धनगढी । कञ्चनपुरमा अखिल क्रान्तिकारीको आन्तरिक छलफल चलिरहदा ढुङ्गा र कुर्सी हानाहान भएको छ । अखिल क्रान्तिकारीका केन्द्रीय उपमहासचिव तथा सुदूरपश्चिम इन्चार्ज रामचन्द्र भट्ट र उपमहासचिवमै पराजित भुवनसिंह बिष्टबीचको विवाद हानाहानमा परिणत भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहोराका अनुसार ढुङ्गा प्रहारबाट घाइते भएका भट्टको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । उनलाई बिष्टले ढुङ्गा प्रहार गरेका थिए । माओवादी केन्द्र भीमदत्त नगर कमिटीका सदस्यसमेत रहेका बिष्ट पनि घाइते भएका छन् । उनको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उपचाररत बिष्ट कुटपिटमा संग्लन रहेको देखिएकोले उनीमाथि निगरानी भइरहेको डीएसपी बोहराले जानकारी दिए ।
भट्ट र बिष्टबीच गतवर्ष माघमा भएको राष्ट्रिय सम्मेलनदेखि नै विवाद हुँदै आएको छ । उक्त सम्मेलनमा दुवै जना उपमहासचिवका उम्मेदवार थिए । भट्ट निर्वाचित भएका थिए भने बिष्ट पराजित भएका थिए । सुदूरपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावको तयारी भइरहेकोमा उक्त विषयमा पनि दुवै नेताबीच विवाद देखिएको बताइएको छ ।
यस्तै बिष्टलाई साधारण सदस्यता समेत कायम नहुनेगरी कारबाही गरिएको छ । जिल्ला पार्टीले बिष्टको साधारण सदस्यता समेत नरहनेगरी पार्टीबाट निष्कासित गरेको विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
प्रतिक्रिया