धनगढी । विष्फोटक पदार्थ राखेर आतङ्क मच्चाउने अमृत सापकोटा ‘गौरव’ लाई प्रहरीले पक्राउ गरेको छ । गोरखाको छेकम्पार घर भएका ३६ वर्षीय सापकोटा अहिले जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा छन् ।
उनले नै ०८१ भदौ ९ मा पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित घर अगाडि बम राख्न लगाएको पनि अनुसन्धानबाट खुलेको छ । घरको मूलगेटको छेउमा कालो झोलामा माटोभित्र एउटा टिफिन बक्स भेटिएको थियो । त्यहाँ बिस्फोटक पदार्थ राख्ने कामको नेतृत्व अमृतले नै गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
भूमिगत रूपमा नेकपा (माओवादी) नामको पार्टी गठन गरेर अमृतले विस्फोटक पदार्थ राखेर चन्दा असुल गर्ने धन्दा चलाएको आरोप छ । उनले आफूलाई नेकपा (माओवादी)को महासचिव बताउने गर्छन् । उनले नै ०८१ भदौ २८ मा झापाको गिरीबन्धु टी–स्टेट अगाडि बिस्फोटक पदार्थ राखेको पनि खुलेको छ ।
यस्तै, गत शुक्रबार कैलाली प्रहरीले देउवाको घर अगाडि बम राखेको आरोपमा गौरीगंगा नगरपालिकाका दानबहादुर साउँदलाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका अमृतले नै देउवाको निवास अगाडि साउँदलाई बम राख्न लगाएको बयान दिएपछि उनी पक्राउ परेका हुन् ।
प्रतिक्रिया