धनगढी । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी संसदीय दलका नेता गंगाराम चौधरीलाई कारबाही गरेकी छन् ।
निर्वाचन आयोगले रेशम पक्षको राष्ट्रिय भेलाको निर्णयलाई अस्वीकार गर्दै नागरिक उन्मुक्तिको अध्यक्ष रञ्जितानै कायम रहने निर्णय गरेलगत्तै उनले चौधरीलाई पार्टीको केन्द्रीय समिति पदाधिकारी सदस्य तथा दलको नेताबाट हटाएकी हुन् । चौधरीमाथि पार्टी विधानविपरीत काम गरेको आरोप लगाइएको छ ।
अध्यक्ष श्रेष्ठले पार्टीको विधानविपरीत गएर दलको बैठकबाट केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको, पार्टीको महासचिव पद उल्लेख गर्दै पार्टीको लेटरप्याड र छाप दुरुपयोग गरी निर्वाचन आयोगलाई पत्र पठाएको तथा विभिन्न निर्णय गरेको आरोप चौधरीमाथि लगाएकी छन् । त्यस्तै दल त्याग गरिसकेका र केन्द्रीय समिति पदाधिकारी नरहेका व्यक्तिलाई बैठकमा सहभागी गराएको आरोप पनि लगाइएको छ ।
उनले चौधरीलाई कारबाहीको पत्र पठाउँदै पार्टीको महासचिव तथा संसदीय दलको नेताको पद उल्लेख गरी कुनै किसिमको निर्णय एवम् पत्राचार नगर्न भनेकी छन् । पार्टीको विधानविपरीत काम गरेको आरोपमा श्रेष्ठले यही साउन १५ गते नेता चौधरीलाई स्पष्टिकरण सोधेकी थिइन् ।
चौधरीले आफूमाथिको आरोपबारे स्पष्ट पार्नुको साटो आरोपप्रत्यारोप लगाएर स्पष्टिकरणको जवाफ दिएकाले कारबाही गरिएको कारबाही पत्रमा उल्लेख छ । अध्यक्ष श्रेष्ठले कारबाही गरिएको पत्र संघीय संसद सचिवालयमा पनि बोधार्थ पठाएकी छन् ।
दुई साताअघि काठमाडौँमा भएको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी पक्षको बहुमत संस्थापक केन्द्रीय सदस्यसहितको राष्ट्रिय भेलाले श्रेष्ठलाई अध्यक्षसहित पार्टीको साधारण सदस्यसमेत नहने गरी कारबाही गर्ने निर्णय गरेको थियो । भेलाले रञ्जितालाई हटाउँदै रेशमका बुवा लालबीर चौधरीलाई पार्टी अध्यक्ष चयन गरेको थियो ।
निर्वाचन आयोगले भने भेलाको निर्णयलाई मान्यता दिएन र रञ्जितानै अध्यक्ष रहने निर्णय गरेको छ । संसदीय दलको नेता दलका बहुमत सांसदले मात्र हटाउन सक्ने भन्दै अध्यक्षको कारबाही विधानविपरीत रहेको दावी रेशम पक्षले गरेको छ ।
प्रतिक्रिया