धनगढी । नागरिक उन्मुक्ति पार्टीमा फेरि विवाद देखिएको छ । सुदूरपश्चिम प्रदेश सरकारबाट आफ्ना मन्त्री निष्कासित हुँदा एकजुट देखिएको उन्मुक्तिमा अहिले फेरि आन्तरिक विवाद देखिएको हो ।
पार्टीको संसदीय दलले बोलाएको केन्द्रीय समितिको बैठकलाई अध्यक्ष रञ्जिता श्रेष्ठले अवैधानिक र अमान्य घोषणा गरेकी छिन् ।
शनिबार बसेको संसदीय दलको बैठकले पार्टी विधान संशोधन गर्ने तथा साउन ९ र १० गते काठमाडौँमा केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको थियो । संसदीय दलका नेता गङ्गाराम चौधरी, प्रमुख सचेतक लालवीर चौधरी र सचेतक अरुण चौधरी उपस्थित बैठकले गरेको उक्त निर्णयमा अध्यक्ष श्रेष्ठको हस्ताक्षर छैन ।
‘वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै पार्टीमा उत्पन्न भएको समस्यालाई निराकरणको लागि व्यापक छलफल गर्न आवश्यक भएको हुँदा २०८२ साल श्रावण महिना ९ र १० गते शुक्रवार र शनिवारका दिन सनलाईन क्याफे मीड बानेश्वरमा केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरियो,’ संसदीय दलको बैठकले गरेको निर्णयमा उल्लेख गरिएको छ ।
यसैबिच, संसदीय दलका नेता गङ्गाराम चौधरीले आफूलाई महासचिव दाबी गर्दै सबै केन्द्रीय सदस्यहरूलाई बैठकमा उपस्थित हुन पत्र काटिसकेका छन् । तर, निर्वाचन आयोगको रेकर्डमा गङ्गाराम चौधरीको नाम महासचिवका रूपमा अद्यावधिक छैन ।
पार्टी विधानमा अध्यक्षको निर्देशनमा महासचिवले बैठक बोलाउने प्रावधान भए पनि अध्यक्षले बैठक नबोलाएको र महासचिवको पद नै आधिकारिक नभएकाले बैठकको वैधानिकतामाथि प्रश्न उठेको छ ।
प्रतिक्रिया