धनगढी । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरण नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न निर्देशन दिएका छन् ।
आइतबार सीआईबीको कार्यालय निरीक्षणका क्रममा मन्त्री लेखकले सूक्ष्म रूपमा निर्मला पन्त प्रकरण अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिए ।
उनले निर्मला प्रकरणको अनुसन्धानमा कुनैकसर बाँकी नराख्न सीआईबीलाई निर्देशन दिए । ‘निर्मला पन्तलगायत ब्युरोले अनुसन्धान गरिरहेको सबै जटिल घटनाको अनुसन्धानमा तीव्रता दिन आग्रह गर्छु,’ गृहमन्त्री लेखकले भने, ‘नेपाल प्रहरीभित्र पनि सीआईबीप्रति आमजनताको भरोसा बढेकोछ, यसलाई अटल राखेर काम गर्नुपर्छ ।’
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको सात वर्ष पूरा भइसकेको छ । १० साउन २०७५ मा साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी पन्त भोलिपल्ट भीमदत्त नगरपालिकाकै खोला किनारको उखुबारीमा मृत भेटिएकी थिइन् ।
पोष्टमार्टम रिपोर्टले निर्मलाको बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि गरेको थियो । १० साउन अर्थात् शनिबार घटनाको सात वर्ष पुग्दै छ । तर, निर्मला पन्तको बलात्कार र हत्या घटनामा संलग्न भने पत्ता लगाउन भने प्रहरी असफल छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार घटनाको अनुसन्धानका क्रममा ६५५ जनासंग विस्तृत रुपमा सोधपुछ भएको छ । घटनामा शंकास्पद मानिएका एक सय २४ जनाको डीएनए परीक्षण पनि भइसकेको छ ।
प्रतिक्रिया