ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

ठेक्कामा थेगिमको बद्‍मासी

शुक्रबार २१, मङि्सर २०८१ ०८:१५

धनगढी । सेती प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणको काम सात वर्षसम्म पूरा भएको छैन । लामो समयदेखि भवन निर्माण कार्य अलपत्र छ । यो भवनको ठेक्का रबिना–थेगिम जेभीले लिएको छ । धनगढीको थेगिम कन्स्ट्रसन कम्पनी प्रालिले ठेक्का लिएको सेतीमा जस्तै अन्य दुई योजना अलपत्र पारेको छ । 

२८ कार्तिक २०७४ मा संघीय आयोजना कार्यान्वयन इकाइबाट रविना निर्माण सेवासँग जेभी गरी सेती प्रादेशिक अस्पतालको भवन निर्माणको ठेक्का लिएको थेगिमले अझै निर्माण सम्पन्न गरेको छैन । जसले गर्दा सेती अस्पतालको सेवा विस्तार र नयाँ भवन निर्माण गर्ने योजना कार्यान्वयनमा बाधा पुगेको छ । 

गोदावरी नगरपालिकाअन्तर्गत मालाखेती–ओलानी सडकअन्तर्गत वडा नम्बर ३ मा पर्ने कृष्ण मन्दिर–खमौरा खण्डको ठेक्का एडभेन्चर कन्स्ट्रक्सनसँगको जेभीमा हत्याएको थेगिमले अझैसम्म काम सकेको छैन । साढे दुई किलोमिटर लामो उक्त सडक  खण्ड कालोपत्रे गर्न २०७७ साउन २४ गते १८ महिनामा काम सक्ने गरी लिएको ठेक्कामा आधा पनि काम भएको छैन ।

पूर्वाधार विकास कार्यालय धनगढीका साइड इञ्चार्ज सवइञ्जिनियर जितेन्द्र धामीका अनुसार चार वर्षमा सो सडक निर्माणको प्रगति ४० प्रतिशतमात्रै भएको छ । धामीले सववेस हाल्नेसम्मको काम भएको बताए । सडकको संरचनाहरु निर्माण, बेस हाल्ने र कालोपत्रे गर्नेलगायतका कामहरु बाँकी रहेको उनले बताए । 

नौ करोड ३९ लाख आठ हजार ३९५ रुपैयाँ लागत अनुमान रहेको योजनाको ठेक्का थेगिमले पाँच करोड ८४ लाख २५ हजार १३ रुपैयाँमा कबोल गरेको थियो । ठेक्का लगाउने पूर्वाधार विकास कार्यालय कैलालीले थेगिमलाई सो ठेक्कामा माग गरेवाफत् तीन करोड २० लाख ९४ हजार ५०२ रुपैयाँ भुक्तानी दिइसकेको छ । 


भौतिक पूर्वाधार विकास मन्त्रालयले सो सडकको काम सम्पन्न गर्न दिएको अन्तिम म्याद गत असार २५ गते सकिएको छ । थेगिमले अलिअलि काम गरेजस्तो देखाएर आयोजना कार्यालयबाट भुक्तानी लिइ काम अलपत्र पार्ने गरेको छ । मालाखेती–बान्द्रखोला सडकमा माटो फिलिङ र ग्राभेल बिछ्याउनेबाहेकको काम नगरेको स्थानीयले जनाएका छन् । स्थानीय कृष्णबहादुर बिकले कृष्ण मन्दिरदेखि खमौरासम्मको सडकमा ठूल्ठूला खाल्डाखुल्डी रहेको बताए । उनले धेरै समयदेखि यो खण्डमा काम नभएको बताए । 

सुनिल थापा सञ्चालक रहेको थेगिम कन्स्ट्रक्सनले कैलाली गाउँपालिका–३, मा पर्ने सुर्मीनालामा पुल निर्माण कार्य पनि अलपत्र पारेको छ । पूर्वाधार विकास कार्यालय कैलालीबाटै यो निर्माणको ठेक्का २०७७  साउन १८ गते लिएको थियो । १८ महिनामा पुल निर्माण गरी सक्ने गरी लिएको ठेक्काको काम शुरुवाती चरणमै छ । आठ करोड एक लाख छ हजार ५३२ रुपैयाँ लागत अनुमान रहेको पुल योजनाको ठेक्का थेगिमले चार करोड ९३ लाख ९१ हजारमा ४९३ रुपैयाँमा कबोल गरेको थियो । त्यसमध्ये तीन करोड ६१ लाख ९७ हजार ८९३ रुपैयाँ भुक्तानी लिइसकेको छ । 

भुक्तानी लिएपछि सम्पर्कविहीन
चार वर्षमा पुल निर्माण कार्य ५० प्रतिशतमात्रै भएको पूर्वाधार विकास कार्यालयका सवइञ्जिनियर देवी बलायरले बताइन् । पुलको लम्बाइ २६ मिटर रहेको छ । थेगिम पुल निर्माण कार्य अलपत्र पारेर सम्पर्कविहीन भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । ‘भुक्तानीका लागि बैशाख–जेठतिर उहाँहरुले काम गरेजस्तो गर्नुहुन्छ,’ बलायरले भनिन्, ‘त्यसपछि सम्पर्कमै आउनु हुन्न ।’ भौतिक पुर्वाधार विकास मन्त्रालयले थेगिमलाई पुल निर्माणको लागि थपेको अन्तिम म्याद गत असार ३१ गतेनै सकिएको छ । 

थेगिम कन्स्ट्रक्सनका सञ्चालकले मिलेर ठेक्का हत्याउने र काम गरेजस्तो देखाएर भुक्तानी लिएपछि सम्पर्कविहीन हुने गरेका छन् । सवइन्जिनियर बलायरले थेगिम कन्स्ट्रक्सनका सञ्चालक सुनिलकुमार थापा र थेगिमले लिएका ठेक्कामा काम गर्ने हरिहर पन्त फोन नउठाउने गरेको उनले बताइन् । 

थेमिका सञ्चालक थापा भए पनि थेगिमले लिएका ठेक्कामा हरिहर पन्तले काम गर्ने गरेका छन् । पेश्की लिएर काम नगर्ने र थप भुक्तानी लिनको लागि काम गरेजस्तो देखाउन पन्त समयसमयमा साइडमा आउने गरेको योजनाको निरीक्षणमा खटिने कर्मचारी बताउँछन् । पन्त हेभिइक्यूपमेन्ट डिभिजन कार्यालय गोदावरीमा कार्यरत सरकारी कर्मचारी हुन् ।  

संघीय आयोजना कार्यान्वयन इकाइले रबिना–थेगिम जेभीलाई सेती प्रादेशिक अस्पतालको भवन निर्माणका लागि पाँच पटक म्याद थप गरिसकेको छ । अस्पतालको निर्माणाधीन भवनको काम लामो समयदेखि अलपत्र छ । १८ करोड ७४ लाख २८ हजार रुपैयाँ लागतमा अस्पताल भवन निर्माणका लागि संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीले २०७४ कार्तिकमा रविना–थेगिम जेभीसँग सम्झौता गरेको थियो । सम्झौताको शर्तअनुसार काम भएको भए २०७७ बैशाखमै भवनको निर्माण भइसक्थ्यो । 

सेतीमा रविना–थेगिम कन्स्ट्रक्सनको जेभीले ठेक्का पाए पनि काम भने थेगिमले गरिरहेको छ । निर्धारितभन्दा झण्डै तीनगुणा समयसम्म काम नगर्दा समेत निर्माण कम्पनीलाई सरकारले कारबाही गर्न सकेको छैन । भवनको संरचना तयार भए पनि झ्याल–ढोका लगाउने, टायल–मार्बल बिच्छ्याउने, रङरोगन गर्ने, शौचालय बनाउने, पानी र बिजुली जडानको काम बाँकी छन् । ठेक्का अलपत्र पारेको विषयमा बुझ्न पटकपटक गरेको फोन थापाले उठाएनन् । 
 

प्रतिक्रिया