ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
आशाको सञ्चार

कृषि उपजको परनिर्भरता हटाउन उन्मुख त्रिवेणी नगरपालिका

बुधबार १४, जेठ २०८२ १०:४४

धनगढी । ‘मिलौ जुटौ सबै जना, हटाऔं परनिर्भरता’ नारा हो, बाजुराको त्रिवेणी नगरपालिकाको । कृषि उपजमा बढ्दो परनिर्भरतालाई हटाएर आत्मनिर्भर बनाउने योजना छ, त्रिवेणी नगरपालिकाको । सोहीअनुसार नगरपालिकाले आयआर्जन र रोजगार बढाउने कार्यक्रम सञ्चालन गरिरहेको छ । कृषिमा बढ्दै गएको परनिर्भरतालाई न्यूनीकरण गर्दै कृषि उपजमा आत्मनिर्भर बन्ने लक्ष्यअनुसार कृषि क्षेत्रमा लगानी भइरहेको नगरपालिकाले जनाएको छ । 

त्रिवेणी नगरपालिकाको वडा नम्बर ३, ४, ८ र ९ कृषि उत्पादनका लागि उर्वर छ । नगरपालिकाका अनुसार ती वडाको अधिकांश भूभाग बुढीगंगा नदीको तटीय क्षेत्र भएकाले त्यहाँ उत्पादन राम्रो हुने गरेको छ । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवीप्रसाद शाहले नगरपालिकाले ओखर, कागती र तरकारी खेतीमा बढी लगानी गर्दै आएको बताए । ‘विगतमा आफू खानका लागि मात्रै तरकारी खेती हुने गरेको थियो,’ शाहले भने, ‘अहिले स्थानीय कृषकलाई नगरपालिकाले पनि सहयोग गर्न थालेपछि व्यवसायीक रुपमै तरकारी खेती भइरहेको छ । स्थानीय बासिन्दाले कृषिलाई पनि आयआर्जनसंग जोडन थालेका छन् ।’

नगरपालिकामा सडक किनाराको सिञ्चित क्षेत्रलाई तरकारी पकेट क्षेत्र विकास गर्ने कार्य विस्तार गरिएको छ । ती क्षेत्रमा व्यवसायिक तरकारी खेती सञ्चालन गर्न इच्छुक कृषकहरु छनोट गर्दै आवश्यक प्लाष्टीक टनेल, सिँचाइ पाइप, गार्डेन पाइप, आवश्यक अन्य प्रविधि र बीउहरु सहयोग गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत शाहले बताए । प्रविधिसंगै कृषिमा लगानी गर्ने व्यवसायीक किसानहरुलाई प्राविधिक तथा व्यवसायीक योजना सम्बन्धि तालिम समेत प्रदान गरिएको शाहले बताए । 

नगरपालिकाका मेयर कर्णबहादुर थापाले त्रिवेणीको क्षेत्र तकारीसंगै कोदो, मकै र दाल उत्पादनका लागि पनि निकै उर्वर भूमी रहेको बताए । मेयर थापाले नगरपालिकाका विभिन्न क्षेत्रलाई तरकारी पकेट क्षेत्रको रुपमा विकास गरी स्थानीय उत्पादन बढाउने र कृषिलाई मुख्य आर्थिक समृद्धिको आधार बनाउने योजना रहेको सुनाए । 

‘सुदूरपश्चिमकै प्रमुख पर्यटकी क्षेत्रका रुपमा रहेको बडीमालिकामा पुग्ने पर्यटनलाई स्थानीय उत्पादनकै परिकार खुवाउनेमा हाम्रो जोड छ,’ उनले भने, ‘विद्यालयमा पनि दिवा खाजा कार्यक्रम लागु छ । दिवा खाजा कार्यक्रमका लागि हामीले अन्यत्रको उत्पादन खरिद गर्नै छोडिसकेका छौं । स्थानीय उत्पादनकै परिवार दिवा खाजा कार्यक्रममा पनि बन्छ ।’

नगरपालिका भित्रको कृषिका लागि योग्य क्षेत्रका किसानहरुलाई दिर्घकालिन रुपमा कृषि र पर्या–पर्यटन विकासमार्फत दिगो आर्थिक समुन्नतीको आधार तयार गर्ने योजनाअनुसार नगरपालिकाले काम गरिरहेको मेयर थापाले बताए ।

प्रतिक्रिया