धनगढी । सुदूरपश्चिम प्रदेश सभाबाट बजेट पारित भएपछि प्रदेश सरकारले प्रदेश सभा सदस्यहरुलाई भोज खुवाएको छ । बुधबार बजेट पारित भएलगत्तै धनगढीको सौराइ पार्टी प्यालेस सबै पार्टीका प्रदेश सभा सदस्यहरुलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा भोज खुवाइएको हो ।
बजेट पारित भएपछि संसद भवनबाटै सांसदहरु पार्टी प्यालेस पुगेका थिए । भोजमा मुख्यमन्त्री कमलबहादुर शाह, प्रदेश सरकारका मन्त्रीहरु, सांसदहरु तथा उनीहरुका स्वकीय सचिवहरु सहभागी थिए । ‘सरकारले खानाको व्यवस्था पार्टी प्यालेसमा गरेको छ भन्ने खबर आएपछि खाना खान केही सांसद सँगै गएका थियौँ’ प्रतिपक्षी दलका एक सांसदले भने, ‘मुख्यमन्त्री, मन्त्रीहरु र अधिकांश सांसद त्यहाँ थिए ।’
उक्त भोजमा काँग्रेस सांसद प्रकाश देउवा र मानबहादुर रावल, नेकपा माओवादी केन्द्रका ओमविक्रम भाट सरल तथा एकीकृत समाजवादीका सांसद नरेशकुमार शाही लगायतका केही सांसद भने नगएको बताइएको छ ।
त्यस्तै मुख्यमन्त्री शाहले बेलुकी मुख्यमन्त्रीको सरकारी निवासमा आफ्नो दल काँग्रेसका सांसदहरुलाई छुट्टै भोज आयोजना गरेका छन् । अहिले रात्री भोज जारी रहेको बताइएको छ । बजेटलाई लिएर प्रतिपक्षीसँगै सत्ता पक्षका सांसदले सरकारको चर्को आलोचना गरेका थिए ।
प्रतिक्रिया