धनगढी । ओपनर लोकेश बमको अर्धशतकमा नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सले पहिलो जित हासिल गरेको छ । बुधवारको दोस्रो खेलमा लुम्बिनीले दिएको १ सय ९२ रनको बलियो लक्ष्य विराटनगरले १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो।
विराटनगरका लागि लोकेश बमले सर्वाधिक ७१ रन जोडे । उनले ४७ बलमा ३ चौका र ६ छक्का प्रहार गरेका थिए । बमको घर सुदूरपश्चिम हो । दोस्रो विकेटका लागि बम र मार्टिन गप्टिलले ६२ रनको महत्वपुर्ण साझेदारी गरेका थिए । गप्टिलले १७ बलमा ६ चौकाको सहयोगमा २८ रन जोडे ।
क्रिस सोलले ४ बलमा नट आउट १४ रन बनाए । लुम्बिनीका लागि दुर्गेश गुप्ताले ३ तथा साद विन जाफर र रामोन सिमन्सले समान २ तथा विवेक यादवले १ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रनको बलियो योगफल तयार गरेको थियो ।
लुम्बिनीका लागि कप्तान रोहित पोडेलले सर्वाधिक ४६ रन बनाएका थिए । विराटनगरका लागि इस्मात आलम, कप्तान सन्दीप लामिछाने र राजेश पुलामी मगरले समान १ विकेट लिए । विराटनगरले लुम्बिनीका ४ खेलाडीलाई रन आउट गरेको थियो ।
प्रतिक्रिया