ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीकी काँग्रेस नेतृ न्यौपाने संसदको राज्यव्यवस्था समितिको सभापतिमा सर्वसम्मत

मङ्गलबार १०, भदौ २०८२ ०६:०७

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसकी नेतृ ईश्वरीदेवी न्यौपाने सर्वसम्मत भएकी छन् । मंगलबार मनोनयनको समयभित्र न्यौपानेको एकल मनोनयन परेको थियो । उनी सर्वसम्मत भएको औपचारिक घोषणा भने निर्वाचन कार्यतालिकाअनुसार भोलिमात्र हुनेछ ।

न्यौपानेलाई नोपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाको विश्वासपात्रको रूपमा चिनिन्छ । २०१६ सालमा दाङमा जन्मिएकी उनको हाल स्थायी ठेगाना कैलालीको भजनी नगरपालिका हो । उनी २०७९ सालको संघीय चुनावमा समानुपातिक कोटाबाट सांसद बनेकी हुन् ।

उनले २०७९ मा भएको सभामुखको चुनावमा समेत उम्मेदवारी दिएकी थिइन् । संघीय संसदको संयुक्त समिति संसदीय सुनुवाइ समितिको सभापतिसमेत रहेकी न्यौपाने राज्यव्यवस्था समितिकी सदस्य थिइन् ।

न्यौपाने नेपाली कांग्रेसको १२औँ महाधिवेशनदेखि केन्द्रीय सदस्यका रूपमा रहेकी छिन् । उनी २०६४ र २०७० सालको संविधानसभा सदस्य थिइन् ।  तत्कालीन व्यवस्थापिका संसदमा उनी पार्टीको सचेतक थिइन् । विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गरेकी उनी नेपाल महिला संघको केन्द्रीय उपाध्यक्ष भइसकेकी छन् ।

कांग्रेसभित्र महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको रोजाइमा भने दिलेन्द्र बडू थिए । तर, देउवाले न्यौपानेलाई राज्य व्यवस्थाका सभापति बनाएका हुन् । राज्यव्यवस्था तथा सुशासन समितिमा निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ प्रकरणमा रामहरि खतिवडाले राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।

प्रतिक्रिया