धनगढी । आगामी आर्थिक वर्ष २०८२/८३ मा संघीय सरकारबाट स्थानीय र प्रदेश सरकारले ४ खर्ब १७ अर्ब ८२ करोड ५० लाख अनुदान पाउने भएका छन् । चार प्रकारका अनुदानको नाममा संघीय सरकारले तल्लो सरकारमा बजेट दिने छ ।
अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षका लागि सात प्रदेश सरकारले कुल ९७ अर्ब ५६ करोड ४ लाख रुपैयाँ अनुदान पाउने छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले भने १४ अर्ब रुपैयाँ अनुदान पाउने भएको छ । अर्थमन्त्रालयले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटसंग सम्बन्धित अन्तरसरकारी वित्त हस्तान्तरको विवरणमा आगामी वर्ष सुदूरपश्चिम सरकारले १४ अर्ब २० करोड ७२ लाख रुपैयाँ वित्तीय हस्तान्तरण पाउने उल्लेख छ ।
वित्तीय समानीकरण अनुदान आठ अर्ब ९२ करोड ५६ लाख, सशर्त अनुदान चार अर्ब १६ करोड ३० लाख, विशेष अनुदान ५१ करोड ६० लाख र समपुरक अनुदान ६० लाख २६ हजार रुपैयाँ हस्तान्तरण गरिने बताइएको छ ।
यसमध्ये ११ अर्ब १७ करोड ५२ लाख चालु र तीन करोड तीन लाख २० हजार रुपैयाँ पुँजीगत प्रकृतिको रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया