ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
झन् गिजोलियो गभर्नर नियुक्ति

गभर्नरको दौडमा बाजुराका अंगराजको इन्ट्री

बुधबार ३१, बैशाख २०८२ ०५:३२

धनगढी । २४ चैतपछि नेपाल राष्ट्र बैंकमा गभर्नरको पद रिक्त छ । सत्तारुढ दलको सहमतिअनुसार उक्त पद काँग्रेसको भागमा परेको पनि महिना दिन पुगिसकेको छ । तर, गभर्नर नियुक्ति भने झनझन् गिजोलिदै गएको छ । 

गभर्नर आफ्नो भागमा परेपछि काँग्रेसले सुरुमा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको नाम अगाडि सारेको थियो । राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंगानाले उनको राजीनामा स्वीकृत गरिनन् ।

तीन सातासम्म कुरेको काँग्रेसले भट्टको विकल्प खोज्दै डा. विश्व पौडेललाई गभर्नर नियुक्त गर्न प्रस्ताव नै गरेको छ । तर, उनको नियुक्ति प्रक्रिया पनि अगाडि बढेको छैन । राजनीतिक दलको सदस्यलाई गभर्नर नियुक्त गर्न खोजिएको भन्दै पौडेलविरुद्व सर्वोच्चमा रिट दायर भएको छ । 

गभर्नर नियुक्तिको प्रक्रिया गिजोलिनुमा प्रधानमन्त्री केपी शर्मा ओली काँग्रेसलाई गभर्नर दिने मुडमा नहुँनुलाई लिन थालिएको छ । तर, नेपाली काँग्रेस पनि गभर्नर नछोड्ने अडानमा कायम छ । कथंकदाचित पौडेल रोकिने अवस्था आयो भने डा. अंगराज तिमल्सिनाको नाम अगाडि सार्ने तयारी गरेको बताइएको छ । 

अर्थशास्त्री तिमल्सिनाको नाममा यसअघि पनि काँग्रेसभित्र छलफल भएको थियो । संयुक्त राष्ट्रसंघलगायत विभिन्न अन्तर्राष्ट्रिय निकायमा लामो समय काम गरेका तिमल्सिनाको नेटवर्क र उपस्थिति मुलुकलाई ‘ग्रे लिस्ट’बाट निकाल्न सफल हुनसक्ने ब्रिफिङ काँग्रेस नेतृत्वसामु भएको पनि छ । 

बाजुराका तिमल्सिना काँग्रेसभित्र पनि देउवानिकट नै मानिन्छन् । तिमल्सिना काँग्रेसभित्र काविल अर्थशास्त्रीको रूपमा चिनिन्छन् । सोही कारण पौडेलको विषयमा विवाद बढ्दै गएमा तिमल्सिनालाई काँग्रेसले अगाडि सार्न सक्ने अनुमान भइरहेको छ ।

बाजुराबाट विद्यालय शिक्षा पूरा गरेका तिमल्सिनाले अमेरिकास्थित थिंक ट्यांक ¥यान्ड कर्पोरेसनअन्तर्गतको ग्य्राजुएट स्कुलबाट नीति विश्लेषणमा विद्यावारिधि गरेका छन् । त्यहीँ थिंक ट्यांकमा रहेर द्वन्द्वोत्तर मुलुकको पुनर्निर्माणदेखि विकासशील मुलुकहरुको शिक्षा र स्वास्थ्य सुधारका क्षेत्रमा पनि उनले काम गरेका थिए ।

उनले जापानबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर गरेका छन् । उनले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को भ्रष्टाचारविरोधी परियोजनाका ‘ग्लोबल प्रोग्राम एड्भाइजर’का रुपमा पनि काम गरेका छन् । सिंगापुरमा रहेर उनले ६० भन्दा बढी मुलुकलाई सुशासन र भ्रष्टाचार विरोधी मामिलामा सघाउने गरेका थिए । उनी कामको सिलसिलामा विश्वका एक सय बढी देश पुगिसकेका छन् ।

तिमल्सिना काँग्रेसबाट ०७९ सालको प्रतिनिधिसभा निर्वाचन लड्न दाबेदार थिए । तर, त्यहाँ बद्री पाण्डेले टिकट पाए । उक्त निर्वाचनमा विजयी भएका पाण्डे अहिले संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री छन् ।

प्रतिक्रिया