धनगढी । नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिदै छन् । मुख्यमन्त्री शाहले विश्वासको मत लिने प्रयोजनका लागि आज प्रदेशसभा बैठक बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
सचिवालयका सूचना अधिकारी युवराज जैशीले आज ५ बजे बैठक बोलाइएको र मुख्यमन्त्री शाहले विश्वासको मत लिने कार्यसूची रहेको जानकारी दिए ।
यस्तै सत्तारूढ नेपाली काँग्रेस र नेकपा एमालेले विश्वासको मतको पक्षमा मतदान गर्नका लागि ह्वीप जारी गरेका छन् । बुधबार बसेको एमाले प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन ह्वीप जारी गर्ने निर्णय गरेको थियो । प्रदेश संसदीय दलका प्रमुख सचेतक सुरेन्द्र पालले सबै प्रदेशसभा सदस्यलाई अनिवार्य बैठकमा उपस्थित भएर विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन् ।
काँग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले यसअघि नै ह्वीप जारी गरिसकेका छन् । २० असारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । पार्टीको संसदीय दलको बैठकले प्रदेशका मुख्यमन्त्री शाहले आफ्ना मन्त्रीलाई बिना कारण बर्खास्त गरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
प्रदेशसभामा सात जना सासंद भएको उन्मक्तिले सरकारबाट समर्थन फिर्ता लिए पनि मुख्यमन्त्री शाहलाई सांख्यिक रूपमा केही फरक पर्दैन । सरकार टिकाउन २७ जनाको समर्थन आवश्यक रहेकोमा काँग्रेसका १८ र एमालेका ११ गरी २९ जनाको समर्थन मुख्यमन्त्री शाहलाई यथावत छ । जसका कारण एमालेको समर्थन रहेसम्म मुख्यमन्त्री शाहको कुर्सी सुरक्षित छ ।
सरकारमा सहभागी भएका दलले समर्थन फिर्ता लिए मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । ‘मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नुपर्नेछ,’ संविधानको धारा १८८ को उपधारा २ मा व्यवस्था छ ।
प्रतिक्रिया