धनगढी । सुदूरपश्चिम प्रहरी प्रमुख र मातहतका कार्यालय प्रमुखबिच कार्यसम्पादन सम्झौता भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमकाबिच सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) डम्बरबहादुर बिक र मातहतका कार्यालय प्रमुखबिच कार्यसम्पादन सम्झौता भएको हो ।
डिआइजी बिक र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुर, सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल, सुदूरपश्चिम प्रदेश प्रहरी बिपद व्यवस्थापन गुल्म महेन्द्रनगर, सुदूरपश्चिम प्रदेश प्रहरी विद्यालय धनगढीका प्रमुखबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दीपायल, जिल्ला प्रहरी कार्यालय डोटी, अछाम, बझाङ, बाजुरा, दार्चुला, बैतडी र डडेल्धुराका प्रमुखहरुसंग भर्चुअल उपस्थितिमा चालु आर्थिक वर्षको लागि ‘वार्षिक कार्य सम्पदान सम्झौता’ भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कार्यक्रममा प्रहरी कार्यालयका प्रमुखहरूले उपलब्धिमूलक प्रहरी सेवा प्रदान गर्नका साथै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउने प्रतिबद्धतासमेत जनाए ।
सो कार्यक्रममा प्रदेश प्रहरी प्रमुख बिकले भौतिक तथा भर्चुअल माध्यमद्वारा उपस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिँदै कार्यसम्पादन सम्झौता नेपाल प्रहरीको काम कारबाहीको मेरुदण्ड रहेको बताए । उनले प्रहरीको सेवालाई चुस्त दुरुस्त बनाउन तथा आम नागरिकले प्रत्यक्ष अनुभव गर्ने गरी प्रहरी सेवा प्रदान गर्न निर्देशन दिए ।
प्रतिक्रिया