धनगढी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाजुराको हिमाली गाउँपालिका–६ स्थित प्रसुति केन्द्रको भवन निर्माणमा नक्कली बिल बनाएर भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन कार्यालय प्रमुखसहित छ जनाविरुद्ध विशेष अदालतमा आज आरोपपत्र दायर गरेको छ ।
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशोककुमार सिंह, इन्जिनियर, सबइन्जिनियर तथा उपभोक्ता समितिका पदाधिकारीको मिलेमतोमा भवनको तोकिएअनुसार काम पूरा नै नगरी १५ लाख ८ हजार ५५७ रुपैयाँ हिनामिना गरेको आयोगको दाबी छ ।
सम्झौताअनुसार आल्मुनियमको झ्याल–ढोका राख्नुपर्नेमा स्थानीय काठ प्रयोग गरेको, सिमेन्टको गारो लगाउनुपर्नेमा सुख्खा ढुङ्गा मात्र प्रयोग गरेको र छाना तथा सिलिङको काम नै नगरी कार्य सम्पन्न प्रतिवेदन बनाएर सरकारी रकम भुक्तानी लिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।
निर्माण मापदण्डविपरीत बनेको उक्त भवन अहिले प्रयोगविहीन भई भग्नावशेष अवस्थामा पुगेको छ । तत्कालीन कार्यालय प्रमुख सिंह, इन्जिनियर सुनेशकुमार चौरसिया, सबइन्जिनियर नरेश रावतसहित उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडीविरुद्ध जनही १५ लाख ८ हजार ५ सय ५७ रुपैयाँ बिगो कायम गरी बिगो असुल र कैद सजायको माग गरेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया