धनगढी । सुदूरपश्चिम प्रदेश सभा सदस्य जुनाकुमारी दानीले विकासमा पछाडि रहेको बाजुरालाई आगामी वर्ष बजेटमा विभेद नगर्न सुदूरपश्चिम प्रदेश सरकारलाई आग्रह गरेकी छन् । उनले बजेटमा सधै बाजुरालाई उपेक्षा गर्ने गरिएको गुनासो गरिन् ।
बाजुरामा गत वर्ष कुल बजेटको साढे तीन प्रतिशतमात्र बजेट गएको उल्लेख गर्दै यो वर्षको बजेटमा विभेद नगर्न आग्रह गरिन् । ‘सबैभन्दा विकट जिल्ला बाजुरा हो । गत वर्ष साढे ३ प्रतिशतमात्र बजेट गयो’ उनले भनिन्, ‘यो वर्ष त्यस्तो नहोस् । बाजुराका जनताले भोलि बिद्रोह गर्न सक्छन् । सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
बाजुरामा विकासका प्रशस्त संभावना भएकाले त्यहाँको विकासमा ध्यान दिन पनि दानीले आग्रह गरिन् । उनले नीति तथा कार्यक्रममा केही पुराना र केही नयाँ कार्यक्रम थपिएको बताइन । लगानी तथा विकास सम्मेलन, मुख्यमन्त्री गरिबी निवारण कार्यक्रम, एक जिल्ला एक उद्योगका कार्यक्रम सकारात्मक भएको दानीको भनाइ थियो ।
उनले कृषि, शिक्षा, स्वास्थ्यमा पनि नीति कार्यक्रममा राम्रा विषय समेटिएको बताइन् । ‘नीति तथा कार्यक्रम राम्रो छ । बजेट कार्यान्वयनमा ध्यान दिनुपर्छ । पर्यटन क्षेत्रमा ठूला गौरवका योजनाहरु ल्याउनु पर्छ’ उनले भनिन् ।
सुदूरपश्चिमलाई गरिबीबाट उकास्ने पर्यटन क्षेत्र भएकाले पर्यटनमा ठूला योजना ल्याउन उनले सुझाव दिइन् । बजेटमा प्रदेश सभाका सबै ५३ जना सांसदको सहभागिता गराउन पनि उनले आग्रह गरिन् ।
प्रतिक्रिया