धनगढी । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको लाइफलाइनको रुपमा रहेको महाकाली राजमार्गअन्तर्गत गोदावरी–खानीडाँडा खण्ड भासिएको दुई वर्षमा पनि बनेको छैन । सो सडक खण्डको गोदावरी–४ बुढीटोला क्षेत्रमा ५७० मिटर सडक पहिरो गएर भाँसिएको दुई वर्षमा पनि उक्त खण्ड कालोपत्रे गर्न ठेक्का समेत आह्वान गरिएको छैन ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरले मर्मत गरिएको सो सडक खण्डको स्थायित्व हेरेर मात्रै कालोपत्रेका लागि ठेक्का आह्वान गरिने जनाएको छ । हालै मर्मत कार्य सकिएको बताउँदै कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजेशकुमार यादवले एक वर्षसम्म सडकको स्थायित्व हेरेर मात्रै कालोपत्रे गर्नका लागि टेण्डर आह्वान गरिने बताए ।
अविरल वर्षा हुँदा २०८० साउन २३ गते पहिरो गएर सो सडक भासिएको थियो । सडक भासिएको एक महिनापछि सामान्य मर्मत गरेर दुईतर्फी यातायात सञ्चालन गरिएको थियो । त्यसपछि सो सडकलाई थप मर्मत गर्न ठेक्का लगाइएको थियो । प्रमुख यादवका अनुसार सडकको दिगो स्थायित्वका लागि विस्तृत अध्ययन गरी १० मिटर अग्लो टेवा पर्खाल निर्माण गरी सडक मर्मत गरिएको छ ।
सडक क्षेत्रमा भूमिगत जलस्रोत व्यवस्थापनका लागि पाँच वटा इनार बनाइएको छ । सतहबाट निस्किने पानी सो इनारमा जम्मा गरी सुरक्षित निकास गर्नका लागि सवसर्फेस ड्रेनेज समेत निर्माण गरिएको छ । सडकमाथिको पानी निकासका लागि दुई सय वटा पाइप पनि जडान गरिएको छ । सडकलाई फराकिलो बनाइनुका साथै बायो–इन्जिनियरिङ गरी भूस्खलन हुन दिनबाट रोकिएको प्रमुख यादवले बताए । यसरी मर्मत गरिएको सडकको स्थायित्व सुनिश्चित गरेर मात्रै कालोपत्रे गरिने उनले बताए । सडक मर्मत (कालोपत्रेबाहेक) का लागि जिएसआई हटैराज जेभीभसंग सात करोड ३८ लाख ७० मा ठेक्का सम्झौता भएको थियो ।
इन्जिनियर चित्र चौलागाईका अनुसार सो सडक जति मर्मत गरे पनि टिक्ने अवस्था नदेखिएपछि सडक विभागबाट अध्ययन टोली नै आएर अध्ययन गरी मर्मत गरिएको हो । ‘अध्ययनका क्रममा जमिनमुनि पानीको मुहान भेटिएपछि उक्त पानी व्यवस्थापन नहुँदासम्म सडक निर्माण गरे पनि जोगिने अवस्था देखिएन,’ उनले भने, ‘सोही अध्ययनको आधारमा सडक निर्माण गरिएको छ ।’
दुई वर्षअघि पहिरो गएर सडक भासिएपछि एक हप्तासम्म सुदूरपश्चिमका पहाडी जिल्लाको यातायात सम्पर्क टुटेको थियो । डोटी, डडेल्धुरा, बैतडी, बझाङ, अछाम, बाजुरा र दार्चुला जिल्लाको यातायात महाकाली राजमार्गले जोडेको छ । पछिल्लो समयमा सो राजमार्गको बैकल्पिक सडकहरु निर्माण सुरु गरिएको भए पनि कुनै पनि सकड बनिसकेको छैन ।
सुदूरपश्चिमका सात पहाडी जिल्लालाई जोड्ने वैकल्पिक सडक बनेको नहुँदा महाकाली राजमार्गअन्तर्गतको भीमदत्त राजमार्ग पहाडी जिल्लाको लाइफलाइनको रुपमा छ । हरेक वर्ष पहिरोका कारण उक्त राजमार्ग अवरुद्ध हुने गरेको छ भने तीन दशकदेखि सामान्य मर्मत मात्रै हुँदा एक सय ३५ किलोमिटरको राजमार्गको अधिकांश क्षेत्र क्षतिग्रस्त छ । राजमार्गको ६९ किलोमिटर खण्ड कैलाली तथा डोटी र डडेल्धुरामा ३३–३३ किलोमिटर पर्छ । तीन दशकपछि आर्थिक वर्ष २०८२÷८३ को बजेटमा यो राजमार्ग स्तरोन्नतिको योजना समावेश गरिएको छ ।
राजमार्गको डडेल्धुरा र डोटी खण्ड सडक डिभिजन कार्यालय डोटीले हेर्दै आएको छ । सो कार्यालयका अनुसार सडक मर्मतका लागि ठेक्का लगाइएको भए पनि ठेकेदारले काम नगर्दा सडकको अवस्था झन् बिग्रिएको छ । अहिले उक्त ठेक्का तोडेर नयाँ ठेक्का लगाइएको छ । कार्यालयका अनुसार डडेल्धुराको भात्काडादेखि गैरासम्म पाँच करोडमा उच्चाकोटी निर्माण सेवा, डडेल्धुरादेखि भात्काडासम्म दुई करोड रुपैयाँमा रुद्रावती निर्माण सेवा र डडेल्धुरादेखि बैतडीको अनारखोलीसम्म चार करोडमा उमा विल्डर्सले काम गरिरहेको छ ।
२०२९ सालमा ट्रयाक खोलिएको गोदावरी–डडेल्धुरा महाकाली राजमार्ग २०४६ देखि सुरु गरी २०५२ मा कालोपत्रे सम्पन्न गरिएको थियो । तीन दशकसम्म स्तरोन्नति नहुँदा सो राजमार्गले सवारी चाप धान्न नसक्ने अवस्थामा पुगेको छ भने वैकल्पिक सडकहरु निर्माणका लागि ठेक्का लगाइएको भए पनि ठेकेदारहरुको लापरबाहीले गर्दा अलपत्र छन् ।
प्रतिक्रिया