गोदावरीमा राजधानीको जग्गा भोगाधिकारको माग गर्दै एकीकृत समाजवादीले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण
धनगढी । नेकपा एकीकृत समाजवादी गोदावरी नगर र चुरे गाउँपालिका संगठनले सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको गोदावरीको जग्गाको भोगाधिकार माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालमार्फत प्रदेशको राजधानी तोकिीकै ठाउँमा बनाउन जग्गाको भोगाधिकार दिन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको नेकपा एकीकृत समाजवादी चुरे गाउँ कमिटीका इन्चार्ज सुरेन्द्र खडायतले जानकारी दिए ।
‘सो क्षेत्रमा जग्गा भोग चलनको कानुनी अड्चनका कारण देखाइ अहिलेको नेपाली कांग्रेस र एमालेको गठबन्धको सरकारले राजधानी अन्यन्त्र सार्ने प्रपन्च गरिीहेको भन्ने हाम्रो बुझाइ छ’ उक्त पार्टीको गोदावरी र चुरेका इन्चार्जको संयुक्त हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘दुई तिहाईको सरकारले पारित गरेको ठाउँमा नेपाल सरकारले मन्त्रिपरिषदस्तरीय निर्णय गराइ प्रदेश सरकारलाई जग्गा भोगचलनको अधिकार प्रत्यायोजन गर्न नेपाल सरकारलाई प्रमुख जिल्ला अधिकारीमार्फत गम्भीर ध्यानाकर्षण गर्न चाहन्छौं ।’
सुदूरपश्चिम प्रदेश सभाले २०७५ साल असोज १२ गते प्रदेशको राजधानी गोदावरी नगरपालिकाको वडा नम्बर २ तोक्ने प्रस्ताव सभाबाट पारित गरेको थियो । संघीय सरकारले जग्गा भोगाधिकार नदिएका कारण राजधानी निर्माणको काम सुरुनै भएको छैन । अहिले अस्थायी राजधानी धनगढीलाई नै स्थायी राजधानी बनाउने विषयमा बहम सुरु भएको छ ।
प्रतिक्रिया