धनगढी । कैलाली कारागारमा कैदीबन्दीबीच भएको हिंसात्मक झडप घाइते भएका थप एकजनालाई काठमाडौँ लैजाने तयारी गरिएको छ । २४ वर्षीय घाइते कैदीबन्दी कर्ण सारुमगरलाई काठमाडौँ पठाउन लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले सारुमगरलाई नियमित उडानबाट काठमाडौँ पठाउन लागिएको जानकारी दिए । उनको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
उपचारमा संलग्न चिकित्सकका अनुसार सारुमगरको बायाँ हातको हड्डी भाँचिएको छ भने हातको नशामा समेत फाटेको देखिएको छ । शुक्रबार राति कारागारमा सुतिरहेका कैदीबन्दीमाथि कैदीबन्दीकै अर्को समूहले सांघातिक हमला गर्दा एकजना कैदीबन्दीको मृत्यु हुनुका साथै ४७ जना घाइते भएका थिए ।
धनगढी उपमहानगरपालिका– ४ का भरत चौधरीको मृत्यु भएको थियो । गम्भीर घाइते आयुष भट्टलाई थप उपचारका लागि नेपाली सेनाको स्काइ ट«कबाट शनिबार बेलुकी काठमाडौँ लगिएको थियो । घाइते एक जनाको निसर्ग अस्पताल र अन्यको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया