धनगढी । असार २० गतेदेखि सुरु भएको नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको पूर्णबैठक दुई दिनसम्म चल्यो । विभिन्न ऐजेण्डामाथि छलफल गरेको बैठकले १८ जना नेता कार्यकर्तालाई प्रदेश कमिटी सदस्यमा मनोनित गरेको छ ।
सुदूरपश्चिम प्रदेशसभा सदस्यहरु चक्रबहादुर मल्ल, दमन भण्डारी, निवर्तमान प्रदेशसभा सदस्य एवं राज्यमन्त्रीहरु कुलवीर चौधरी, अर्चना गहतराज, भीमदत्त नगरपालिकाका पूर्वमेयर समेत रहेका कञ्चनपुर जिल्ला कमिटीका पूर्वअध्यक्ष सुरेन्द्र बिष्टलाई प्रदेश कमिटिको बैठकले प्रदेश कमिटी सदस्यमा मनोनित गरेको छ ।
मनोनित गरिएका १८ जना मध्येकै सूचीमा परेकी छिन् गायिका लक्ष्मी आचार्य । एमालेमा दशकौं योगदान दिएका र लामो राजनीतिक पृष्ठभूमि बनाएका नेता कार्यकर्ताको मनोनित सूचीसँगै गायिका आचार्यसमेत समेटिएपछि एमाले कार्यकर्तामाझ टिकाटिप्पणीको विषय बनेको छ । आचार्यको मनोनयनमा कतिपयले समर्थन गरेका छन् त केहीले आलोचना गरिरहेका छन् ।
आर्चायको परिचय एमाले नेताभन्दा पनि गायिकाको रुपमा रहेको एमाले कार्यकर्ताहरु बताउँछन् ।
आचार्य गायीकासंगै मोडलिङमा पनि सक्रिय छिन् । उनले कयौं पटक न्यूड फोटो सार्वजनिक गर्दा आलोचना पनि खेप्नु परेको थियो ।
कैलालीको जानकी गाउँपालिकास्थित मोतिनगरकी स्थायी बासिन्दा आचार्य गायन क्षेत्रमा प्रवेश गर्नुअघि नेपाली कांग्रेसका एक नेताको सिफारिसमा टिम्बर कर्पोरेशनमा जागिरे थिइन् । एमाले सुदूरपश्चिमका सचिव रणबहादुर चन्दका अनुसार प्रदेश कमिटीले मनोनित गरेकाहरुलाई केन्द्रले अनुमोदन गर्नुपर्ने छ ।
प्रतिक्रिया