धनगढी । सुदूरपश्चिम प्रदेश सांसद लक्ष्मी बिकले दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर ज्यान गुमाएका नारायण बुढाथोकीको परिवारलाई राहत र क्षतिपूर्ति दिन माग गरेकी छन् ।
प्रदेश सभाको आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै पूर्वमन्त्रीसमेत रहेकी बिक नागरिकले अकालमै ज्यान गुमाउँदा पनि सरकार किन मौन बसेको भनेर प्रश्न गरिन् ।
नेपाल–भारत सीमानामा तुइनको बाटो प्रयोग गरी दैनिक उपभोग्य बस्तु किन्न र स्वास्थ्य उपचार गर्न भारत जाने क्रममा दार्चुलाको ब्यास गाउँपालिका–२, दुम्लीङका २८ वर्षीय नारायण बुढाथोकीको गत असार ३१ गते तुइनबाट खसेर ज्यान गएको थियो ।
‘यसरी नागरिकले ज्यान गुमाउँदा पाि प्रदेश सरकार किन मौन बसेको छ, जनताका समस्या किन सुन्दैन ?’ बिकले भनिन्, ‘ प्रदेशको आकम्मिक कोषमार्फत मृतकका परिवारलाई तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न गर्न ध्यानाकर्षण गराउँदछु ।’
ब्यासमा दैनिक उपभोग्य बस्तुको सुपथ मूल्य पसल सञ्चालन गर्न पनि उनले प्रदेश सरकारलाई आग्रह गरिन् । सांसद बिकले दार्चुलामा घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएकी महाकाली–५ की मानमती बम तथा शैल्यशिखर नगरपालिका–१, का सुन्दरराम लुहारको परिवारलाई पनि राहत र क्षतिपूर्ति दिन प्रदेश सरकारसमक्ष माग गरिन् ।
उनले प्रदेशमा भ्रष्टाचार र बेथिति बढेको उल्लेख गर्दै मन्त्री, सांसद र उनीहरु निकटका व्यक्तिको भ्रष्टाचार सम्बन्धी अडियो टेप सार्वजनिक भए पनि कारबाही नगरी सरकार उल्टै मुकदर्शक बनेर भ्रष्टाचारीलाई उन्मुक्ति दिन खोजेको आरोप लगाइन् ।
‘शैल्यखिशरलगायत प्रदेशमा भएका भ्रष्टाचारका दोषीलाई कारबाही हुन्छ की हुँदैन भनेर जनताले प्रश्न गरिरहेका छन् । सरोकारवालाको ध्यानाकर्षण गराउँदछु’ उनले भनिन्, ‘ दुई ठूला दलको सरकार जनताको जिउधनको रक्षा, शान्तिसुरक्षा र सीमा सुरक्षामा पूर्णरुपमा चुकेको छ ।’ कैलालीको जानकीमा शिक्षक जगदीस पन्तको हत्यामा संलग्नलाई कडा कारबाही गर्न पनि उनले माग गरिन् ।
प्रतिक्रिया