‘यहाँ मान्छेलाई बसोबासको ग्यारेन्टी छैन । शैक्षिक संस्था र मन्दिरका नाममा किन यतिधेरै जमिन चाहियो,’ उनले भनिन्, ‘पहिलो कुरो मान्छेको बसोबासको ग्यारेन्टी हुनुपर्छ ।’

उनले यसरी जमिन वितरण गर्दा भूमिहिन र सुकुम्बासीहरुको वास्तविक पहिचानको खोजी हुन जरुरी रहेको बताइन् । उनले वास्तविक भूमिहिन र सुकुम्बासी मात्रै जग्गाको हकदार भएको बताइन् ।  

उनले महाधिवेशनमा ६४ जिल्लाका छ सय बढी प्रतिनिधिहरु सहभागी हुने बताइन् । उनले प्रतिनिधिहरु टीकापुर पुग्न सुरु भइसकेको जानकारी दिइन् । उनले स्थानीयको सहयोगमा प्रतिनिधिहरुको आवास र भोजनको व्यवस्थापन भइरहेको बताइन् । 
‘समृद्ध नेपाल सुखी नेपालीका लागि वैज्ञानिक भूमिसुधार ः गैर संगठित श्रमिक तथा भूस्वामित्वबाट बञ्चितका लागि भूमि अधिकार’ भन्ने नाराका साथ सुरु हुने महाधिवेशन बैशाख २३ र २४ गतेसम्म चल्नेछ । 
 

प्रतिक्रिया