धनगढी । अनुदान खान जिउँदो व्यक्तिलाई मृत घोषणा गर्ने दुई जना पक्राउ परेका छन् । दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयरका छोरा र कृषि शाखा प्रमुख पक्राउ परेका हुन् ।
शैल्यशिखर नगरपालिका मेयर विजयसिंह धामीका छोरा २८ वर्षका जनकसिंह धामी र सोही नगरपालिकाका कृषि शाखाका प्रमुख २४ वर्षीय दीपकराज विष्ट पक्राउ परेका हुन् ।
उनीहरुले मालिकार्जुन कृषक अगुवा समूहका सचिव र कोषाध्यक्षको मृत्यु भएको नक्कली प्रमाणपत्र बनाएका थिए । उक्त समूहलाई स्थानीयस्तरमा ओखर विकास कार्यक्रमअन्तर्गत दुई लाख २० हजार रुपैयाँ अनुदान उपलब्ध गराउने सम्झौता गरेको थियो ।
उक्त रकम निकाल्न सचिव जानकी धामी र कोषाध्यक्ष मञ्जु धामीको मृत्यु भएको भन्दै अन्य व्यक्तिको नाममा खाता सञ्चालनका लागि बैंकलाई पत्र काटिएको थियो
जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी प्रकाश दाहालका अनुसार घटनाबारे असार २५ गते प्रारम्भिक जानकारी आएपछि सूक्ष्म अनुसन्धान गरिएको थियो । अनुसन्धानबाट कीर्त्ते पुष्टि भएपछि दुवै जनालाई साउन ७ गते पक्राउ गरिएको हो ।
प्रहरीले उनीहरूमाथि लिखत सरकारी कागजात कीर्त्ते र विश्वासघातको आरोपमा मुद्दा दर्ता गरेको छ ।
प्रतिक्रिया