ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
कैलाली कारागार घटनाले ल्याएको उथलपुथल

सिडिओ र एसपीको सरुवा, एक महिना नपुग्दै फेरिए तीन जेलर

मङ्गलबार १७, भदौ २०८२ ०४:४९

धनगढी । कैलाली कारागारमा गत महिना भएको हिंसात्मक घटनाले जिल्लाको सुरक्षा नेतृत्वमा उथलपुथल मात्र ल्याएन, कारागारमा समेत एक महिना नपुग्दै तीन जना प्रमुख फेरिएका छन् । 

कारागार व्यवस्था विभागले कैलाली कारागार प्रमुखमा चिरञ्जीवि सापकोटालाई पठाएको छ । विभागबाट सरुवा भएर आएका सापकोटाले सोमबारबाट जिम्मेवारी सम्हालेका छन् । गत साउन २३ गते कारागारमा भएको हिंसात्मक घटनापछि कारागार प्रमुखको रुपमा आएका उनी तेस्रो व्यक्ति हुन् । 

कारागार प्रमुखमा सापकोटा आएसँगै गत ३१ साउनदेखि नेपालगञ्ज कारागारबाट काजमा आएर कैलाली कारागार प्रमुखको जिम्मेवारीमा रहेका प्रकाश ढुङ्गाना फिर्ता भएका छन् । कैलाली कारागारमा गत साउन २३ गते राति भएको हिंसात्मक घटनापछि काजगमा दुई जना प्रमुख फेरिएका छन् । 

उक्त दिन भएको हिंसात्मक घटनामा एक जना कैदीबन्दीको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका थिए । घटना हुँदा कैलाली कारागार निमित्तको भरमा थियो । कारागार व्यवस्था विभागले घटनाको दोस्रो दिन बाँकेको नौबस्ता कारागार प्रमुख जलान्धर भुसाललाई कैलाली कारागार प्रमुखको रुपमा काजमा खटाएको थियो । 

घटनापछि करिब ४२ घण्टासम्म कैदीबन्दीले बन्दीगृह आफ्नो नियन्त्रणमा राखेका थिए । बन्दीगृहको गेटमा ग्याँस सिलिण्डर राख्दै उनीहरुले विस्फोट गराइदिने धम्की दिएर भित्र सुरक्षाकर्मीसहित कसैलाई पनि प्रवेश गर्न दिएका थिएनन् । भुसाल आएसँगै कारागारभित्रको अवस्था सामान्य बन्दै गयो । उनको काज फिर्ता भएपछि साउन ३१ गतेदेखि ढुङ्गाना पनि काजमै खटाइएका थिए ।

अधिकृत तहको कर्मचारी जेलर रहने कैलाली कारागारमा घटना हुँदा खरिदार तहका कर्मचारीले निमित्त जेलरको जिम्मेवारीमा थिए । गत २८ असारमा कैदीबन्दीबिच झडप भएको केही दिनपछि कारागार प्रमुख बसन्त खत्री नासु ज्ञानेन्द्र ओझालाई निमित्त दिएर बिदामा बसेका थिए । हिंसात्मक घटना भएको दुई दिनअघिमात्र ओझा पनि खरिदार रामकुमार चौधरीलाई निमित्तको जिम्मा दिएर विदामा थिए ।

कारागार घटना हुनुमा सुरक्षा कमजोरी देखिएपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणा कारबाहीस्वप माथिल्लो निकायमा यसअघिनै तानिएका छन् ।  गृह मन्त्रालयले हमाललाई गत साउन २८ गते मन्त्रालय तानेको हो भने प्रहरी उपरीक्षक राणा यही भदौ १२ गते प्रहरी प्रधान कार्यालय तानिएका छन् । 

गत असार यता कैलाली कारागारमा कैदीबन्दीबीच झडपका घटनाहरु बारम्बार भएका थिए । साउन २२ गते राति पनि कैदीबन्दीबिच झडप भएको थियो । तर कारागारभित्र भइरहेका झडपका घटना र कैदीबन्दीबिचको विवादलाई सुरक्षा नेतृत्वले सामान्यरुपमा लियो ।

‘साउन २३ गते घटना हुनुअघिनै कैदीबन्दी र उनीहरुका आफन्तले समेत संभावित घटनाबारे सचेत गराएका थिए तर जिल्लास्थित सुरक्षा निकायले त्यसलाई गम्भीरतापूर्वक लिएन’ सुरक्षा स्रोतले भन्यो, ‘कारागार सुरक्षामा लापरबाही गरेका कारण माथिल्लो निकायले तत्कालीन सिडिओ र एसपीलाई कारबाहीस्वरुप तानेको हो ।’ 

सुरक्षाको माग गर्दै पाँच सय ९० जना कैदीबन्दीले राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय धनगढीमा निवेदनसमेत दिएका थिए । आयोगले पनि घटना हुनु पाँच दिनअघिनै कारागार सुरक्षाको विषयमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायत निकायलाई ध्यानाकर्षण गराएको थियो ।

बन्दीगृहको ब्लक ‘ए’ मा रहेका कैदीबन्दीको एक समूहले ब्लक ‘बी’मा रहेका कैदीबन्दीमाथि राति सुतेका बेला आक्रमण गरेका थिए ।    

कारागार घटनामा घाइते भएकामध्ये २९ जना कैदीबन्दी उपचारपछि डिस्चार्ज भएर विभिन्न कारागारमा स्थानान्तरण गरिएको छ । डिस्चार्ज भएका १७ जना र उपचाररत दुई जना गरी १९ जना भने सेती प्रादेशिक अस्पतालमै छन् ।

२९ कैदीबन्दी स्थानान्तरण, १७ जना डिस्जार्चपछि पनि अस्पतालमै

घटनामा घाइते भएका २९ जना कैदीबन्दीलाई अन्यत्रका कारागारमा स्थानान्तरण गरिएको छ । उपचारपछि डिस्चार्ज भएका कैदीबन्दीलाई उनीहरुको मागअनुसार विभिन्न जिल्लाका कारागारमा स्थानान्तरण गरिएको कैलाली कारागारले जनाएको छ ।

१९ जना कैदीबन्दी भने सेती प्रादेशिक अस्पतालमै छन् । उनीहरुमध्ये १७ जना उपचारपछि डिस्चार्ज भइसकेका कैदीबन्दी हुन् । घटनामा घाइते भएका दुई जना अझै उपचाररत छन् । उपचारपछि डडेल्धुरा र कञ्चनपुर कारागारमा ६÷६ जना तथा काठमाडौँको जगन्नाथ देवल र बाँकेको नौबस्ता कारागारमा ५÷५ जना कैदीबन्दीलाई स्थानान्तरण गरिएको छ ।

बझाङ र डोटी कारागारमा ३/३ जना तथा नवलपरासी कारागारमा एक जना कैदीबन्दीलाई स्थानान्तरण गरिएको कैलाली कारागार प्रशासनले जनाएको छ । कारागार प्रशासनका अनुसार थप चार जना कैदीबन्दीले कारागार स्थानान्तरणका लागि निवेदन दिएका छन् । सेती प्रादेशिक अस्पताल भर्ना गरिएका ४८ कैदीबन्दीमध्ये तीन जनालाई थप उपचारका लागि काठमाडौँ लगिएको थियो । 

सेतीले दुइ जनाबाहेक अन्य सबै कैदीबन्दीलाई उपचारपछि डिस्चार्ज गरेको छ तर डिस्चार्ज भएका कुनै पनि कैदीबन्दीलाई कैलाली कारागार लगिएको छैन । उनीहरुलाई सेती प्रादेशिक अस्पतालअन्तर्गत कोरोना अस्पतालमा राखिएको छ । कारागार लैजाँदा पुनः झडपको स्थिति आउनसक्ने आँकलनसहित कारागार प्रशासनले घाइते कैदीबन्दीलाई अन्यत्रका कारागार स्थानान्तरण गरिरहेको हो ।

प्रतिक्रिया