ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

बिहिबार १५, साउन २०८२ ०७:४३

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । बिहीबारको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत पाएका हुन् ।

शाहले सभामा पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ३० जना प्रदेश सभा सदस्यले मतदान गरेका हुन् । नागरिक उन्मुक्तिकै कारणले मुख्यमन्त्रीले विश्वासको मत लिनु परेको थियो । विश्वासको मतको पक्षमा नाउपाकै कैलाश चौधरीले मत दिएको बताइएको छ ।

५३ सदस्यीय प्रदेशसभा (एकजना निलम्बित) मा शाहलाई नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका एक गरेर ३० जना प्रदेशसभा सदस्यले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन् ।

बैठकमा सहभागी १५ जना प्रदेशसभा सदस्यले विपक्षमा मतदान गरेका छन् । 

सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री शाहले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा बहुमत प्रदेशसभा सदस्यले मतदान गरेको भन्दै प्रदेश सभाबाट प्रस्ताव स्वीकृत भएको घोषणा गरेका थिए ।

२० असारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । पार्टीको संसदीय दलको बैठकले प्रदेशका मुख्यमन्त्री शाहले आफ्ना मन्त्रीलाई बिना कारण बर्खास्त गरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । 
सरकारमा सहभागी भएका दलले समर्थन फिर्ता लिए मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नुपर्ने छ भन्ने व्यवस्थाअनुसार मुख्यमन्त्री शाहले आज विश्वासको मत लिएका थिए ।

प्रतिक्रिया