काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को राष्ट्रिय भेलाले अध्यष रञ्जिता श्रेष्ठलाई पदबाट हटाउने प्रस्ताव पारित गरेको छ । काठमाडौंमा जारी राष्ट्रिय भेलाले उनलाई अध्यक्ष पदबाट हटाउने प्रस्ताव पारित गरेको नाउपाका नेता ठाकुरसिंह थारुले जानकारी दिए ।
थारुका अनुसार अध्यक्ष कसलाई बनाउने भन्नेबारे अहिले छलफल चलिरहेको छ । अध्यक्ष श्रेष्ठले आफू पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि आफूनिकट शिव बास्तोलाई दुई दिनअघि कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएकी थिइन । श्रेष्ठले स्वास्थ्यको कारण देखाउँदै बास्तोलालाई कार्यबाहक तोकेकी थिइन् ।
उक्त विषय आफू र पार्टी सदस्यलाई चित्त नबुझेको भन्दै सो पार्टीका संरक्ष रेशम चौधरीसहितका नेताहरूले असन्तुष्टि राखेका थिए । रञ्जितालाई अनुशासन समितिले कारबाही गरेको थियो । रञ्जिताले तोकिएको समय भित्र स्पष्टीकरण नदिएपछि उनलाई अध्यक्ष पदबाट हटाइएको जानकारी नाउपाले निर्वाचन आयोगलाई पनि दिइसकेको छ ।
रञ्जितालाई पार्टी अध्यक्षबाट हटाएको पत्र मंगलबार आयोगमा दर्ता भएको थियो । बहुमत संस्थापक केन्द्रीय सदस्यले केन्द्रीय समिति बैठक बोलाउन माग गरे पनि व्यवास्ता गरेको, भन्दै बहुमत केन्द्रीय सदस्यको साउन १२ गते बसेको बैठकले अध्यक्ष श्रेष्ठसँग स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया