धनगढी । कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) को धनगढी दुग्ध वितरण आयोजनाको कार्यालयमा भएको तालाबन्दीका कारण आर्थिक र प्रशासनिक काम प्रभावित छ । आयोजना कार्यालय अत्तरियाबाट धनगढी सार्न लागिएको भन्दै विरोधमा उत्रिएका स्थानीयले ८ जेठमा कार्यालयमा तालाबन्दी गरेका थिए ।
खारखाना चले पनि आर्थिक र प्रशासनिक काम बन्द भएको हुँदा किसानले डीडीसीलाई बिक्री गरेको दुधको भुक्तानी पाएका छैनन् । तालाबन्दीको साढे तीन महिना मात्रै भए पनि किसानले भने ०८१ माघदेखिकै भुक्तानी पाउन बाँकी छ ।
डीडीसीबाट भुक्तानी नपाउँदा गाईभैंसी पालनमा अप्ठेरो हुन थालेको भन्दै किसानहरुले भुक्तानीका लागि सहजीकरण गरिदिन कैलालीका प्रमुख जिल्ला अधिकारीलाई गुहारेका छन् । आयोजना प्रमुख निरन्जन भट्टराईका अनुसार संस्थानले कैलाली, कञ्चनपुर र डडेल्धुराका किसानलाई सात करोड बढी रुपैयाँ भुक्तानी दिन बाँकी छ । ‘किसानलाई माघ महिनादेखिको भुक्तानी दिन पाइएको छैन,’ उनले भने, ‘किसानलाई भुक्तानी दिन बाँकी कति रकम छ भन्ने पनि हिसाव गर्न पाइएको छैन । सात करोड रुपैयाँ बाँकी होला । तालाबन्दी खुलेपछि हिसाब गरेर किसानलाई सके जति भुक्तानी दिंदै जान्छौं ।’
उनले जेठमा एक करोड रुपैयाँ भुक्तानी दिने तयारी गरिरहेकै बेला तालाबन्दी भएपछि सो रकम पनि भुक्तानी हुन नसकेको बताए । ‘तालाबन्दी नभएको भए सबै नभए पनि केही रकम भुक्तानी दिंदै फागुन चैतसम्मको भुक्तानी दिइसक्थ्यौं,’ उनले भने, ‘चैतसम्म नै बढी दुध संकलन हुन्छ । वैशाखदेखिको बर्सातको समयमा कम संकलन हुन्छ ।’
लामो समयदेखि तालाबन्दी भए पनि तालाबन्दी खुलाउन पहल नहुँदा आर्थिक र प्रशासनिक कामहरु बन्द भई उत्पादनमा समेत असर पर्ने अवस्था आएको भट्टराईले बताए । उनले तालाबन्दीको कारण खारखाना धनगढी सार्ने प्रक्रियासमेत अवरुद्ध भएको बताए ।
यस्तै, कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले अत्तरियावासीका मागलाई पनि सम्बोधन हुने गरी छलफल गरेका छन् । संस्थानलाई नयाँ ठाउँमा कारखाना सार्ने वातावरण मिल्ने गरी प्रमुख जिल्ला अधिकारी लम्सालले गोदावरीका मेयर बीरेन्द्र भट्ट र आन्दोलित समूहसंग छलफल चलाएका हुन् । अत्तरियामा संस्थानको संकलन र बिक्री केन्द्र राख्ने र कारखाना धनगढीमा राख्ने गरी पहल भइरहेको भट्टराईले बताए । उनले हाल कारखानामा काम गरिरहेका सबै स्थानीयलाई रोजगारमा राख्ने गरी सम्झौता हुन सक्ने बताए ।
संस्थानको कारखानाका लागि अत्तरियामा लामो सयमसम्म जमीन खोज्दा उपयुक्त नपाएपछि धनगढी उपमहानगरपालिकासंग सम्झौता गरी कारखाना सार्नका लागि आठ लाख रुपैयाँ खर्च गरी धनगढी–१५, कनरीस्थित जडिबुटी प्रशोधन केन्द्रको गोदामलाई दुग्ध कारखानाका लागि आवश्यक फाउण्डेशन बनाइएको छ । ‘हामीले लामो सयमसम्म अत्तरियामा जमीन खोजे पनि नमिलेपछि विकल्पको रुपमा धनगढी रोजेका थियौ,’ उनले भने, ‘धनगढीमा सस्तो भाडादरमा भवनसहित ठाउँ मिलेको छ ।’
दुग्ध संकलन र स्थानीय रोजगारीमा असर पर्ने भएकाले संस्थानले कारखाना सार्न नहुने मागसहित आफूहरु तालाबन्दी गरेको स्थानीय लोकराज पाण्डेले बताए । संघर्ष समिति संयोजकसमेत रहेका उनले संस्थान नसार्ने प्रतिवद्धता आएपछि तालाबन्दी खोलिदिने बताए ।
अत्तरियामा २०६७ सालमा स्थापना भएको संस्थानको दुग्ध विकास आयोजना कार्यालय र कारखाना कृषि थोक बजारको सटरमा छ । संस्थानले थोक बजार व्यवस्थापन समितिलाई मासिक ३८ हजार छ सय रुपैयाँ भाडा तिर्दै आएको छ । कैलाली, कञ्चनपुर र डडेल्धुराको आलिताल क्षेत्रबाट दैनिक चार हजारदेखि सात हजार लिटर दुध संकलन हुँदै आएको छ ।
सो कारखानाबाट संस्थानले तयारी दुध, दहि, मही, घ्यू, लस्सी, पनिर, आइसक्रिम लगायत उत्पादन गरी गर्दै आफ्नो बिक्री केन्द्रमार्फत् बिक्री गर्दै आएको छ । सो कारखानामा दैनिक तीन सय लिटर दुध खपत भइरहेको भट्टराईले जनाए । बाँकी दुध कार्यालयले हेटौडा र पोखरास्थित दुग्ध विकास आयोजना कार्यालयमा पठाउने गरेको छ ।
प्रतिक्रिया