काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा हमास समूहद्वारा बन्धक बनाइएका विपिन जोशीको शीघ्र र सुरक्षित रिहाइका लागि सरकार हर सम्भव प्रयासमा संलग्न रहेको बताएका छन् ।
ओलीले आज सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन्, ‘इजरायलस्थित हाम्रो दूतावासको समन्वयमा विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले इजरायली राष्ट्रपति महामहिम इसाक हेर्जोग र संसद अध्यक्ष आमिर ओहानासँग भेट गरी विपिनको रिहाइको पहल गर्न आग्रह गरेका छन् ।’
प्रधानमन्त्री ओलीले यसअघि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग ७ चैतमा र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल(सीसीसँग २८ फागुनमा टेलिफोन संवादमार्फत विपिन जोशीको विषयमा ध्यानाकर्षण गराइसकेको जानकारी पनि दिएका छन् ।
‘सरकारले विपिनको सुरक्षालाई प्राथमिकता दिँदै परराष्ट्र मन्त्रालय र खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर संवाद गरिरहेको छ,’ ओलीले भनेका छन् ।
प्रधानमन्त्रीले इजरायलमा रहेका नेपाली नागरिक, स्थानीय सहयोगी, पत्रकार, सुरक्षाकर्मी र सामाजिक अभियन्ताहरूलाई समेत विशेष धन्यवाद दिएका छन् । ‘विपिनका परिवारको साथमा सरकार दृढताका साथ उभिएको छ,’ ओलीको भनाइ छ ।
विपिन जोशी सन् २०२३ को अक्टोबरमा इजरायलमा हमास समूहद्वारा गरिएको आक्रमणको क्रममा अपहरणमा परेका थिए । उनको अवस्था अझै अज्ञात छ । उनको रिहाइको मागका लागि उनकी आमा र बहिनी इजरायलमा छन् । हिजो मात्रै उनीहरूले इजरायली राष्ट्रपतिसँग भेट गरेका थिए ।
प्रतिक्रिया