धनगढी । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन सुरु भएको छ । ललितपुरमा आयोजित विधान महाधिवेशनको प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरे । तीनदिनसम्म चल्ने महाधिवेशनमा २०२६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना गरी कुल २३४१ जना सहभागी छन् ।
यस्तै एमाले नेता कर्ण थापाले दोस्रो विधान महाधिवेशनमा पार्टीको आन्तरिक लोकतान्त्रिकरण, संगठनात्मक प्रणालीमा आएको समस्या र विद्या भण्डारीको सदस्यता रोकिएको विषयलाई केन्द्रित गरी फरक मत राख्ने भएका छन् ।
थापाले यसअघि नै पार्टी कार्यालयमा फरकमत दर्ता गराएका थिए । पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई समेत दिएर नेता थापाले फरक मत महाधिवेशनमा लैजान खोजेका थिए । थापाले पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर भएको र सगठनात्मक संरचना ध्वस्त भएको उल्लेख गरेका छन् ।
पार्टीलाई विधिमा चलाउनकै लागि ७० वर्ष र दुई कार्यकालको व्यवस्था गरिएको तर त्यसलाई हटाउन खोजिएको थापाले उल्लेख गरेका छन् । उक्त व्यवस्थालाई विधान महाधिवेशनले निरन्तरता दिनुपर्ने तर्क उनले फरक मतमा राखेका छन् ।
पार्टी कार्यालयमा दर्ता भएको थापाको फरक मत विधान महाधिवेशनमा प्रस्तुत हुनेछ । एमालेले थापाको फरक मतलाई प्रस्तुत गर्न दिने निर्णय गरेको छ ।
प्रतिक्रिया