ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

जब ९७ वर्षीया भट्टले नागरिकता पाइन्...

मङ्गलबार २०, जेठ २०८२ १०:२२

दार्चुला सदरमुकाम खलङ्गासम्म आवतजावत गर्न नसक्ने व्याँस गाउँपालिकाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई उनीहरूको घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीको टोलीले अशक्त, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण गरेको हो । व्याँस-६ की ९७ वर्षीया लालुदेवी भट्टले नागरिकता पाएपछि भनिन्, 'घरमै नागरिकता पाइँदोरहेछ, खुसी लागेको छ ।'

जनतालाई घरदैलोमै सेवा पुर्‍याउने उद्देश्यअनुरुप उनीहरूलाई पायक पर्ने स्थानमै पुगेर नागरिता वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी धामीले जानकारी दिइन् । टोलीले व्याँस–३, ४, ५ र ६ का एक सय ६१ जनालाई नागरिकता र दुई सय पाँच जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरेको थियो । नागरिकता पाउनेमा १३८ जना ज्येष्ठ नागरिक र दुई जना अपाङ्गता भएका व्यक्ति थिए । राष्ट्रिय परिचयपत्र वितरणअन्तर्गत १९७ जना ज्येष्ठ नागरिक र पाँच जना अपाङ्गता भएका व्यक्ति छन् ।

व्याँस गाउँपालिकाको आग्रहमा गाउँघरमै पुगेर नागरिकता, राष्ट्रिय परिचयपत्र वितरण गरिएको गाउँपालिका प्रवक्ता उपेन्द्रसिंह धामीले बताए । सदरमुकाम खलंगासम्म आवतजावत गर्न नसक्ने व्यक्तिलाई गाउँमै नागरिकता र राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो ।

गाउँपालिकाबाट सदरमुकाम खलङ्गा आउन एकतर्फी गाडी भाडा मात्र एक हजार रुपैयाँ लाग्छ भने आवतजावत गर्न कम्तीमा तीन–चार हजार रुपैयाँ खर्च गराउनुभन्दा पालिकाले समन्वय गरेर गाउँमै नागरिकता उपलब्ध गराउने व्यवस्था मिलाएको प्रवक्ता धामीले बताए ।

प्रतिक्रिया